
इटहरी : किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३१औं स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्थापना दिवसका अवसरमा संस्थाले सहकारी, सञ्चार, कृषि, शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्ति, सदस्य, कर्मचारी र संस्थाहरूलाई २३ विधामा नगद पुरस्कारसहित सम्मान तथा पुरस्कृत गरेको छ ।
संस्थाका अध्यक्ष शालिकराम ढकालको अध्यक्षता तथा नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेड (नेफ्स्कुन)का अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न विधामा १०० जनाभन्दा बढी सदस्य, कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरू सम्मानित एवं पुरस्कृत भएका थिए ।
स्थापना दिवसकै अवसरमा कृषकले उत्पादन गरेका कृषि उपज तथा सामग्रीहरूको प्रदर्शनीसमेत आयोजना गरिएको थियो। प्रदर्शनीमार्फत स्थानीय उत्पादन, कृषकको सीप, श्रम र उद्यमशीलतालाई प्रोत्साहन गर्नुका साथै कृषि क्षेत्रका सम्भावना र उत्पादनको बजारीकरणबारे समेत जानकारी गराइएको थियो ।
कार्यक्रममा पूर्व क्षितिज प्रकाशन प्रा.लि.द्वारा सञ्चालित ब्लास्ट टाइम्स राष्ट्रिय दैनिकका सञ्चालक सुनील अधिकारीलाई युवा सञ्चार उद्यमीका रूपमा नगदसहित सम्मान गरिएको छ । लामो समयदेखि सञ्चार क्षेत्रमा क्रियाशील अधिकारीले मिडिया उद्यममार्फत समाज, समुदाय र राष्ट्रप्रतिको दायित्व निर्वाह गर्दै आएको योगदानको कदरस्वरूप उनलाई सम्मान गरिएको हो ।
किसान कल्याण सहकारी संस्था र ब्लास्ट टाइम्स राष्ट्रिय दैनिकको व्यावसायिक यात्रा पनि लगभग एउटै कालखण्डमा प्रारम्भ भएको संयोग छ । समान समयावधिमा स्थापना भएका दुवै संस्थाले आ–आफ्नो क्षेत्रमा संस्थागत पहिचान र विश्वास स्थापित गर्दै अघि बढिरहेको सन्दर्भमा अधिकारीलाई प्रदान गरिएको सम्मानलाई थप अर्थपूर्ण रूपमा हेरिएको छ ।
त्यसैगरी, आर्थिक वर्ष २०८२/०८३ को कार्यसम्पादन मूल्यांकनका आधारमा उत्कृष्ट कर्मचारी पुरस्कारबाट रमेश खतिवडा, दीक्षा भट्टराई र कमला भण्डारी सम्मानित भएका छन् । संस्थाको सेवा प्रवाह, कार्यसम्पादन र संस्थागत विकासमा पुर्याएको योगदानको मूल्यांकन गर्दै उनीहरूलाई पुरस्कृत गरिएको हो ।
सहकारी अभियानमा उल्लेखनीय योगदान पुर्याएबापत ताराबहादुर काफ्लेलाई सहकारी अभियन्ता सम्मान प्रदान गरिएको छ । त्यस्तै, उत्कृष्ट सेवाकेन्द्रका रूपमा राजाबास सेवाकेन्द्र, उत्कृष्ट लघुवित्त केन्द्रका रूपमा मणिपुर केन्द्र र पञ्चायन केन्द्र (जिम्मेवारी : रमित कार्की) सम्मानित भएका छन् । रामधुनी नगरपालिका–६, सुनसरीस्थित तेह्र बालबालिका आधारभूत विद्यालयलाई उत्कृष्ट विद्यालयका रूपमा पुरस्कृत गरिएको छ ।
समारोहमा संस्थाका अध्यक्ष शालिकराम ढकालले स्थापना दिवसको शुभकामना व्यक्त गर्दै संस्थाको ३१ वर्षे यात्रामा योगदान पुर्याउने संस्थापक, सदस्य, सञ्चालक, कर्मचारी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरे ।
त्यसैगरी, संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै संस्थाको विकास र विस्तारमा योगदान पुर्याउने सम्पूर्ण सदस्य, कर्मचारी तथा सरोकारवालाप्रति धन्यवाद ज्ञापन गरे ।
तीन दशकभन्दा लामो यात्रामा किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरूको आर्थिक तथा सामाजिक रूपान्तरण, बचत संस्कृतिको विकास, वित्तीय पहुँच विस्तार र उद्यमशीलता प्रवद्र्धनमा काम गर्दै आएको छ ।