२०८३ कार्तिक १९ गते बिहिवार / Nov 05 , 2026 , Thursday
२०८३ कार्तिक १९ गते बिहिवार

ममता बेपत्ता भएको दुई वर्षपछि कठघरामा नरेश : ‘मैले कहिल्यै हात उठाइन’

फेसबुकबाट चिनजान र विवाहदेखि पारिवारिक विवादसम्मका कुरा सुनाए, छोरी जन्मिएपछि सम्बन्ध बिग्रिएको दाबी

Nada
२०८३ कार्तिक १९ गते ०९:०३
Shares
ममता बेपत्ता भएको दुई वर्षपछि कठघरामा नरेश : ‘मैले कहिल्यै हात उठाइन’

अमेरिका : नेपाली नर्स ममता काफ्ले भट्टको हत्या अभियोगमा अमेरिकाको भर्जिनियामा चलिरहेको मुद्दामा उनका श्रीमान् नरेश भट्टले पहिलोपटक आफैँ अदालतमा उपस्थित भएर आफ्नो बचाउमा बयान दिएका छन् ।

बुधबार (नोभेम्बर ४) प्रतिरक्षा पक्षका साक्षीका रूपमा बयान दिँदै उनले ममतामाथि कहिल्यै शारीरिक हिंसा नगरेको दाबी गरेका छन् । मुद्दाको १६औँ दिन अदालतमा उपस्थित भएका ३९ वर्षीय नरेशले आफ्नो बाल्यकाल, अमेरिका आगमन, अमेरिकी सेनामा काम गरेको अनुभव र ममतासँगको वैवाहिक सम्बन्धबारे बयान दिएका हुन् । उनले वैवाहिक जीवनको पछिल्लो समय तनावपूर्ण बनेको स्वीकार गरे पनि आफूले ममतामाथि हातपात नगरेको जिकिर गरेका छन् ।

अदालतमा बयान सुरु गर्दा नरेशले आफू निकै उत्साहित भए पनि डर र तनावमा रहेको बताएका थिए । अंग्रेजी भाषामा आफू कमजोर भएकाले जुरी सदस्यले आफ्नो कुरा बुझ्न नसक्ने हो कि भन्ने चिन्ता रहेको उनको भनाइ थियो । त्यसैले अदालतले नेपाली भाषाको अनुवादकको व्यवस्था गरेको थियो । उनले सकेसम्म अंग्रेजीमै जवाफ दिने र आवश्यक पर्दा नेपाली भाषा प्रयोग गर्ने बताएका थिए ।

नरेशले आफ्नो बाल्यकाल भारतको नयाँदिल्लीबाट सुरु भएको बताए । त्यहाँ करिब दुईदेखि साढे दुई वर्ष बसेपछि परिवार नेपाल फर्किएको र पश्चिम नेपालको दुर्गम गाउँमा आफ्नो बाल्यकाल बितेको उनको भनाइ थियो । सामान्य माटो र ढुंगाले बनेको घरमा धेरै परिवारसँगै बस्नुपर्ने, पर्याप्त खानेकुरा नहुने र घरमा हिटर तथा वातानुकूलित सुविधा नरहेको उनले अदालतमा सुनाएका थिए । १३–१४ वर्षको उमेरमा नेपालमा द्वन्द्वका बेला विद्रोही समूहले आफूलाई नियन्त्रणमा लिएर सैन्य गतिविधिमा संलग्न हुन दबाब दिएको उनले बताए । केही समय नियन्त्रणमा राखेर शारीरिक दुर्व्यवहारसमेत गरिएको र पछि उम्किन सफल भएको उनको दाबी थियो ।

उक्त घटनाको प्रभाव अहिले पनि आफूमा रहेको र कहिलेकाहीँ नराम्रो सपना देखेर ब्युँझिने गरेको उनले बताए । सन् २०१६ मा भिसा लटरीमार्फत अमेरिका आएको र पछि अमेरिकी सेनाको रिजर्भमा काम गरेको उनले अदालतमा बताए । सेनामा रहँदा आफूले मानसिक स्वास्थ्यसम्बन्धी समस्या अनुभव गरेको पनि उनले स्वीकार गरेका छन् । फेसबुकबाट चिनजान, एक–दुई सातामै विवाहको निर्णय अदालतमा नरेशले ममतासँग फेसबुकमार्फत चिनजान भएको बताए ।

ममताले आफूलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएको र साझा साथीमार्फत दुवै परिवारबीच विवाहको कुरा चलिरहेको जानकारी पाएपछि आफूले ममतालाई सन्देश पठाएको उनको भनाइ थियो । दुवैले पारिवारिक पृष्ठभूमि र विवाहबारे कुराकानी गरेको एकदेखि दुई साताभित्रै विवाह गर्ने निर्णयमा पुगेको उनले बताए ।

परिवारमा सदस्यको मृत्यु भएपछि सुरुमा तय भएको विवाहको मिति सारिएको र त्यसको एक वर्ष नपुग्दै विवाह भएको उनको बयान छ । विवाहपछि आफू पहिले अमेरिका फर्किएको र भिसा प्रक्रिया पूरा भएपछि ममता सन् २०२१ मा अमेरिका आएको उनले बताए । विवाहपछिका सुरुका दिन निकै सुखद रहेको नरेशको भनाइ थियो । घरायसी काममा आफूले किनमेल, सरसफाइ, लुगा धुने र घरका कागजी काम सम्हाल्ने गरेको तथा ममताले खाना पकाउने गरेको उनले बताए ।

ममताको जागिर, पढाइ र गाडी चलाउन सिक्ने प्रक्रियामा पनि आफूले सहयोग गरेको उनको दाबी थियो । छोरी जन्मिएपछि सम्बन्धमा बिग्रेको स्वीकार नरेशले छोरी जन्मिएपछि ममतासँगको सम्बन्धमा परिवर्तन आएको बताएका छन् । ममता गर्भवती हुँदा आफू निकै चिन्तित भएको र यसअघि दुईपटक गर्भ खेर गएको अनुभवले थप डर पैदा गरेको उनको भनाइ थियो ।

उनका अनुसार छोरी जन्मिएपछि ममता पहिलेझैँ सामान्य कुरामा हाँस्न छाडिन् । सानातिना विषयमा पनि रिसाउने र दुवैबीच मनमुटाव बढ्ने गरेको उनले बताए । बत्ती बाल्ने समय वा आफूले खोक्दा समेत ममता रिसाउने गरेको उदाहरण उनले अदालतमा दिएका थिए । ममताको मानसिक स्वास्थ्यमा समस्या हुन थालेको हुन सक्ने अहिले आफूलाई लागे पनि त्यसबेला गम्भीरतापूर्वक ध्यान नदिएको उनले स्वीकार गरे । आफूले ममताको व्यवहारमा आएको परिवर्तन बुझ्न नसकेको उनको भनाइ थियो ।

वैवाहिक विवादका क्रममा आफूले सम्बन्धविच्छेद गर्ने धम्की दिने र ममताले पनि आत्महत्याको धम्की दिने गरेको उनले बताए । तर आफूले कहिल्यै ममतामाथि शारीरिक हिंसा नगरेको दोहोर्‍याए । कहिलेकाहीँ नराम्रो तरिकाले बोल्ने र व्यंग्य गर्ने गरेको भने उनले स्वीकार गरेका छन् । अर्की युवतीसँग विवाहको सन्देशबारे स्पष्टीकरण अदालतमा नरेशको मोबाइलबाट प्राप्त सन्देशबारे पनि प्रश्न गरिएको थियो ।

ममता बेपत्ता हुनुअघि उनले अर्की युवतीसँग विवाह गर्ने विषयमा सन्देश पठाएको प्रमाण सरकारी पक्षले यसअघि प्रस्तुत गरेको थियो । प्रतिरक्षा वकिलले उक्त सन्देशबारे प्रश्न गर्दा नरेशले आफूले जिस्किएर त्यस्तो कुरा गरेको बताएका छन् । ममतामा ईर्ष्या उत्पन्न गराउन खोजेको उनको दाबी थियो । अमेरिकामा आएको सात–आठ वर्षको अवधिमा विवाहअघि वा पछि अन्य महिलासँग प्रेम सम्बन्ध नरहेको पनि उनले बताएका छन् ।

सरकारी पक्षले भने ती सन्देशलाई नरेशको वैवाहिक सम्बन्ध र सम्भावित उद्देश्यसँग जोडेर अदालतमा प्रस्तुत गरेको थियो । नरेशको बयान सरकारी पक्षले आफ्नो प्रमाण प्रस्तुत गर्ने काम सकेपछि सुरु भएको प्रतिरक्षा चरणको महत्त्वपूर्ण घटनाक्रम हो । सरकारी वकिलले नोभेम्बर २ मा आफ्नो पक्षका साक्षी र प्रमाण प्रस्तुत गर्ने काम सकेका थिए । सरकारी पक्षले यसअघि घरको बेडरुम र बाथरुममा भेटिएको रगत, डीएनए परीक्षण, मोबाइल तथा गुगल खोजी विवरण, सीसीटीभी फुटेज र परिवारका सदस्य तथा साथीहरूको बयानलाई हत्याको प्रमाणका रूपमा प्रस्तुत गरेको थियो ।ममताको शव भने अहिलेसम्म फेला परेको छैन । प्रतिरक्षा पक्षले सरकारी प्रमाणको विश्वसनीयता, डीएनए परीक्षण र अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाउँदै आएको छ ।

नेपाली भाषामा भएका संवादको अनुवाद र तिनको सन्दर्भमाथि पनि प्रश्न गरिएको छ । नरेशमाथि पहिलो डिग्री हत्या, शव लुकाएको र शवको अपमान गरेको गरी तीन अभियोग छन् । उनले सबै आरोप अस्वीकार गरेका छन् । नोभेम्बर ४ को सुनुवाइमा प्रतिरक्षा पक्षले नरेशसँग प्रश्नोत्तर गरेको थियो । त्यस दिन सार्वजनिक भएका रिपोर्टअनुसार सरकारी वकिलको जिरह सुरु भएको थिएन । त्यसैले अबको सुनुवाइमा नरेशले आफ्नो बयानमा गरेका दाबीलाई सरकारी पक्षले कसरी चुनौती दिन्छ भन्ने विषय मुद्दाको महत्त्वपूर्ण पक्ष बनेको छ ।

laxmi recruitement

सम्बन्धित खबर