काठमाडौं : शिवपुरी सन्देशको ३०औं र शिवपुरी साहित्य समाजको १६औं वार्षिकोत्सवको अवसरमा 'गुन्द्रुक, मकै, भटमास' कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा स्रष्टा सम्मान तथा शिवपुरी सन्देशको १०३औं पूर्णांकको लोकार्पण पनि गरिएको थियो ।
प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको सभापतित्वमा भएको कार्यक्रममा स्रष्टाहरुलाई सम्मान गरिनुका साथै रचना वाचन पनि गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि शर्मासहित विष्णुबहादुर सिंहलगायतले शिवपुरी सन्देशको १०३औं पूर्णांक विमोचन गरेका थिए ।
सो अवसरमा शिवपुरी सन्देशका विशिष्ट सदस्यहरू रामप्रसाद पन्त, पवन आलोक, नवराज पुडासैनी ज्योत्सना, बुद्धिराज पाण्डे, तुल्सीराम पुडासैनीलगायतलाई विशिष्ट सदस्यको प्रमाणपत्र र सम्मानित स्रष्टाहरू राजकुमार बानियाँ, गणेशबाबु अधिकारी, नरप्रसाद धिताल, दुर्गाकिरण तिवारी, हाम्रो पुरूषार्थ र किरण पन्थीलाई सम्मानपत्र र नगदले सम्मान गरिएको समाजले जानकारी दिएको छ ।
कार्यक्रममा वाचन गरिएको ३६ वटा रचनाबाट प्रा.डा गोविन्दमान सिंह कार्कीको एकल निर्णायकबाट छनोट पार्वती अधिकारीको कविता उत्कृष्ट घोषणा भएपछि वियोगी बुढाथोकीले अधिकारीलाई एक हजार नगद र शिवपुरी सन्देश प्रदान गरेका थिए ।
वियोगी बुढाथोकीको स्वागत, शंकर भारतीको धन्यवाद तथा नगेन्द्रराज शर्मा र विष्णुबहादुर सिंहको मन्तव्य रहेको कार्यक्रममा रामेश्वर के. सी, रोमा लम्साल, वासुदेव ठकुरी, आंचलकुमार शर्मा, रामबहादुर पहाडी, सरस्वती अर्याल, रूद्र अधिकारी, विष्णु थापा, गंगा खड्का, मन्जु अधिकारी, मुकुन्द शर्मा चालिसे, माया देवी शर्मा, अमर अधिकारी, प्रमोद नेपाल, अरूण खत्री, कमला देवकोटा, रचना अधिकारी, केशवप्रसाद रूपाखेती, राजु शर्मा, प्रमिला ज्ञवाली, प्रशंसा के . सी, मनु शर्मा, उमेश पाण्डे, मायादेवी वस्नेत थापा, विकल त्यागी, पार्वती अधिकारी, मोहन के . सी, होमशंकर बांस्तोला, नारायण भण्डारी, अनुराधा शर्मा, रामराजा महर्जन, राजेन्द्र के. सी, एन. वी जनकपुरी, विजन बज्राचार्य, ममता कार्की, रीता खत्री, युवराज नयांघरे, बद्री उप्रेती र गोपीकृष्ण थापाको उपस्थिति रहेको थियो ।
यस्तै कार्यक्रममा विक्रमभक्त जोशी, राजु अधिकारी, उत्तम विचार, शम्भुप्रसाद गजुरेल, नम्रता उप्रेती, विजयध्वज थापा, नवराज पुडासैनी, बुध्दिराज पाण्डे, रूपक वनवासी, दीपक लोहनी, तुल्सीराम पुडासैनी, इश्वर दवाडी, महेशप्रसाद पाण्डे, डा. चेत परियार, लव खड्का, रन्जुश्री पराजुली, रूपा रिसाल चालिसे, शंकर भारती, पवन आलोक, रामप्रसाद पन्त, सुभाषचन्द्र पौडेल, जीत कार्की, विसु के. सी, सुदर्शन आचार्य, केशवराज पाठक, वसन्त गौतम, शितल लामा, गुप्तबहादुर श्रेष्ठ, तारादेवी श्रेष्ठ, अच्युत घिमिरे, अर्सु घिमिरे, उमेश पान्डे, पौडेल वीमुन्स, गोकर्ण अर्याल, सुरेश भट्ट, निर्मल अर्याल, ज्ञानेन्द्र क्षेत्री, प्रकाश घायल, चेतनपथ माधव, प्रज्ज्वल अधिकारी, कात्यायान, कुमारबहादुर केसीलगायत एक सय तीन जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन गीतकार हरिकृष्ण धिताल र कवि प्रज्ज्वल अधिकारीले गरेका थिए । कार्यक्रम सफल पार्न खटिएका सम्पूर्णलाई समाजले धन्यवाद ज्ञापन गरेको छ ।
–अच्युतप्रसाद पौडेल चिन्तन
पटक–पटक तीर्थाटन गर्ने क्रममा पंक्तिकार हालै प्यूठानको स्वर्गद्वारी पुगेको थियो । बाटो त्यति सहज त थिएन तर, नेपालका तीर्थ र धाम धेरै छन्, पुग्नै पर्ने खालका । जलको महत्वमा तीर्थ हुन्छ भने स्थलको महत्व धाम हुन्छ, यस अर्थमा स्वर्गद्वारी एक धाम हो, जहाँबाट पाण्डवहरू स्वर्गारोहण गरेका थिए । अन्यक्षेत्रे कृतं पापं तीर्थक्षेत्रे विनश्यति । तीर्थक्षेत्र कृतं पापं बज्रलेपो भविष्यति, यसको अर्थ हुन्छ, अन्य क्षेत्रमा गरिएको पाप तीर्थक्षेत्रमा गएर धुन सकिन्छ, तीर्थक्षेत्रमा गरिएको पाप बज्र समान हुन्छ र धुन सकिन्न । भागवतको विश्राम श्लोकले ‘नाम संकिर्तनं यस्य सर्व पाप प्रणाशनम् प्रणामो दुःख शमनं तं नमामि हरिं परम्’ भनेको छ । भागवतको आद्य श्लोक भनेको ‘सच्चिदानन्दरुपाय विश्वोत्पत्यादिहेतवे तापत्रय विनाशाय श्रीकृष्णाय वयं नुमः’ हो । अर्थात् सृष्टि, स्थिति र संहारका प्रतीक, मानिसका तीन किसिमका ताप आध्यात्मिक, आदिदैविक र आधिभौतिक ताप शमन गर्ने श्रीकृष्णलाई नमन र भगवत् नामले जीवका सबै पापहरू नाश हुन्छन् भन्ने यी बाक्यहरूको मर्म हो । त्यसैले महाकविले आर्यघाटमा अन्तिम विश्राम लिँदा भनेः ‘आखिर श्रीकृष्ण रहेछ एक न भक्ति भो ज्ञान न भो विवेक’ । पाइलैपिच्छे देशमा तीर्थ र धामहरू छन् देश भने धर्म निरपेक्ष भएको छ, सुनको थाल लिएर भिक्षा मागिरहेको छ । मोदीले वसन्त पन्चमीको अवसर पारेर मुस्लिम देश युएइमा हिन्दु मन्रिको उद्घाटन गरेपछि अहिले त्यहाँ घुम्न जाने पर्यटकको संख्या दैनिक सात लाख छ । हाम्रो पर्यटनलाई के भन्ने यतिबेला ।
जति प्रयत्न गरे पनि संसारका स्थावर तीर्थ सबै भेट्न सकिन्न, त्यसैले स्कन्द पुराणले भनेको छ ‘सत्यतीर्थं क्षमा तीर्थं तीर्थमिन्द्रियनिग्रहः सर्वभूत दया तीर्थं तीर्थंच प्रियवादिता, ज्ञान तीथं तपस्तीर्थं कथितं तीर्थ सप्तकम्’ । अर्थात् मानिसको विधि व्यवहार सत्यवादिता, अरुप्रतिको क्षमाभाव, आफ्ना इन्द्रियहरूलाई शमन, सबै प्राणीप्रतिको दया, प्यारो र मिठो वचन, ज्ञान प्राप्ति र वितरण, मन, वचन र कर्मप्रतिको तप यी सात प्रकारका तीर्थ सेवन जरुरी छ । महाभारतमा भगवन् श्रीकृष्ण युधिष्ठिरलाई भन्नु हुन्छ ‘आत्मा नदी संयमपुण्यतीर्थाः सत्योदकाः शीलतटा दयोर्भिः तत्रावगाहं कुरु पाण्डुपुत्र न वारिणा शुद्ध्यति चान्तरात्मा’ । अर्थात् आत्मा नदी हो, संयम तीर्थ हो, सत्य जल हो, दया नदीका किनारा हुन्, पानीले मात्र शुद्ध हुने होइन । अन्तरआत्मामा डुबुल्की मार्नु पर्छ, जसरी गोताखोरहरूले समुद्रको मणि लिन सक्छन्, पानीले मात्र शुद्ध हुने भए त जलचरहरूले ठूलो पुण्य कमाउँथे ।
त्यसो त गृहस्थ जीवन आफैं तीर्थक्षेत्र हो र त हाम्रा महाकविले भने ‘हाडहरूका सुन्दर खम्बा माँश पिण्डका दिवार नसा नदीका तरल तरँग मन्दिर आफैं अपार’ । माता तीर्थ, पिता तीर्थ, गुरु तीर्थ, भक्त तीर्थ, पति तीर्थ, पत्नी तीर्थ यी सबै तीर्थमा गोता लाउँदा गृहस्थ जीवन आफैूमा तीर्थ बन्छ अर्थात् बुबा आमाको सेवा, गुरुप्रतिको श्रद्धा, भक्तजनको सेवा, पति पत्नी बीचको सामान्जस्यता यी तीर्थ सेवा नै हुन् । त्यसैले स्थावर वा जंगम जुन तीर्थमा पुगे पनि हात, खुट्टाको संयम, मन, बुद्धिको संयम, विद्या र तपको संयम, सन्तोष र उपकार, दम्भ र आहारको संयम, जितेन्द्रियको भाव र व्यवहार, कुभाषण नगर्ने, खराब संगतबाट टाढा रहने, क्रोधको अभाव, मतिले गति निर्धारण गरी सत्यवादी, दृढ निश्चयी भई हर प्राणीप्रतिको दयाले ईश्वरको याद हुने हुन्छ, ईश्वरको याद भनेको गृहस्थको तीर्थको जीवन यापन हो, भनेको घरै तीर्थ हो ।
नीतिले भनेको छ ‘तीर्थानि सर्वाणि बसन्ति तत्र यत्राच्युतोद्दार कथा प्रसँग’ । अर्थात् कलिमा स्थावर तीर्थमा प्रदूषण बढ्छ, प्रदूषण भन्नु नै पाप हो त्यसैले तीर्थ त्यहीँ हुन्छ जहाँ भगवत् सेवा, चर्चा, चिन्तन, कथा प्रसंग, लीला अवतार प्रसंग र तिनका नाम जहाँ लिइन्छ त्यहीँ तीर्थ हुन्छ र शास्त्रकारहरूले यसैलाई जंगम तीर्थ भनेका हुन् । हजारौँ योजन (एक योजन बराबर ४ कोश) टाढाबाट गंगाको नाम लिए पनि सबै किसिमका पाप, कल्मषहरू हट्ने छन् भनिएको छ ‘गंगा गंगेति यो ब्रुयात् योजनानां शतैरपि मुच्यते सर्व पापेभ्यः विष्णुलोकं स गच्छिति’ । मूल कुरा शास्त्रको भनाइ इन्द्रिय निग्रह हो, नीतिले भनेको छ ‘आपदां कथित मार्गमिद्रियाणांमशंयम तज्जयं सुकृतं मार्गं येनेष्टं तेन गम्यताम्’ अर्थात् इन्द्रिय अशंयमी हुनु भनेको कुमार्ग र त्यसमाथिको विजय भनेको सुमार्ग हो जुन मन लाग्छ त्यही अप्नाऊ किनभने शास्त्र शस्त्र भएर आउँदैन बाटो मात्रै देखाउँछ ।
पानी ट्याँकी युवा समाज बौद्ध र कामनपा ६ नं वडाको सहकार्यमा पंक्तिकारसहित दर्जनौँ तीर्थयात्रुसहित पंक्तिकार त्यहाँ पुगेको थियो । यसअघि पनि पंक्तिकार धेरैपल्ट पुगेको क्षेत्र हो स्वर्गद्वारी । केही माथिसम्म सवारीको सुविधा छ त्यहाँ । प्राकृतिक छटामा परेको स्वर्गद्वारी महाभारतको डाँडोमा पर्छ र सूर्योदयको दुश्य देखिने गरी हामी त्यहाँ पुगेका हौँ, अघिल्लो रात्रि भिँग्रीमा बास बसेर । साविकमा पानीको असुविधा थियो, अहिले पानीलगायत राम्रो संरचना त्यहाँ पुगिसकेको छ । तीन सय बढी गाईहरू संरक्षित छन् र नित्य हवनादि, रुद्री एवम् सत्संग कार्य भइरहन्छ । भारतीयलगायत धेरै तीर्थयात्रुहरू पुग्ने गरेका छन् । स्थानीय गौतम थरका एक व्यक्तिले साधनास्थल बनाएपछि चर्चामा आएको यो स्थलको महत्व भने आदिम पुराण एवम् धर्मशास्त्रहरूले नै गरेका हुन् ।
सप्तर्षि, अष्ट चिरन्जीविलगायत महभारत कालमा पाण्डवहरूको विशेष तपस्थली रहेको यो स्वर्गद्वारी निकै पावन मानिन्छ र धर्मभीरूहरू जीवनमा एकपल्ट भए पनि त्यहाँ पुग्ने प्रण गर्छन् । पूर्व पश्चिम राजमार्ग नारायणघाट बुटवल सडक अहिले निकै खराब अवस्थामा छ । यसलाई जसोतसो छिचोल्दै बीच–बीचमा बास बस्दै राप्तीको भालुवाँगबाट झण्डै ६५ किलोमिटर रोल्पा रोड हुँदै उत्तर लागेर हामी भिँग्री पुगेका हौँ र भिग्रीबाट १५ किलोमिटर जति उकाली चढ्दै स्वर्गद्वारीको शिखरमा पुग्न सकिन्छ । डेढ किलोमिटर जति दायाँ–बायाँ भक्तजनहरू, दाताहरूबाट बनाइएको स्टिल बार समाउँदै, सिँढी चढ्दै बूढाबूढीहरू पनि शिखर पुगेको पंक्तिकारले देखेको थियो । लालिगुराँसले हामीलाई पनि स्वागत गरेको थियो ।
–धनराज गिरी
परिवर्तन विकासको सोपान होे । मानिसमा आमूल परिवर्तन आउँछ, आएको छ, अनुभूत तथ्य । परिवर्तन भइरहन्छ । सत्य भन्ने कुरा पनि त्यस्तै त्यस्तै हो । भर्खरै उही भारी बिसाउने चौतारो, “उसको म, मेरो ऊ” उसको लागि त म मात्र, उसकै भाषामा, सत्य हो, मायालु भानुप्रसाद उपाध्यायसित गफ भयो, बोलियो, उसको र मेरो गफमा समानुपातिक बोली हुन्छ, कहिले ऊ धेरै बोल्छ, म सुन्छु, कहिले म धेरै बोल्छु, ऊ सुन्छ, हिसाब मिल्छ, किन कि कुरा मिल्छ, कुरा मिल्छ, किन कि मन मिलेको छ । मनको कुरा मनले बुझ्छ ।
आज म बोले, “हेर भानु, मलाई लाग्थ्यो म अलि कडा हुँ, कडा रहेछु, मलाई लाग्थ्यो म सही छु, मेरो अडान सही छ । मलाई लाग्थ्यो, अझै पनि लाग्छ, यो देशमा ९० प्रतिशत मान्छेहरू, हरेक क्षेत्रमा, अयोग्य छन् । सत्य हो । तर यही सत्यभित्र अर्को सत्य पनि छ । भानु, लौ भन तिमी र म योग्य गुरू, ल दुनियाँले पनि मानेकै हो, अरू सबै अयोग्य हुन् त ? होइनन् । आफ्नो लागि सबै योग्य हुन् । मैले पढाएर यो पनि गलत सोच, अब आएर तत्वबोध भएजस्तै लाग्यो, नदीलाई बग्न कसले सिकाउँछ ? मौरीलाई मह खोज्न कसले तालिम दिन्छ ? कोइलीले सारेगामा कहाँबाट सिकिन् ? भानु, आँखा खोल भित्री, कसैले कसैलाई पनि पढाउँदैन, वास्तवमा सास आफैंले फेर्ने हो । पढ्ने पनि आफैंले हो । परीक्षामा अब्बल हुनेहरू जीवनमा पनि अब्बल हुन्छन् । यसको कुनै ग्यारेन्टी छैन । यसबाट के निचोड निकाल्न सकिन्छ भने टिके ? टिक्न दिएर टिके । जय नेपाल र लाल सलाम भनेर बिके । उनीहरूले जागीर खाए वा जागीरले उनीहरूलाई खायो, थाहा छैन । यो यस्तै हो” भानुसित विदा भएँ ।
आज बोल्ने कोटा मेरो मात्र । यसपछि म भवानी खतिवडा, अशोक थापा, लक्ष्मणप्रसाद गौतम र महेश पौडेलतिर तानिएँ । डोल्पो र गायत्री माताको समीक्षाले पनि ध्यान तान्यो । एम. फिल., पिएचडी र अनुजा हिमसुन्दरीको भनाइले मन तान्यो । मैले ठट्टामा एउटा छोटकरी रूप बनाएको छु ‘खो.प्रा.डा.’ यसमा सहयोग गरेका हुन् आदरणीय कमरेड मृदुभाषी ओलीज्यूले, ‘खोस्टो’ मलाई मन परेको शब्द त्यहींबाट ‘खोस्टे प्राध्यापक डाक्टर’ यो मजाक हो, र होइन पनि ।
भवानी बैनीको कुरा अशोकको पोस्टमा सही थियो । वास्तवमा ‘प्रज्ञा’ विशुद्ध ‘प्रतिभा’ हो । खोस्टाहरूसित यसको गोरू बेचेको पनि साइनो हुन्न । सक्कली विद्यावारिधिलाई म पनि मान्छु ‘मतिप्रसाद ढकाल’ मेरो निजी विम्व, प्रमाण–पत्र र योग्यता उही होइनन् ।
एउटा साथीले अर्को साथीका बारेमा भने, एक दिन, “उहाँ डबल एम.ए.” हो । मभित्र भित्र हाँसे, त्यसो भए ती बन्धुले खोस्टाहरू थुपारेछन् । “हिज्जे” यसैले मापन गर्छ सबैको प्राज्ञिक हैसियत । ‘डबल एम.ए.’हरू एम.फिल. र पी.एच.डीहरूलाई नजीकबाट छामेको हुँदा म यति लेख्न सक्ने भएको हुँ । सर्पयज्ञ गरेको होइन । सक्कली प्राज्ञहरूलाई हृदयतः मान्दछु, जस्तै “प्रा.डा. माधवप्रसाद पोखरेल” गुरूदेव, महागुरू हुनुहुन्छ । मैले सत्य लेखेको मात्र हुँ, यी सबै कुराहरू असत्य भए हुन्थ्यो । कसैको धज्जी उडाउनु, उपहास गर्नु, खुइल्याउनु, बकम्फुस, झूर भन्नु मेरो धर्म होइन । यथार्थ लेख्नु, आफूलाई लागेको कुरा व्यक्त गर्नु मेरो धर्म हो । अयोग्यहरू छन्, चाहिन्छन्, नत्र योग्यहरू कसरी चिनिने ? गरीबहरू नभए धनीको के अर्थ ? अब ध्यान तानेको शब्द ‘झूर’ क्या, झूर गजल, क्या झूर रचना, क्या झूर कार्यक्रम, क्या झूर किताब, क्या झूर मन्तव्य, क्या झूर नाटक, क्या झूर गीत, क्या झूर संवाद... यस्तै यस्तै ।
मनमा कुरा खेल्यो, के अनिता, कविता र आरजू, सीताजी र मेरा लागि झूर सन्तान हुन् ? पक्कै पनि होइनन् । नसरूद्दीन शाहले ‘शोले’ सिनेमालाई सिनेमा नै मानेनन्, के फरक प¥यो । संगीतकार शलील चौधरीले किशोर कुमार ‘मल्टी पत्नी लिमिटेड’ लाई गायक नै मानेनन्, के फरक पर्यो । यो दुनियाँ हो । झूर मान्न पनि पाइन्छ । झूर भन्नेहरूको धज्जी उडाउन खोजेको होइन । कसैको पक्षधरता पनि होइन । तर झूर मान्न पनि पाइन्छ ।
झूर शब्दभित्र जुन नकारात्मक भावनाको पहाड छ त्यसले प्रेमरस, सद्भाव उत्पादन गर्दैन । समस्या यत्ति हो– घृणाको कारोबार नगरौं । मान्छेले गर्ने हरेक सिर्जना उसको सन्तान, आफ्नो सन्तानको माया कसलाई हुन्न । किताब पनि सन्तान हो, हरेक गजल सन्तान, र चलचित्र त धेरै मातापिताको सन्तान, विचार गरौं त एउटा सिनेमा बनाउन कति जनाले पसिना बगाएका हुन्छन् ? राणाहरूको न्यानो स्नेहमा हुर्केको पात्र र मुसहर र चेपाङहरूको संगतमा हुर्केको पात्रको बीचमा तुलना हुन्छ ? नेपाली गायक र गायिकाहरू, कलाकारहरू भारतीय कलाकारहरूसित तुलना गर्ने नै होइन । मुम्बई लामो इतिहास बोकेको फिल्म नगरी, कहाँ पहलवान कहाँ शिशु, हाम्रा कलाकारहरूलाई प्रोत्साहन गर्ने हो, झूर भनेर हतोत्साही बनाउनु मानवता होइन ।
हाम्रो लागि राजेन्द्र थापा नै साहिर हुन्, शैलेन्द्र हुन् । हाम्रो लागि राजेश हमाल र दीपकराज गिरी नै दिलिप कुमार, राज कपूर, राजेश खन्ना र अमीताभ बच्चन हुन् । हाम्रो लागि नेपाल नै स्वर्ग हो । आफूसित भएको कुरामा गर्व गर्न सिकौं । हाम्रो लागि नीर शाह नै पृथ्वीराज कपूर हुन् । त्यहाँ राम्रो के छ ?
झूर शब्द जीवनमा कतै पनि प्रयोग नगरौं । मलाई मेरा अग्रजहरूले दिनुभएको दीक्षा यही हो, अरूलाई सम्मान गर्ने, अपमान नगर्ने, सकिन्छ कृतज्ञ हुने, कृतघ्न नहुने, सकिन्छ सकारात्मक प्रेरणा दिने, नकरात्मक कुराले सरल र सज्जनहरूको चित्त दुखेमा अनर्थ हुन्छ ।
सबैले सबैको अस्तित्व स्वीकारेमा सबैलाई सास फेर्न सहज हुन्छ । अतिवाद कसैको पक्षमा पनि हुन्न । ट्याग मेरो अति थियो, त्यागियो । अब अति पोस्टको अतिलाई नयाँ सालबाट त्याग्ने छु । सामाजिक संजालको मोह पनि एक कोरोना नै हो । २०८१ साल मेरो लागि साँच्ची नै नयाँ साल हुनेछ । प्रोफेसर जगमोहन आजाद सबैको कुरा सुन्छ, मनमा गुन्छ र सही मार्ग चुन्छ । मलाई आफ्ना कमजोरीहरू थाहा छ । प्राकृतिक रूपमा माया गर्नेहरूलाई राम्रोसित चिनेको छु । मान्छे चिन्छु, जति मलाई चाहिन्छ । धेरै किन चिन्ने ? र भोलि, चितवनको पर्व, चितवनको गर्व, मामाश्री गोर्खे साहिलाको पल्लव पर्वलाई सघाउनु छ । साहित्य जीवनामृत हो । यसमा पनि विवेक चाहिन्छ । साहित्यकारहरू भावुक मात्र हुने होइन । झूर केही पनि हुन्न । जीवनमा मानवता सर्वोपरी हो । हृदयमा मानवता भएको मान्छेको मनमा विवेक हुन्छ ।
–गणेश लोहनी
१.
नयनको बाटो पस्यौ भन्यौ मुस्कुराइरहेँ
मन मन्दिरमा बस्यौ भन्यौ मुस्कुराइरहेँ
बदलिएकी त तिमी हौ म होइन प्रिया
मेरो दृष्टिबाट खस्यौ भन्यौ मुस्कुराइरहेँ ।।
२.
ढुँग्रो भित्र राखिएको पुच्छर समान माने हुन्छ
सँधैभरि हातालाग्यो सुन्य भन्ने जाने हुन्छ
हिँस्रक जन्तु सदाएर कजाउन सकिन्छ बरु
विवेकहीनलाई सदाउनु असम्भव नै ठाने हुन्छ ।।
३.
जन्मेको युगको के कुरा बन्छन् सर्वकालिक पनि
सम्मानका लायकहरूको बनाउँछन् शालिक पनि
कुख्यातहरू मृत्युसँगै हराउँछन् विस्मृतिको गर्भमा
सच्चा लोकनायक सगर्व बन्छन् मनका मालिक पनि ।।
४.
कोइलीसँग भाका चोरी गीत गाएँ मैले
जुनीभरलाई दीगो ठानि मित लाएँ मैले
आफुले मुढो ताकेँ बन्चराले घुँडो ताक्यो
जूनेलीको साथ खोज्दा शीत पाएँ मैले ।।
–रामहरि पौडेल
तिमीलाई हजार प्रहार गरेँ
क्षत विक्षत पारेँ
हे मेरी माता
मलाई अझैं वात्सल्य दिई रहेकी छौ
वायुमण्डल बिशाक्त पारेँ
गंगा हत्या गरें
तरपनि मलाई बचाइ रहेकी छौ
माटोमा लहलहाउँदा मुनाहरू
निमठेर फ्याकेँ
र खडा गरेँ
सिमेन्टको जंगल र पिच सडकहरू
पानीबा खोला,काल्थुम्के
सरकाली पाखा र चम्पादेवी डाँडा
मैले टेकेको छैन
हरिया स्याउला र घाँस देखेको छैन
तरपनि प्रत्येक बिहान
मेरो घरमा
दूध पठाइदिइ रहेकी छौ
दशकौं अघि
डोल्लू मूलमा
गोगन रोप्ने अभियान चलाएकै कारण होला
बलधारा र तिरतिरे धारा
धाउनु परेको छैन
चोटा वुँइगेलमा
पानी पठाइँरहेकी छ्यौं
थापचिनीयाँ, पोख्रेली, मार्सी
फलामे र ताइचिन
कसकहाँ साट्ने ?
कुन बीऊ छर्ने ?
अहिले, मेरो मटानको बहस छैन
तर, हे धर्ती माता
मलाई
भरपेट भात खुवाइरहेकी छौ
आनन्दसाथ बचाइरहेकी छौ ।।
काठमाडौं : पञ्चकोट साहित्य सम्मेलनको लागि कार्यसमिति गठन गरिएको छ । साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा गठित १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षहरूमा सापसका पूर्व अध्यक्ष सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, साहित्यकारहरु काजी रोशन, प्रेम छोटा र मन्जिला अनिल रहेका छन् ।
यसैगरी महासचिवमा सुभाष चन्द्र पौडेल ‘भीमफेदीया’, सचिवमा कमला रिसाल र कोषाध्यक्षमा नीता श्रेष्ठ रहेका छन् । त्यसैगरी सदस्यहरूमा प्रा.डा. जगन्नाथ रेग्मी, दुर्गा दृशी अधिकारी, विक्रमभक्त जोशी, मुरारी सिग्देल, रूद्र अधिकारी, हरिश कल्पित र पारू तिमिल्सिना रहेका छन् । संस्थाको प्रधान संरक्षकमा स्वामी कमलनयनाचार्य रहेका छन् भने संरक्षकमा बागलुङ नगरपालिका प्रमुख बसन्त श्रेष्ठ रहेका छन् ।
यसैगरी सल्लाहकारहरुमा वरिष्ठ साहित्यकारहरु प्रा.डा. वासुदेव त्रिपाठी, प्राज्ञ जगमान गुरुङ, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, साहित्यकारहरु पद्मावती सिंह, प्राज्ञ उन्नती बोहरा शीला, तीर्थ श्रेष्ठ, प्रा.डा. कुसुमाकर न्यौपाने र प्रा.डा. लक्ष्मणप्रसाद गौतम रहेका छन् ।
कार्यसमितिको बुधबार बसेको बैठकबाट सांस्कृतिक समिति र कार्यक्रम संयोजन समिति समेत गठन गरिएको छ । गठित सांस्कृतिक समितिको संयोजकमा सङ्गीतकार नरहरि प्रेमी रहेका छन् भने सदस्य सचिवमा गायक ऋतु कँडेल तथा अन्य सदस्यहरूमा नायक हरिश कल्पित र सर्जक कमला रिसाल रहेका छन् ।
त्यसैगरी,कार्यक्रम संयोजन समितिका संयोजकमा मुरारि सिग्देल रहेका छन् भने सदस्य सचिवमा नीता श्रेष्ठ रहेकी छिन् । संस्थाले पञ्चकोटमा स्रष्टाघर निर्माणका लागि पहल गर्ने, बागलुङ नगरपालिकामा स्रष्टा पार्क निर्माणका लागि पहल गर्ने, वार्षिक रूपमा सम्मेलन गर्न स्थानीय निकायसँग पहल गर्ने तथा पञ्चकोट साहित्य सम्मेलनको आजीवन सदस्य बन्न इच्छुक स्रष्टाहरूलाई स्वागत गर्नुका साथै गत फागुन २० गते सम्पन्न पहिल्लो सम्मेलनको स्मारिका प्रकाशित गर्ने निर्णय समेत गरेको छ ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको नेतृत्वमा गत २०८० साल फागुन २० गते पञ्चकोट,बागलुङमा गएका स्रष्टाहरूको टोलीद्वारा भाषा, साहित्य तथा संस्कृतिको संरक्षणका लागि साहित्यका माध्यमबाट भव्य कार्यक्रमको आयोजना सम्पन्न गरे पश्चात् उक्त सम्मेलनलाई निरन्तरता दिँदै अन्य विविध सिर्जनात्मक कार्य गर्ने उद्देश्यले पञ्चकोट भाषा, साहित्य, संस्कृति संरक्षणका लागि उक्त कार्यसमिति गठन गरिएको महासचिव सुभाष चन्द्र पौडेल ’भीमफेदीया’ले जानकारी दिएका छन् ।
काठमाडौं : नुरगंगा प्रतिभा पुरस्कार गुठीले चार विधामा पुरस्कारको घोषणा गरेको छ । गुठीले आफ्नो सबैभन्दा ठूलो पुरस्कार लोकगायक राजु परियारलाई प्रदान गर्ने निर्णय गरेको छ ।
गुठीका सदस्य सचिव यज्ञप्रसाद शर्मा पोखरेलका अनुसार १ लाख नगद राशिसहितको राष्ट्रिय लोकगायन पुरस्कार लमजुङका परियारलाई प्रदान गर्ने निर्णय भएको छ ।
गुठीले ३० हजार राशिको क्षेत्रीय साहित्य पुरस्कार पाल्पाका साहित्यकार रामबहादुर पहाडीलाई, २५ हजार राशिको राष्ट्रिय नवप्रतिभा बाल साहित्य पुरस्कार मोरङका सोईना दाहाललाई र २० हजार राशिको क्षेत्रीय नवप्रतिभा गायन पुरस्कार अर्घाखाँचीका कुशल बेलवासेलाई प्रदान गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
सबै पुरस्कार आगामी जेठ ११ गते प्रज्ञा प्रतिष्ठानमा विशेष समारोहका साथ प्रदान गरिने गुठीले जनाएको छ ।
प्रसिद्ध उद्यमी तथा साहित्यानुरागी नुरप्रताप जबरा र उनकी धर्मपत्नी तथा गायिका गंगा राणाले स्थापना गरेको गुठीले हरेक वर्ष कला साहित्यको क्षेत्रमा योगदान गरेका व्यक्तिहरुलाई प्रोत्साहन गर्दै सम्मानस्वरुप पुरस्कार प्रदान गर्दै आएको छ ।
पुरस्कार गुठीका संरक्षक उनीहरूका सुपुत्र अमिर प्रताप जबरा हुन् भने गोविन्द नेपाल अध्यक्ष हुन् । लोकप्रिय नेपाली जुत्ता ‘गोल्ड स्टार’ स्वर्गीय जबराले नै उत्पादन थालेका थिए ।
–श्याम रिमाल
गत महिना डा. पुरण राईले एकै चोटि आफ्ना पाँच कृति प्रकाशनमा ल्याए र फागुन १३ गते सबैको एकै पटक विमोचन पनि गराए । एकै समयमा, एकै व्यक्तिले कथासंग्रह, नाटकसंग्रह, दैनिकी, अनुसन्धानात्मक र उपन्यास गरी फरक–फरक विधाका यति धेरै पुस्तक प्रकाशन गर्ने काम कृतिगत अभिलेखमै आउने काम हो र यो जो पायो उसले गर्न सक्दैन पनि ।
यसअघि पनि नेपाल एयरलाइन्स, त्रिभुवन विमानस्थल, काठमाडौंमा कार्यरत डा राईका ‘मेरो देशको भूगोल’, ‘डायस्पोराः लाहुरे स्रष्टा र कविता’ र ‘ब्रिटिस गोर्खा सैनिक साहित्यको इतिहास’ गरी कविता, समालोचना र इतिहाससम्बन्धी तीन कृति प्रकाशन भइसकेका छन् ।
अनलाइन अभिलेख प्रालि र पालिका अभिलेख प्रालि, काठमाडौंद्वारा यसै साल प्रकाशित ‘आप्रवासी नेपाली कवितामा अलंकार विधान’ कृति अलंकार विधानमा नै केन्द्रित भएर गहन अध्ययनका साथ तयार पारिएको पहिलो शोधप्रबन्ध मानिन्छ जुन नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गर्दाको शोधमा आधारित छ ।
उनका अन्य कृतिमा ‘अस्तु’ कथासंग्रह, ‘लासमाथिको मानवता’ नाटकसंग्रह, ‘डरका बिम्बहरु’ कोभिड डायरी र ‘वसन्त रितु’ उपन्यास हो । ‘अस्तु’ कथासंग्रहमा कोरोना भाइरस र अन्तरजातीय प्रेम तथा विवाहसम्बन्धी आठ कथा छन् । यसमा महामारी र अन्तरजातीय प्रेम तथा विवाहले सिधासोझालाई निम्त्याएको विपत्ति, शोषण, उजाडिएको गाउँ, वृद्धवृद्धा–केटाकेटी मात्र रहेको बस्ती आदि विषय आएका छन् ।
नाटक संग्रह ‘लासमाथिको...’ मा रहेका चार नाटकले नेपाली समाज, सामाजिक मनोविज्ञान र सामाजिक यथार्थलाई विवेचन गरेको छ । समाजले निःसन्तानलाई हेय दृष्टिले हेर्ने गरेकाले सन्तानका लागि भाडामा कोख लिनुपर्ने बाध्यता र मातृत्वको वियोग, लाहुरे बन्नुपर्ने बाध्यता र त्यसमा पाएका दुःख, दलित महिलाले भोग्नुपरेको पीडा, अहिलेका युवाले बाबुआमालाई गर्ने अपमान र तिरस्कार जस्ता विषयवस्तु पनि यसमा अटाएको छ ।
‘डरका...’ कोभिडकालीन डायरी हो । त्यसमा विसं २०७६–७८ सम्मका दैनिकी छन् । कोरोना महामारीको भयावहावस्थालाई समेटेर लेखकले एउटा दर्दनाक कालखण्डलाई यसमा उनले अभिलेखीकरण गरेका छन् । यो खोटाङ, बुइपाबाट आएका एक हवाई उडानकर्मीले नजिकैबाट देखेका, जानेका र सुनेका घटनाको दस्तावेजीकरण पनि हो ।
समीक्ष्य कृति ‘वसन्त रितु’ उनको पहिलो उपन्यास हो । त्यसमा अन्तरजातीय विवाह र त्यसपछि उत्पन्न घटना तथा समस्या केन्द्रमा छन् । राई वंशको केटो ‘वसन्त’ र ब्राह्मण कुलकी केटी ‘रितु’ बिच अन्तरजातीय विवाह भएकाले गाउँबाट सो जोडी भाग्न विवश हुन्छ । त्यसबाट केटाका घरमा केटी पक्षले आगो लगाउँछ, उसका बाआमा गाउँबाट खेदिन्छन् । अनि बाबुआमा र छोराबुहारीसमेतको परिवार अलगथलग हुन्छन् ।
उपन्यासका नायक वसन्त तथा नायिका रितु अर्कै गाउँ र सहरमा भौँतारिरहेका हुन्छन् । विद्यालयको प्रतिभाशाली विद्यार्थी, शिक्षक हुँदै निर्माण व्यवसायी र पछि फेरि शिक्षक नै बनेका वसन्त सशस्त्र द्वन्द्वमा पनि सहभागी हुन्छन् र गिरफ्तार भए पनि भागेर बाहिरिन सफल भएको प्रसङ्ग पनि कृतिमा देखाएर उपन्यासकारले नेपालको दश वर्षे एक कालखण्डलाई समेटेका छन् ।
वसन्त–रितुले आफ्नो सन्तानका रुपमा छोरी मौसम जन्मेपछि उनलाई चिकित्सक बनाउने अठोट लिएर रुसमा पढ्न पठाउँछन् । उनी नै स्वदेश आएर गाउँमा आयोजना गरिएको स्वास्थ्य शिविरमा सहभागी हुँदा अलग भएका परिवार–कुलकुटुम्बको भेट हुन्छ र परित्यक्त गाउँमा विशाल उद्यान र स्वास्थ्य केन्द्र खोल्ने योजना तथा काम हुन्छ ।
कथा सारांशमा यही भए पनि यसले ठूलो सन्देश दिएको छ ः नेपाललाई नै सबै जात र भाषाभाषी, संस्कृति, धनी–गरिबको साझा फुलबारी बनाउने । अन्तरजातीय प्रेम र विवाह गर्ने वसन्त र रितु तथा तिनकी चिकित्सक छोरी डा. मौसम, वसन्तरितुका साथी स्मृति र उनका लाहुरे पति उद्गम एवम् चिकित्सक छोरा डा. एलमहाङ तथा गाउँका ठालु जिमलघरे र उसका सम्धीसम्धिनी राईकान्छो र उनकी पत्नीको अन्त्यमा मिलन देखाएर समाज परिवर्तनमा जातीयता तगारो बन्न नहुने सन्देश देखाइएको छ ।
अझ नेपालको नक्साको स्वरुपमा विशाल ग्रामीण उद्यान बनाएर त्यसमा नेपालका एक सय २३ भाषाको प्रतिनिधित्व गर्ने गरा र एक सय २५ जाति संकेत गर्ने वर्गाकार भूभागमा नेपालका सबै ऋतुमा फुल्ने फूल रोपिएको छ (विसं २०७८ को बाह्रौँ राष्ट्रिय जनगणनामा भने भाषा एक सय २४ र जाति एक सय ४२ पुगेका छन्) । अनि उद्यानका चारैतिर सबै जातिको सांस्कृतिक पहिचान झल्कने घर निर्माण गर्ने योजना पनि बनाइएको छ । यसरी उपन्यासकारले जातीय समानता र राष्ट्रिय भावधारामा सबै नेपाली जनतालाई समाहित गर्नुपर्ने विशाल सन्देश कृतिमा दिएका छन् ।
“...यहाँ हरेक वर्ष ऋतु दिवस मनाइनेछ, फूल दिवस मनाइनेछ । यहाँ हरेक वर्ष फूलहरुको ठूलो मेला लाग्नेछ । यहाँ को साना जात, को ठूलो जात, को छुत, को अछुत केही हुँदैन । यो जातबारी होइन, फूलहरु फुल्ने फुलबारी हुनेछ । ...”, कृतिको मुख्य पात्रमध्येका वसन्तको मुखबाट अभिव्यक्त यस कथनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको “यो सबै जातको फुलबारी हो...” भन्ने दिव्योपदेशलाई पनि आत्मसात् गरेको छ ।
परम्परागत ढंगबाटै लेखिएको औपन्यासिक कृतिमा वर्णविन्यासगत र वाक्यगत दोष तथा मुद्राराक्षस ठाउँ–ठाउँमा भेटिन्छन् । केही वाक्यमा नेपाली व्याकरणमा प्रयुक्त हुने वचन र लिङ्गसम्बन्धी नियम पनि भङ्ग भएको पाइन्छ । नेपाली साहित्यमै विद्यावारिधि गर्नुभएका डा राईले ‘प्राकृतिक अवस्थाअनुसार वर्षभरिको दुई–दुई महिनाका दरले फेरिने वातावरणिक स्थिति वा त्यसअनुसार हुने समय विभाजन’ लाई बुझाउने संस्कृत शब्द ‘ऋतु’ का सट्टा ‘रितु’ शब्द शीर्षकमै राखेकाले पाठक अन्योलमा पर्न सक्छन् । नेपाली समाज विभिन्न जातीय भावना, साम्प्रदायिकता, धार्मिकता, असहिष्णुता तथा वाद र विचारमा विखण्डित भइरहेको अहिलेका अवस्थामा कृतिले पाठकलाई राष्ट्र–राष्ट्रियताको भावना जागृत गर्नाका साथै संकुचित जातीयताको घेराबाट माथि उठ्न भने प्रेरणा दिने नै विश्वास गर्न सकिन्छ ।
–लेखराज रेग्मी
तिम्रो बाबुले हप्काउँदै रोक्न खोजे
आमाले रुँदै बाटो छेकिन
तर तिम्रा खुट्टा चलमलाए अघि बढे
भनिन्छ तिमी देश बदल्न हिँड्यौ
भाग्य बदल्न हिँड्यौ संसार बदल्न
हो होइन मलाई थाहा छैन
न त हामीले आपसमा बात मा¥यौं
न त सार्वजनिक घोषणा गरेर थात छोड्यांै
कारगिलमा ढल्ने गोर्खा राइफल
फोकलैण्डमा ढल्ने ठूले
खारामा बेनीमा ढल्ने तिम्रो लास
जिन्दगीका विवशतासँग लड्दै
समयले बन्दुक थमाइएका हातहरु
मलाई शंका छ एउटा कुरा
गल्लावालसँग छाती नपाएर ऊ
टिका जमराको साइतमा निस्कियो
फुली र तक्मा बोकेको छातीको सपनासँगै
उतै हरायो उसको सपना उसको संसार
यता भए त उ पनि सायद महान् सहिद बन्थ्यो
उता गएको भा सायद रातो धागो बेरेर चिठ्ठी
एकथान पेन्सनको पट्टा तिम्रो घरमा आउँथ्यो
जे हुन्थ्यो तिमी छैनौ अपमानका शब्द सुन्न
कथित अदालतका डर पालेर बाँच्न
वा छातीभरी तक्मा र पेन्सन पट्टा बोकेर
स्वत्व मरेको बासी जिन्दगी जिउन
हो मलाई शंका छ तिमीप्रति
सायद सक्ने थिएनौ यो अपमानित जिन्दगी
सँगै लडेको साथीको बीरगाथा बोकेर थेग्न
लाचार र लम्पसार मेरो जिन्दगी जिउन
भन्न सक्दैन आऊ साटौं मृत्यु र जिन्दगी
तिमी पनि अनुभव गर एकछिन
यहाँ बाँचेर सहिदको गीत गाउन कति दुख्छ
र शंका छ सायद सक्थेनौ तिमी थेग्न यो पीडा
म भन्न सक्दैन जे भयो तिम्रो लागि ठिक भयो
र सक्दैन भन्न म बाँचेको छु उब्रिएको जिन्दगी
यो नाफाको जीवन भन्नु कुनै खुसी छैन
मलाई शंका छ आफैँसँग सायद
अब जुट्ने छैन साहस मेरो छातीमा कतै
के भनौँ, छल भयो तिमीसँग या
महान छ तिम्रो सहादत र फुल्दैछन् सपनाहरु ।
-अनन्तप्रसाद घिमिरे
जहाँ,
जनताको सर्वोच्चता अनि सम्पन्नता होइन
नेताको सर्वोच्चता अनि सम्पन्नतामा विश्वास गरिन्छ ।
अनि भनिन्छ–
देश समृद्धिको बाटोमा लागिसक्यो !
जहाँ,
एयरपोर्टमा अनि बसपार्कमा
उदासी अनुहारमा
विदेशिने युवाहरुको भीड हुन्छ ।
अनि भनिन्छ–
देश समृद्धिको बाटोमा लागिसक्यो !
जहाँ,
बाबु आमाको लासले
विदेशिएका आफ्नै छोराछोरीलाई कुर्नुपर्छ,
पट्ट्यारलाग्दो ढङ्गले ।
अनि भनिन्छ–
देश समृद्धिको बाटोमा लागिसक्यो !
जहाँ,
भाषा, धर्म अनि संस्कृतिमाथि ठाडै हस्तक्षेप हुँदापनि देखिन्छ
नेताहरुमा मौन समर्थन !
अनि भनिन्छ–
देश समृद्धिको बाटोमा लागिसक्यो !
जहाँ,
अनुपम प्राकृतिक सम्पदाहरुको अवमूल्यन गर्दै
संरक्षणका नाममा व्रम्हलुट मच्चाइन्छ ।
लगाइन्छ घाँटी सुक्नेगरी नारा
अनि भनिन्छ–
देश समृद्धिको बाटोमा लागिसक्यो !
जहाँ,
यावज्जीवेत्सुखं जीवेत् ऋणं कृत्वा घृतं पिबेत्,
भन्ने चार्वाक् दर्शनलाई
नेताहरुबाटै अनुमोदन गराइन्छ ।
अनि भनिन्छ–
देश समृद्धिको बाटोमा लागिसक्यो !
जहाँ,
जनताहरुले भोकभोकै खुल्ला आकाशलाई
निरीह बन्दै छानो बनाउँदा पनि
रातारात ठडिन्छन्,
नेताहरुका लागि आलिसान महलहरु,
अनि भनिन्छ–
देश समृद्धिको बाटोमा लागिसक्यो !
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies