काठमाडौं : चौथो एशियन बुद्धिस्ट सांस्कृति महोत्वस २०२५ विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।
महोत्सवमा बौद्ध धर्मका विभिन्न धार्मिक अनुष्ठान र प्रवचन र विभिन्न कार्यक्रमसहित सम्पन्न भएको हो । बुद्ध धर्मका प्रवर्तक सिद्धार्थ गौतमको जन्मस्थल लुम्बिनीमा आयोजित चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सव तीन दिनसम्म चलेको थियो ।
महोत्सवले विश्वभरका बौद्ध धर्म अनुयायीहरू, विद्वानहरू, युवाहरु र संस्कृति अनुरागीहरूको ऐतिहासिक सहभागिता देखाउँदै लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध दर्शन, अध्यात्म र शान्तिको केन्द्रका रूपमा अझ सुदृढ बनाएको बताइएको छ ।
प्रधानमन्त्री केपी ओलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पर्यटनमन्त्री, प्रदेशका मुख्य मन्त्री लगायत अतिथिहरुको सहभागिता रहेको थियो ।
महोत्सवमा ५० भन्दा बढी देशका प्रतिनिधि सहभागी भएका थिए । महोत्सवको शुभारम्भ लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाको अध्यक्षतामा भएको थियो । महोत्सव बौद्धदर्शन र संस्कृतिको प्रवद्र्धन गरी विश्वमा शान्ति, सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले सारिपुत्र फाउण्डेशनको आयोजनामा नेपाल सरकार लुम्बिनी विकास कोष,चाइनिज कल्चर प्रोमोशन सोसाइटी,लुम्बिनी विश्व विद्यालय,वल्र्ड एलायन्स फर बुद्धिस्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वुजोउ पीस कलिग्राफी एण्ड पेन्टिङ एकेडेमी सस्थाहरुको सहकार्यमा सम्पन्न भएको हो ।
सारीपुत्र फाउण्डेशनका अध्यक्ष भन्ते सुमंगलोका अनुसार यो महोत्सवको आयोजना सन् २०११ मा पहिलो पटक क्याम्बोडियाबाट सुरू भएको थियो ।
त्यसयता श्रीलंका, थाइल्याण्ड हुँदै यसपटक नेपालको लुम्बिनीमा चौथो संस्करण सम्पन्न भएको हो । यस आयोजनाले लुम्बिनीको मात्र नभइ रामग्राम, मधुवन र विशेष गरेर तिलौराकोटको अन्तर्राष्ट्रिय स्तरमा उच्च तहमा प्रचार हुन सहयोग पुगेको उनले बताए । यसका साथै स्थानीय पर्यटन र आर्थिक विकासमा समेत टेवा पुगेको र पुर्याउने अपेक्षा गरिएको उनले बताए ।
यसैगरी उक्त महोत्सवले आध्यात्मिक एवं सांस्कृतिक प्रभाव मात्र नभइ, विश्व समुदायमा नै करुणा, सहिष्णुता र शान्तिको सन्देश दिने एउटा उदाहरणीय प्रयास भएको पनि उनले बताए ।