
कैलाली : कैलालीको लम्कीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले ३१औं वार्षिकोत्सवको अवसर पारेर रसुवाको बाढीमा परी बेपत्ता भएका अभिभावकका सन्ततीलाइ खाद्यान्न सहयोग गरेको छ।
सहकारीको टीकापुर शाखाले आफ्नो वार्षिकोत्सवको अवसरमा रसुवाको बाढीमा परी बेपत्ता भएका मनीऋषि सन्ज्यालका छोराछोरीलाइ खाद्यान्न र सरसामाग्री सहयोग गरेको हो ।
गत भदौमा रसुवाको भोटेकोशीमा अएको बाढीमा परी मनीऋषि सन्ज्याल, उनकी पत्नी मनकला सन्ज्याल र छोरी सुस्मिता सन्ज्याल बेपत्ता भएका छन् । अभिभावक बेपत्ता भएपछि बेसाहारा बनेका चार बालबालिकालाई सहकारीले खाद्यान्न र अन्य उपभोग्य सरसामाग्री सहयोग गरेको सहकारीका शाखा प्रमूख दुर्गाप्रसाद उपाध्यायले बताए ।
'बाढीमा परी परिवारका तीन सदस्य बेपत्ता भएपछि चार जना बालबालिका सहाराविहीन बनेका छन्,' शाखा प्रमुख उपाध्रयायले भने, 'यस्तो दुःखद् परिस्थितिमा संस्थाले खाद्दान्न र उपभोग्य सामाग्री दिएको हो, बालबालिकालाई केही राहत पुग्ने अपेक्षा गरेका छौं ।'
अभिभावकहरू बेपत्ता भएपछि बेसहारा हुनेमा १८ वर्षीय छोरी नमुना सन्ज्याल, १६ वर्षीय भाइ देवेन्द्र सन्ज्याल, १३ वर्षकी प्रतीक्षा सञ्जाल र ११ वर्षको अनिल सन्ज्याल रहेका छन् ।
तीन वर्षअघि सन्तानको शिक्षा दीक्षाका लागि बाजुराबाट टीकापुर आएको सन्ज्याल परिवार यहाँ भाडामा बस्दै आएको थियो । परिवारको गुजारा चलाउन मनीऋषि, उनकी पत्नी र १ छोरी रसुवाको एउटा हाइड्रोपावरमा काम गर्थे ।
सन्ज्याल परिवारको बसाइसराइ नभएका कारण स्थानीय तहले कुनै राहत दिन सकेको छैन । राष्ट्रिय मानव अधिकार आयोगको टोली निरीक्षण गरेर गएको बालबालिकाले बताएका छन् । छोरी नमुना भन्छिन्, 'आमाबुबा र दिदी बेपत्ता भएपछि अब भाइबहिनीको हेरचाह गर्ने दायित्व मेरो जिम्मेवारी हो, जसोतसो उनिहरूको लालनपालनका भइ राखेको छ ।'
संस्थाका ४० वटै शाखाहरूले आफ्नो ३१औं वार्षिकोत्सवको अवसरमा समुदाय स्तरमा विभन्न सामाजिक क्रियाकलापहरू गरेको संस्थाका महाप्रबन्धक डम्बरबहादुर शाहले बताएका छन् ।
वि.सं. २०५२ साल कात्तिक १७ गते स्थापना भएको सहकारी संस्थाले सुदूरपश्रचिम प्रदेश र लुम्बीनी प्रदेशको राजापुर नगरपालिकामा कार्यक्षेत्रमा रहेका ७५ हजार सदस्यलाई वित्तीय तथा गैरवित्तीय सेवाहरू प्रदान गर्दै अएको छ । संस्थाले वित्तीय सेवासँगै कृषि उत्पादन, बजारीकरण, कृषि बिज प्रशोधन, माटो परीक्षण एवं सहकारी पसलमार्फत सेवा दिँदै अएको छ ।