
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मोरङको विराटनगरस्थित हदबन्दी छुटमा प्राप्त जग्गा सट्टापट्टा गरी सरकारी सम्पत्तिमा हानि पुर्याएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।
मुद्दामा नेपालसँगै तत्कालीन मन्त्री डा. रिजाल, विभिन्न मन्त्रालयका तत्कालीन सचिव, सरकारी अधिकारी तथा कम्पनीका सञ्चालकहरूलाई प्रतिवादी बनाइएको छ ।
यो सूचीमा पूर्व भूमि सुधारमन्त्री डम्बर श्रेष्ठ, सवारी दुर्घटनामा त्रिशूली नदीमा बेपत्ता भएका पूर्वमुख्यसचिव माधव घिमिरेकी छोरी कमला घिमिरेको नाम समेत छ ।
यसैगरी पूर्वसचिव छविराज पन्त, पूर्वसहसचिव रमेशचन्द्र अधिकारी, तत्कालीन उपसचिवहरु गान्धीप्रसाद सुवेदी, हुपेन्द्रमणि केसी, नुरपति कँडेल, हरिराज पन्त, डा. अर्जुन खड्का, लक्षमण थापा, ध्रुव सापकोटा र शाखा अधिकृत बलराम निरौलाको नाम समेत आरोप पत्रमा छ ।
भूमि व्यवस्था विभागका डिजी राजेन्द्र शर्मा, निर्देशक नारायण अधिकारी, उपसचिव बाबुराम खनाल, शाखा अधिकृत सिताराम पोखरेल, नासु बुद्धिबहादुर कार्कीविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा पेस गरेको छ ।
अख्तियारका अनुसार फलफूल उद्योग सञ्चालनका लागि क्यानिङ एण्ड कम्पनीले हदबन्दी छुटमा प्राप्त गरेको जग्गा निर्धारित प्रयोजनमा प्रयोग नगरेपछि सरकारी स्वामित्वमा आउनुपर्ने थियो । तर, सम्बन्धित पदाधिकारीको मिलेमतोमा जग्गा सट्टापट्टा गरी निजी व्यक्तिलाई बिक्री गरिएको आयोगको आरोप छ ।
यसअघि पनि नेपालविरुद्ध पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । उक्त मुद्दा विशेष अदालतमा विचाराधीन छ ।