
रौतहट : रौतहट प्रहरीले स्रोत नखुलेको ठुलो परिमाणको नगद रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । भारतबाट मोटरसाइकलमा लुकाएर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ३० लाख रुपैयाँ र गौरस्थित एक व्यापारिक प्रतिष्ठानमा गरिएको खानतलासीका क्रममा थप १४ लाख ६४ हजार रुपैयाँभन्दा बढी बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका बुधबार दिउँसो रौतहटको ईशनाथ नगरपालिका–४ महुलियास्थित काली मन्दिर नजिक भारतबाट मठिया–महुलियातर्फ आउने सडकखण्डमा नियमित चेकजाँच भइरहेको थियो । सोही क्रममा प्रहरी चौकी मठिया महुलियाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई रोकी जाँच गर्दा उक्त तथ्य खुल्न आएको हो । जाँचका क्रममा मोटरसाइकल चालकको साथबाट स्रोत नखुलेको नगद ३० लाख रुपैयाँ फेला परेको थियो ।
पक्राउ पर्ने मोटरसाइकल चालक भारतको बिहार राज्य पूर्वी चम्पारण जिल्ला फुलबरिया ग्राम वडा नं. १३ निवासी करिब ३० वर्षीय सनि कुमार जैसवाल रहेका छन् । उनले झोलामा तथा मोटरसाइकलको इन्धन ट्यांकीमुनि विशेष किसिमको फल्स बटम बनाई उक्त रकम कसैको नजर नपर्ने गरी ल्याउँदै गरेका थिए ।

प्रहरीले नगद रकम प्रयोग गरिएको मोटरसाइकल र एक थान स्मार्ट मोबाइलसहित जैसवाललाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाएको थियो ।
जिल्ला प्रहरी कार्यालयमा गरिएको प्रारम्भिक सोधपुछका क्रममा उक्त रकम गौर नगरपालिका–१ स्थित न्यु तराई ट्रेडर्सका सञ्चालकलाई बुझाउन ल्याइएको खुल्न आएको थियो । सोही बयानको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक जीवनकुमार मैनालीको कमाण्डमा खटिएको विशेष टोलीले गौरस्थित उक्त व्यापारिक प्रतिष्ठानमा छापा मारेको थियो ।
खानतलासीका क्रममा प्रतिष्ठानबाट थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद गरिएको छ । उक्त रकमसहित प्रतिष्ठानका सञ्चालक भारत बिहारको पूर्वी चम्पारण फुलबरिया बस्ने करिब ५१ वर्षीय शेख कमरुललाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस कारबाहीमार्फत प्रहरीले सीमा नाकाबाट ल्याइएको ३० लाख र व्यापारिक प्रतिष्ठानबाट बरामद भएको १४ लाख ६४ हजार ६०५ रुपैयाँ गरी कुल ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगद बरामद गरेको छ ।