काठमाडौं : नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले बढेको छ । पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को अप्रिलको तुलनामा सन् २०२४ को अप्रिल सो संख्यामा पर्यटकको आगमन बढेको हो ।
सन् २०२३ को अप्रिलमा कूल ९८ हजार सात सय ७३ विदेशी पर्यटक आएकोमा सन् २०२४ को सोही अवधिमा एक लाख ११ हजार तीन सय ७६ पर्यटक आएका हुन् । बोर्डका अनुसार सन् २०२२ को अप्रिलमा ६१ हजार पाँच सय ८९, सन् २०२१ मा २२ हजार सात सय ३२, सन् २०२० मा १४ र सन् २०१९ मा एक लाख नौ हजार तीन सय ९९ पर्यटक नेपाल आएका थिए ।
बोर्डका अनुसार अप्रिलमा नेपाल भित्रने पर्यटकमा सबैभन्दा धेरै भारतीय छन् । सो अवधिमा भारतीय पर्यटक ३० हजार एक सय ५८, अमेरिकी पर्यटक नौ हजार नौ सय ४७, चिनियाँ नौ हजार सात सय ५० विदेशी पर्यटक नेपाल आएका छन् ।
साथै बेलायतबाट पाँच हजार तीन सय ९१, अष्ट्रेलियाबाट चार हजार एक सय १०, बङ्गलादेशबाट चार हजार तीन, फ्रान्सबाट तीन हजार सात सय ५५, जर्मनीबाट तीन हजार दुई सय ७०, रसियाबाट दुई हजार नौ सय ७७ र मलेसियाबाट दुई हजार तीन सय १० पर्यटक नेपाल आएका छन् ।
म्याग्दी : म्याग्दीका किसानले सुन्तला बेचेर यस वर्ष रु २१ करोडभन्दा बढी भित्र्याएका छन् । सुन्तला म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज हो ।
म्याग्दीमा यस वर्ष उत्पादन भएको तीन हजार छ सय मेट्रिक टन सुन्तला बिक्रीबाट रु २१ करोड ६० लाखको कारोबार भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी सम्झना आचार्यका अनुसार गत वर्ष रु १७ करोडको सुन्तला उत्पादन र बिक्री भएको थियो । सुन्तला प्रतिकिलो रु ५५ देखि रु ६० का दरले बिक्री भएको छ ।
बेनी नगरपालिकाबाट सबैभन्दा बढी रु तीन करोड ३८ लाखको सुन्तला उत्पादन तथा बिक्री भएको छ । मालिका गाउँपालिकाबाट रु एक करोड ३६ लाख, अन्नपूर्ण गाउँपालिका र मङ्गला गाउँपालिकाबाट क्रमशः रु एक करोड ३० लाखको दरले सुन्तला बिक्री भएको छ ।
धवलागिरि गाउँपालिकाबाट रु ३० लाख ७० हजार तथा रघुगङ्गाबाट रु २५ लाखको सुन्तला बिक्री भएको सूचना अधिकारी शर्माले बताइन् । बेनी नगरपालिका–३ भकिम्ली, मरेक र राखु क्षेत्रबाट मात्रै रु दुई करोड २० लाखको सुन्तला निकासी भएको छ । बेनी नगरपालिका–४ को सिङ्गास्थित थामडाँडा, बास्कुना र सुर्केमेलाबाट रु एक करोड १० लाखको सुन्तला निकासी भएको वडा सदस्यसमेत रहेका किसान सन्दीप खत्रीले बताए ।
म्याग्दीमा आठ सय १० हेक्टर क्षेत्रफलको जमिनमा सुन्तलाखेती गरिएकामा चार सय २० हेक्टरमा लगाइएको सुन्तलाले उत्पादन दिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले बताए । “सुन्तलाको प्रतिहेक्टर आठ दशमलव छ मेट्रिक टन उत्पादकत्व रहेको छ”, उनले भने, “अनुकूल मौसम, रोग तथा कीराको प्रकोप नियन्त्रण, किसानलाई बीउमल, विषादी, कृषि औजार एवं सामग्रीमा अनुदान सहयोग तथा क्षेत्रफल विस्तारले सुन्तलाको उत्पादन बढेको हो ।”
कृषि ज्ञान केन्द्र, स्थानीय तहको कृषि शाखा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनका प्राविधिकले म्याग्दीका विभिन्न ठाउँमा क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अवस्था अध्ययन गरेका थिए ।
जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिनलगायतका बजारमा सुन्तला निकासी भएको बेनी नगरपालिका–३ राखुका किसान खिम पुनले बताए । राखु, मरेक, सुर्केमेला, बरंजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा छन् ।
यातायात सुविधा भएकाले ब्यापारी सुन्तला किन्न गाडी लिएर बगैँचामै पुग्ने गरेका छन् । सुन्तलाखेती विस्तार, बगैँचा व्यवस्थापन र नर्सरी स्रोत केन्द्र स्थापनासम्बन्धी कार्यक्रमका लागि चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रले ५१ वटा फार्म, समूह र सहकारीका लागि रु ६२ लाख अनुदान दिन छनोट गरेको जनाएको छ । रासस
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा एक लाख ३४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३६ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।
यस्तै बुधबार एक लाख ३३ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ३५ हजार आठ सय ५० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला एक हजार छ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबारका लागि भने एक हजार छ सय ४५ रुपैयाँ निर्धारण भएको छ ।
काठमाडौं : काठमाडौं महानगरपालिकाले बुधबारदेखि टुँडिखेलमा ‘सीप मेला २०८१’ शुरु गरेको छ । दुई हजार ८१ जनालाई निःशुल्क सीपमुलक तालिम दिने र तालिम लिएकाहरुलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ्’ उपलब्ध गराउने लक्ष्यसहित मेला शुरु गरको हो ।
मेलाको उद्घाटन गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘विगतका तालिमभन्दा अहिलेको तालिम फरक विशेषता छ, विगतमा पनि धेरै तालिम धेरै भए तर जनशक्ति आवश्यक पर्ने ठाउँमा सीपयुक्त जनशक्तिको सधैँ अभाव नै छ, तालिम दिनेले दिँदैमा र लिनेले लिँदैमा नतिजा नआउँदैन, विगतको यो अभ्यासलाई सुधार गर्दै हामीले उपलब्ध गराउने तालिमलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ्’ सँग जोड्न मेला सुरु गरेका छौँ ।’
सीप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएका छन् । जसमा २९ प्रकारका पेशागत तालिम छन । मागका आधारमा थप क्षेत्र र पेशा थप गर्ने योजना महानगरलको छ। मेलामा तालिममध्ये अटो मोवाइल्स एउटा क्षेत्र हो । यसभित्र अटो इलेक्ट्रिक, अटो एअर कन्डिसन, मोटरवाइक र स्कुटर रिपेयर (इभी), इलेक्ट्रिकल कार (इभी) रिपेयर छन् । यस्तै निर्माण क्षेत्र अन्तरगत सिकर्मी, टाइल एण्ड मार्वल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ् तालिम र हस्पिटालिटी एण्ड म्यानेजमेन्ट अन्तगत वारिस्ता, फुड एण्ड कुक, वेकरी, वार टेन्डिङ् र वेटर/वेट्रेस प्रशिक्षण हुनेछ ।
सूचना प्रविधिमा डिजिटल मार्केटिङ, ग्राफिक्स डिजाइनिङ, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ, सीसीटिभी क्यामरा जडान र मर्मत राखिएको छ । सीप मेलामा मेकानिकलमा वेल्डिङ् र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियन,आर्ट एण्ड कल्चरमा आर्ट एण्ड स्कप्चर, गार्मेन्ट्स व्युटिसियन, डिजाइनिङ र ज्योतिष र पुरोहित सम्बन्धी प्रशिक्षण हुने महानगरले जनाएको छ । मेला जेठ २५ गतेसम्म चल्ने छ ।
काठमाडौं : मेरोअटो मोटर र्यालीको चौथो संस्करण यही वैशाख २१ र २२ गते आयोजना हुने भएको छ । अटोमोटिभ्स प्रालिले विगत ४ वर्षदेखि आयोजना गर्दै आएको मोटर र्याली यस वर्ष काठमाडौंदेखि चितवनको सौराहसम्म हुने भएको हो ।
र्यालीको फ्यागअफ नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले गर्ने छन् । शुक्रबार बिहान ८ बजे ललितपुरको कुपण्डोलबाट शुरु हुने र्याली बल्खु, दक्षिणकाली, सिस्नेरी, हेटौंडा हुँदै सौराहाको होटल मोनालिसामा पुग्नेछ । शनिबार सौराहामा एक कार्यक्रमका बीच र्यालीको समापन गरिने कम्पनीले जनाएको छ ।
र्यालीमा ५० बढी कारमा अटोमोबाइल, बैंकिङ, इन्स्योरेन्स लगायत विभिन्न क्षेत्रका १०० बढी व्यक्ति सहभागी हुनेछन् । र्यालीका संयोजक उज्वल घिमिरेले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने, सडक सुरक्षा सम्बन्धी सचेतना बढाउने, अटो क्षेत्रको व्यावसायिक नेटवर्क विस्तार गर्ने उद्देश्यले र्याली आयोजना गरिएको बताए । ‘आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने, हाइवे ड्राइभिङ बारेमा सचेतना जगाउने उद्देश्यले हामीले विगत चार वषदेखि मेरोअटो मोटर र्याली आयोजना गर्दै आएका छौं’, उनले भने ‘यस वर्ष पनि हामीले त्यसैलाई निरन्तरता दिएका हौं ।’ मोटर र्यालीको सबै तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।
पवन जायसवाल/मध्यान्ह
नेपालगञ्ज : बहुद्देश्यीय सहकारीहरुको छाता संगठन बहुद्देश्यीय जिल्ला सहकारी संघ लिमिटेड नेपालगञ्ज, बाँकेको साधारण सभा सम्पन्न भएको छ । सहकारी संघको आठौं र नवौं बार्षिक साधारण सभा बुधबार सम्पन्न भएको हो ।
संघका अध्यक्ष भूपेन्द्रप्रसाद अधिकारीको अध्यक्षता र कोहलपुर सहकारी संस्थाका अध्यक्ष पारसनाथ थारुको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको थियो । प्रमुख अतिथि पारसनाथ थारुले सभाको उद्घाटन गर्दै सहकारीको सिद्धान्तले अगाडि बढ्न आवश्यक भएको र आफूहरुले पनि सहयोग गर्न तयार रहेको बताएका थिए ।
सभामा राष्ट्रिय सहकारी संघ बाँकेका प्रमुख प्रकाश थपलिया, जिल्ला कृषि सहकारी संघ लि.बाँकेका अध्यक्ष लोकेन्द्रबहादुर चन्द र जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रेमबहादुर शाह शुभकामना दिएका थिए ।
सभामा अध्यक्ष भूपेन्द्र अधिकारीले संघको बारेमा र अध्यक्षको प्रतिवेदन प्रस्तुत गरे भने संघका सचिव हरि चालिसेले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरे । सभाले संघको आगामी ४ वर्षे कार्यकालको लागि भूपेन्द्रप्रसाद अधिकारीलाई पुनः निर्वाचित गरेको छ ।
साथै सभाले संघको उपाध्यक्षमा शान्ता बिष्ट, सचिवमा हरि चालिसे, कोषाध्यक्षमा माया गौतम र सदस्यहरुमा सदस्यहरुमा बीरेन्द्र सुवेदी, पुष्पराज हमाल, उमा थापा, तेज बहादुर रावल, बहादुर केसीलाई निर्विरोध निर्वाचित गरेको छ । त्यस्तै, लेखा समितिमा डुनेन्द्र गोसाई, बिनोद सामान्त, चित्रा चन्द पनि निर्विरोध निर्वाचित भएका छन् ।
काठमाडौं : बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्ष(आव)मा देशको आर्थिक वृद्धिदर साढे चार प्रतिशत हुने दाबी गरेका छन् । अर्थतन्त्रलाई थप चलायमान बनाउन सरकारले प्रयत्न गरेकाले आर्थिक वृद्धिदर बढ्ने उनको दाबी छ ।
‘हामीले केही सकारात्मक प्रयत्नहरु गरेका छौं, अर्थ मन्त्रालयको तर्फबाट ४.५ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि हुन्छ भन्ने हाम्रो अनुमान हो’, उनले भने । मंगलबार मात्रै राष्ट्रिय तथ्यांक कार्यालयले चालु आवमा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।
त्यस्तै, एसिया प्रशान्त क्षेत्रका देशको इकोनोमिक आउटलुक सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय मुद्रा कोषले चालु आवमा नेपालको आर्थिक वृद्धि ३.१, विश्व बैंकले ३.३, एसियाली विकास बैंकले ३.६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेका छन् । तर, राष्ट्रिय र अन्तर्राष्ट्रिय विभिन्न निकाय तथा संस्थाहरुको सर्वेक्षण भन्दा मन्त्री पुनले झण्डै एक प्रतिशत बढी आर्थिक वृद्धि हुने दाबी गरेका छन् । उनले आर्थिक सिथिलताकै बीचमा पनि पर्यटन र उर्जा क्षेत्रको आर्थिक वृद्धि भएको र निर्माण क्षेत्र नकारात्मक रहेकाले त्यसलाई सुधार गर्न सरकार प्रयासरत रहेको बताए ।
तर, देशको आन्तरिक आर्थिक सूचकहरुले भने मन्त्री पुनले भनेजस्तो आर्थिक वृद्धि हुनसक्नेमा आशंका पैदा गर्छन् । चालु आवको हालसम्म पुँजीगत खर्चमा सुधार हुन सकेको देखिँदैन । बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा निरन्तर बढिरहेको र निष्क्रिय कर्जा ३.७३ प्रतिशत पुगेको छ । त्यस्तै, चालु आर्थिक वर्षको वैशाख १८ गतेसम्म सरकारले ९ खर्ब ७९ अर्ब रुपैयाँ मात्रै खर्च गरेको छ । जुन गत वर्षभन्दा कम हो । त्यसैले अबको सीमाभित्र अर्थमन्त्रीले भनेजस्तो आर्थिक वृद्धि हुन असम्भव जस्तै रहेको मन्त्रालयकै अधिकारीको भनाइ छ ।
काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेबीच भेटवार्ता भएको छ ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ‘इसिमोड’को गभर्नर अफ बोर्ड बैठकमा सहभागी हुन थिम्पु भ्रमणमा रहेका आयोग उपाध्यक्ष श्रेष्ठले बुधबार प्रधानमन्त्री तोग्बेसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । उपाध्यक्ष श्रेष्ठ र प्रधानमन्त्री तोग्बेको थिम्पुस्थित प्रधानमन्त्री कार्यालयमा भेटघाट भएको हो ।
भेटवार्तामा दुई देशबीचको सम्बन्ध, पर्यटन, उर्जा तथा कृषि क्षेत्रको विकासका लागि आ–आफ्ना अनुभवहरुको आदान–प्रदान गर्दै नेपाल र भुटानबीच सहकार्य गर्ने विषयमा कुराकानी भएको छ ।
भेटवार्ताका क्रममा प्रधानमन्त्री तोब्गेले नेपालको १६औं योजनाले के–कस्तो विषयलाई जोड दिइएको छ भन्ने जिज्ञासा पनि राखेका थिए ।
नवलपुर - विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ । बयालीस महिनामा सडक विस्तारको काम सक्ने जिम्मा पाएको निर्माण कम्पनीले ६३ महिनामा ५० प्रतिशत काम पूरा गरेको छ ।
नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार वैशाख १५ सम्म पूर्वी खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ । चार‘लेन’मा विस्तार भइरहेको सडकमा द्रुत गतिमा काम भइरहको छ । ‘पछिल्लो पाँच महिनामा हामीले एकतर्फी १८ किलोमिटर सडक कालोपत्र सम्पन्न गरेका छौँ”, उहाँले भने ‘२०७५ माघदेखि २०८० असारसम्म एकतर्फी १५ किलोमिटर सडक कालोपत्र भएको थियो ।’ अहिले सडकमा कालोपत्रसँगै सडक किनारको खाल्डा पुर्ने सडकमा बेस र सबबेस बनाउने काम भइरहेको छ । उक्त खण्डमा २५ मिटर लामा सबै साना पुलको निर्माण सम्पन्न भएको उल्लेख गर्दै इन्जिनियर खनालले ठूला पुलको ग्रिडर पुलमा पिलर उठाएपछि ढलान गर्न राखिने बिम राख्ने काम भइरहेको बताए ।
सडक विस्तारको काम गरिरहेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका ठेक्का सहव्यवस्थापक राकेश झाले हाल कावासोतीको डण्डाबाट पश्चिमतर्फ र गैँडाकोटको थुम्सीको जङ्गलमा कालोपत्रको काम चलिरहेको बताए । अहिलेसम्म २७ प्रतिशत काम सकिएको उनले बताए । देवचुलीको दुम्कौली, रजहर र गैँडाकोटमा बिजुलीको पोल सार्ने काम बाँकी नै रहेकाले सडक विस्तारमा केही ढिलाइ भएको उनले स्वीकार गरे ।
गैँडाकोटबाट बुटवलसम्मको एक सय १३ किलोमिटर मध्ये निर्माण कम्पनीले गैँडाकोटबाट दाउन्नेसम्म ६४ दशमलव ४२ किलोमिटर सडकलाई पूर्वीखण्ड र दाउन्नेबाट बुटवलसम्मको ४८ दशमलव ५८ किलोमिटरलाई पश्चिमखण्डमा विभाजन गरेर काम गरिरहेको छ । एसियाली विकास बैंक एडिबीको ऋण सहयोगमा कुल रु १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्ग विस्तार थालिएको हो । गौरवको आयोजनाका रूपमा चार लेनमा विस्तार भइरहेको सडकको सहरी क्षेत्रमा अतिरिक्त दुई लेन बताइनेछ । दाउन्ने पहाडको करिब पाँच किलोमिटर खण्डमा भौगोलिक अवस्थाका कारण जम्मा तीन लेनको सडक बन्ने निर्माण कम्पनीले जनाएको छ ।
–––
मनीषा अवस्थी/मध्यान्ह
काठमाडौं : चालु आर्थिक वर्षको १०औं महिना सकिनै लाग्दा सरकारी खातामा लक्ष्यको ५४ दशमलव ७६ प्रतिशत मात्र राजश्व संकलन भएको छ ।
महालेखा परीक्षक कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्षको दशौं महिना (बैशाखको १७ गते) सम्म ७ खर्ब ७८ अर्ब ९९ करोड रूपैयाँ मात्र जम्मा भएको छ । चालु आवका लागि सरकारले राखेको राजश्व लक्ष्य १४ खर्ब २२ अर्ब ५४ करोड थियो । यो अवधिमा ऋण, अनुदान र अन्य आम्दानी गरी ८ खर्ब ४ अर्ब ३ करोड रूपैयाँ जम्मा भएको छ ।
यो अवधिमा सरकारले गरेको कूल खर्च भने ९ खर्ब ७५ अर्ब २३ करोड रूपैयाँ छ । यसमध्ये ६ खर्ब ९९ अर्ब ३० करोड रूपैयाँ सरकारको दैनिक प्रशासनिक काममा मात्रै खर्च भएको छ । यसबाहेक पूँजीगत तथा विकास खर्चमा १ खर्ब ३ अर्ब ९२ करोड रूपैयाँ खर्च भएको देखिन्छ । यसैगरी वित्तीय खर्च १ खर्ब ७२ अर्ब रूपैयाँ खर्च भएको देखिन्छ ।
यो तथ्यांक केलाउँदा अहिले सरकारी खाता १ खर्ब ७१ अर्ब २० करोड रूपैयाँ घाटामा छ भने सरकारी आम्दानीको तुलनामा १ खर्ब ९६ अर्ब २४ करोड रूपैयाँ घाटा छ ।
चालु आवको सुरुवातदेखि सरकारी खाता उच्च चापमा थियो । आर्थिक वर्षमा सरकारी आम्दानीको प्रमुख स्रोत भन्सार राजश्व नै उच्च चापमा छ ।
अन्य राजश्व पनि उच्च चाप छ । गैह्र राजस्व (अनुदान ऋण) पनि निकै कम उठेको छ । यसरी लक्ष्य भन्दा निकै कम आम्दानी भएपछि चालु खर्च चलाउनै धौधौ परेको छ । सरकारले संकलन गरेको आम्दानीले दैनिक प्रशासनिक खर्च समेत पुगेको छैन ।
पछिल्ला वर्षमा भन्सार तथ्यांकहरू हेर्दा राजश्वको प्रमुख स्रोत आयातमा त्यति कमी आएको भने देखिदैन । तथ्यांक केलाउँदै अर्थशास्त्री रामेश्वर खनाल थप स्पष्ट पार्छन्, ‘तथ्यांकले हेरौं, कोभिड १९ को समयावधिमा आयात १८ प्रतिशतले आयात घटेको थियो । त्यो बेला राजश्व र कूल ग्राहस्थ्य उत्पादनको अनुपात २२ दशमलव ४ प्रतिशत थियो । त्यसअघि २२ दशमलव ६ प्रतिशत थियो । यो तथ्यांकले कोभिडमा आयात घट्दा राजश्व जम्मा शून्य दशमलव २ प्रतिशतले मात्रै घटेको छ ।’ राजश्व प्रशासनमा ब्यापक चुहावट वा ब्यापक कर छली भएको उनको शंका छ ।
गत आर्थिक वर्षको चैत महिनासम्ममा १२ खर्ब १ अर्ब ५० करोड रूपैयाँ बराबरको आयात भएको छ भने चालू आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोड रूपैयाँको आयात भएको तथ्यांक छ । यसैगरी अघिल्लो आर्थिक वर्ष २०७८/०७९ ९ महिनामा १४ खर्ब ६६ अर्ब ६६ करोड रूपैयाँको आयात भएको थियो ।
यो तथ्यांकले चालू आर्थिक वर्षको ९ महिनाको आयातभन्दा गत वर्षको सोही अवधिको आयात बढी छ । तर, यो अवधिको राजश्वको तथ्यांक हेर्दा गत आवको भन्दा चालु आवमा राजश्व संकलन बढी भएको छ । यो अवस्थालाई भन्सारकै अधिकारीहरू रहष्यमयी भन्छन् । भरहवा भन्सार कार्यलयका एक अधिकारी भन्छन्, ‘यो निकै रहष्यमयी छ । सजिलै बुझ्न सकिने छैन । के भइरहेको हो हामी पनि छक्क पर्छौं ।’
राजश्व संकलनमा चाप पर्नु निकै रहस्मयी भएको विश्लेषकहरूको तर्क पनि छ । अर्थशास्त्री खनाल भन्छन्, ‘राजश्व सामान्य तरिकाले घटिरहेको देखिदैन । भनिरहेको जस्तो आयात र उत्पादन घटेर मात्रै राजश्वमा गिरावट आएको होइन । यो असामान्य र रहष्यमयी तरिकाले घटेको छ ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies