२०८३ कार्तिक १९ गते बिहिवार / Nov 05 , 2026 , Thursday
२०८३ कार्तिक १९ गते बिहिवार

पर्सामा ७० हजारलाई भिटामिन ‘ए’ र ६० हजार ६ सय जनलाई जुकाको औषधि खुवाइयो

Nada
लालबाबु बानिया
२०८३ कार्तिक १९ गते २१:१८
Shares
पर्सामा ७० हजारलाई भिटामिन ‘ए’ र ६० हजार ६ सय जनलाई जुकाको औषधि खुवाइयो

पर्सा : राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत पर्सा जिल्लामा दुई दिनमा ७० हजार बालबालिकालाई भिटामिन ‘ए’ र ६० हजार ६ सय बालबालिकालाई जुकाको औषधि खुवाइएको छ ।
जनस्वास्थ्य कार्यालय पर्साका पोषण कार्यक्रम प्रमुख अनिल मिश्राका अनुसार जिल्लाभरि सञ्चालित अभियानमा उक्त संख्यामा बालबालिकाले भिटामिन ‘ए’ तथा जुकाको औषधि सेवन गरेका हुन् । 

सरकारले राष्ट्रिय कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउँदै आएको छ । पर्सा जिल्लामा यस वर्ष भिटामिन ‘ए’तर्फ ८० हजार र जुकाको औषधितर्फ ७२ हजार १०० बालबालिकालाई औषधि खुवाउने लक्ष्य राखिएको थियो । 

जिल्लाका १४ वटै पालिकामा सञ्चालन भएको अभियानको जनस्वास्थ्य कार्यालय पर्सा तथा स्थानीय स्वास्थ्य संस्थाका प्रमुख र स्वास्थ्यकर्मीले अनुगमन गरेका थिए । पोषण कार्यक्रम प्रमुख अनिल मिश्रासहित पोषण अधिकृत रानी पण्डित, सुनिल साह, विजय साह, जयमोद ठाकुर, मीरा यादव र मोहित जैसवालले विभिन्न पालिकामा पुगेर कार्यक्रमको अनुगमन गरेका थिए ।

पर्सा जिल्लाका छिपहरमाई, जगरनाथपुर, ठोरी, पोखरिया, जिराभवानी, कालिकामाई, सखुवाप्रसौनी, पटेर्वासुगौली, बहुदरमाई, पर्सागढी, पकाहामैनपुर, धोबिनी, बिन्दवासिनी तथा वीरगञ्ज महानगरपालिकामा अभियान सञ्चालन गरिएको थियो ।

यसअघि पहिलो चरणको भिटामिन ‘ए’ कार्यक्रम हरेक वर्ष कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको थियो ।  तर, यस वर्ष दसैंको सार्वजनिक बिदाका कारण मिति परिवर्तन गरी कात्तिक १७ र १८ गते कार्यक्रम सञ्चालन गरिएको हो । 

नेपाल सरकारले बालबालिकाको स्वास्थ्य तथा पोषण सुधार गर्ने उद्देश्यले हरेक वर्ष दुई चरणमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । पहिलो चरण कात्तिकमा र दोस्रो चरण वैशाख ६ र ७ गते सञ्चालन हुने गरेको छ ।

मिश्राले अभियान सफल बनाउन सहयोग गर्ने अभिभावकप्रति धन्यवाद व्यक्त गर्दै राष्ट्रिय अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीलाई पनि आभार व्यक्त गरेका छन् । उनले अभियानका क्रममा छुटेका बालबालिकालाई समेत औषधि खुवाउने व्यवस्था मिलाइएको जानकारी दिए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर