काठमाडौं : सुरक्षण मुद्रण (सेक्युरिटी प्रेस) खरिदमा अनियमितता गरेको भन्दै विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, म्याक्स इन्टरनेसनल प्रा. लि. र कम्पनीका सीईओ अकबर हुसेनलाई दोषी ठहर गरेको छ ।
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेललाई प्रिन्टिङ मेसिन खरिद गर्दा भ्रष्टाचार गरेको कसुरमा विशेष अदालतले २ वर्ष कैद र १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिमानाको सजाय सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले पौडेललाई आइतबार दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो । यस्तै, म्याक्स इन्टरनेसनल प्रा. लि.का सीईओ अकबर हुसेनलाई १ वर्ष ६ महिना कैद तोकेको छ ।
भ्रष्टाचार कसुरमा १ वर्ष ६ महिना र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक भएर पदीय दुरुपयोग गरेको कसुरमा पौडेललाई थप ६ महिना कैदको सजाय तोकिएको हो ।
दोषी ठहर भएको म्याक्स इन्टरनेसनल प्रा. लि. भने कानुनी व्यक्ति मात्र भएकाले अदालतले कैद तोकेन । तर, कम्पनीबाट बिगो असुल गर्न भने आदेश दिएको छ ।
अदालतले बदनियतपूर्वक खरिद प्रक्रियामा संलग्न भई नेपाल सरकारलाई ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ हानि नोक्सानी पुर्याएको ठहर गरेको छ । त्यहीअनुसार दोषी ठहर भएका तीनै पक्षलाई बिगो दामासाहीले तोकेको छ ।
अदालतको आदेश अनुसार अब पौडेल, हुसेन र म्याक्स इन्टरनेसनलले जनही १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिमाना र सोही बराबरको बिगो तिर्नुपर्ने छ ।
त्यस्तै, विशेषले पौडेल, हुसेन र म्याक्स इन्टरनेसनल प्रा. लि.लाई जनही ५४ लाख ३४ हजार १०३ रुपैयाँ क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा जम्मा गर्न पनि आदेश दिएको छ ।
भ्रष्टाचारमा संलग्न रहेको भन्दै अख्तियारले विपक्षी बनाएकाहरू सफल श्रेष्ठ, नवीनकुमार पोखरेल, हरिबल्लभ घिमिरे र खड्कबहादुर थापालाई भने विशेष अदालतले सफाइ दिएको छ ।
कार्यकारी निर्देशक पौडेलको निर्देशअनुसार खरिद प्रक्रियामा सहभागी भएकाले उनीहरूको बदनियतपूर्ण संलग्नता नरहेको पाइएको फैसलामा भनिएको छ ।
पौडेल यसअघि पनि सुरक्षण मुद्रण केन्द्रसँग सम्बन्धित अर्को भ्रष्टाचार मुद्दामा दोषी ठहर भई हाल कारागारमा छन् । विशेष अदालतले ८ जेठ २०८१ मा उनलाई २५ करोड ४७ लाख रुपैयाँ बिगो असुल र त्यति नै रकम जरिमाना तथा २ वर्ष कैद सजायको फैसला गरेको थियो ।