२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

कृत्रिम ग्यास अभाव रोक्न शितगंगाको अग्रसरता

Nada
सूर्यप्रसाद भुसाल
२०८३ साउन २१ गते २०:५२
Shares
कृत्रिम ग्यास अभाव रोक्न शितगंगाको अग्रसरता

अर्घाखाँची : देशका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव भएको बेला अर्घाखाँचीको शितगंगा नगरपालिकाले सम्भावित अभाव रोक्न समयमै सक्रियता देखाएको छ । उपभोक्ताले सहज रूपमा ग्यास पाउने सुनिश्चितता गर्न नगरपालिका, जिल्ला प्रशासन कार्यालय र ग्यास व्यवसायीबीच बिहीबार नगरपालिकामा छलफल गरिएको हो । 

ncell

जिल्ला प्रशासन कार्यालय अर्घाखाँची र शितगंगा नगरपालिकाको संयुक्त आयोजनामा भएको छलफल कार्यक्रममा ग्यास आपूर्ति, वितरण प्रणाली, मौज्दात व्यवस्थापन, बजार अनुगमन तथा उपभोक्ता अधिकार संरक्षणका विषयमा विस्तृत छलफल भएको शितगंगाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

नगर कार्यपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा नगर प्रमुख छविलाल पौडेलको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी राजेश पन्थी, जिल्ला प्रहरी कार्यालयका प्रमुख दिवसबहादुर जिसी, उद्योग वाणिज्य संघका पदाधिकारी, जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा नगर क्षेत्रका २४ जना ग्यास व्यवसायी सहभागी भएको नगरपालिका योजना शाखा प्रमुख नुमलाल खनालले जानकारी दिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले एलपी ग्यास अत्यावश्यक उपभोग्य वस्तु भएकाले यसको आपूर्ति कुनै पनि अवस्थामा प्रभावित हुन नहुने स्पष्ट पार्दै कृत्रिम अभाव सिर्जना नगर्न व्यवसायीलाई आग्रह गरे । 

उनले ग्यास सिलिण्डरको खरिद, मौज्दात र बिक्रीको स्पष्ट अभिलेख राख्न, प्राप्त भएको कम्पनी, सिलिण्डर नम्बर तथा बिक्री विवरण नियमित रूपमा रेकर्ड गर्न व्यवसायीलाई निर्देशन दिए । अनावश्यक रूपमा ग्यास सञ्चिति नगर्न र सकेसम्म खाली सिलिण्डर रिफिललाई प्राथमिकता दिन आग्रह गर्दै प्रजिअ सुवेदीले ‘ग्यास भएर पनि छैन भन्ने अवस्था सिर्जना नगर्न’ व्यवसायीलाई सचेत गराए ।

सुवेदीले कानुनअनुसार व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई प्रशासनले पूर्ण सहयोग गर्ने तर कृत्रिम अभाव, कालोबजारी, मूल्य अनियमितता वा उपभोक्ता ठगीजस्ता गतिविधिविरुद्ध कडा अनुगमन गरिने स्पष्ट पारे । 

कार्यक्रममा नगर प्रमुख छविलाल पौडेलले ग्यास आपूर्तिको सम्पूर्ण शृंखलालाई व्यवस्थित बनाउन आधिकारिक डिलरसिप आवश्यक रहेको बताए । उनले उद्योग वाणिज्य संघ स्थापना भएको लामो समय बितिसक्दा पनि ग्यासको आधिकारिक डिलरसिप नलिइएकोप्रति आश्चर्य व्यक्त गर्दै तत्काल आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरे । ‘आधिकारिक डिलरसिप भएपछि मात्रै उपभोक्ताले नियमित, सुरक्षित र प्रतिस्पर्धी मूल्यमा ग्यास पाउन सक्छन्,’नगर प्रमुख पौडेलले भने । 

डिलरसिपबिना ग्यास कारोबार गर्दा बीमा, क्षतिपूर्ति, सुरक्षा तथा कानुनी जटिलता उत्पन्न हुन सक्ने उल्लेख गर्दै उनले सुरक्षित र जिम्मेवार व्यवसाय सञ्चालनका लागि सबै व्यवसायीलाई कानुनको पूर्ण पालना गर्न आग्रह गरे । 

प्रमुख जिल्ला अधिकारी सुवेदीले एउटै पसलबाट सकेसम्म एउटै कम्पनीका ग्यास सिलिण्डर मात्र बिक्री गर्न सुझाव दिए । एउटै पसलमा विभिन्न उद्योगका सिलिण्डर मिसाएर बिक्री गर्दा अभिलेख व्यवस्थापन, अनुगमन तथा आपूर्ति प्रणालीमा जटिलता आउने भएकाले यस्तो अभ्यास क्रमशः हटाउनुपर्ने उनको भनाइ थियो । 

कार्यक्रममा एलपी ग्यासमाथिको अत्यधिक निर्भरता घटाउँदै विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको सरोकारवालाले बताएका थिए । ग्यासको सुरक्षित प्रयोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्न स्थानीय सरकार, प्रशासन र व्यवसायीले संयुक्त अभियान सञ्चालन गर्ने विषयमा पनि छलफल भएको थियो ।

छलफलमा सहभागी व्यवसायीहरूले कृत्रिम अभाव सिर्जना नगर्ने, मौज्दात र बिक्रीको अभिलेख व्यवस्थित राख्ने, उपभोक्तालाई वास्तविक अवस्था जानकारी गराउने तथा प्रशासन र नगरपालिकासँग निरन्तर समन्वय गरेर पारदर्शी रूपमा ग्यास वितरण गर्ने प्रतिबद्धता जनाएको व्यवसायी हरि गैरेले बताए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय र शितगंगा नगरपालिकाले संयुक्त रूपमा नियमित बजार अनुगमन गर्ने, मूल्यसूची कार्यान्वयनलाई कडाइ गर्ने, मौज्दात तथा बिक्री अभिलेखको परीक्षण गर्ने र उपभोक्ताको अधिकार सुनिश्चित गर्न आवश्यक सबै संयन्त्र सक्रिय बनाउने सहमति भएको छ ।

देशभर ग्यास अभावको चर्चा चलिरहेका बेला शितगंगा नगरपालिकाले समयमै प्रशासन, व्यवसायी र सरोकारवालालाई एउटै मञ्चमा ल्याएर समाधानमुखी पहल गरेको यो कदमलाई स्थानीय उपभोक्ताको हित संरक्षणतर्फको महत्त्वपूर्ण प्रयासका रूपमा हेरिएको छ ।

सम्बन्धित खबर