
काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले पहिलो जित हात पारेको छ । आन्द्रे रसेलको आक्रामक ब्याटिङ, प्रभावशाली बलिङ र उत्कृष्ट फिल्डिङको मद्दतमा विराटनगरले पहिलो जित निकालेको हो । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पाँच ओभरको खेलमा विराटनगरले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको हो ।
विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा तीन विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो । यससँगै लगातार दुई खेलमा पराजय व्यहोरेको विराटनगरले तेस्रो खेलमा आएर जितको खाता खोलेको छ । जितसँगै विराटनगरले दुई अंकसमेत जोडेको छ ।
विराटनगरको जितमा वेस्ट इन्डिजका आक्रामक खेलाडी आन्द्रे रसेलले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा प्रभाव छाडे । उनले १० बलमा दुई चौका र तीन छक्काको मद्दतमा अविजित २९ रन बनाए । बलिङतर्फ दुई ओभरमा आठ रन खर्चेर एक विकेट लिएका रसेलले फिल्डिङमा एक क्याचसमेत लिए ।
लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमको सुरुवात निकै खराब रह्यो । पहिलो बलमै रसेलले सेरफाने रदरफोर्डलाई शून्यमा बोल्ड गरेपछि विराटनगरले पहिलो सफलता पायो । दोस्रो ओभरमा कप्तान दीपेन्द्रसिंह ऐरी पनि एक रनमा आउट भएपछि सुदूरपश्चिम सात रनमै दुई विकेट गुमाउने अवस्थामा पुग्यो ।
त्यसपछि सेफ जेबले आक्रामक ब्याटिङ गर्दै टोलीलाई सम्हाल्ने प्रयास गरे पनि जितका लागि पर्याप्त हुन सकेन । उनले १० बलमा दुई छक्कासहित १७ रन बनाए। रुपेश सिंहको बलमा उनी क्याच आउट भए । आरिफ शेखले अविजित १७ तथा स्कट कुगेलेइनले अविजित २८ रन जोडे ।
विराटनगरका लागि रसेलबाहेक एन्जेलो म्याथ्युजले पनि एक विकेट लिए । उनले एक ओभरमा १५ रन खर्चिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले पाँच ओभरमा दुई विकेट गुमाएर १०५ रनको विशाल योगफल तयार पारेको थियो । ओपनर सेहान जयसूर्याले ११ बलमा दुई चौका र पाँच छक्कासहित ३९ रन बनाए ।
अर्का ओपनर लोकेश बमले १० बलमा एक चौका र तीन छक्काको मद्दतमा २५ रन जोडे । रसेलले पनि आक्रामक ब्याटिङलाई निरन्तरता दिँदै अविजित २९ रन बनाएपछि विराटनगरले पाँच ओभरमै सय रनको आँकडा पार गरेको थियो । सुदूरपश्चिमका लागि अभिनाश बोहराले दुई ओभरमा २८ रन खर्चेर एक विकेट लिए ।
वर्षाका कारण मैदानमा पानी जम्दा विराटनगर र सुदूरपश्चिमबीचको खेल निर्धारित समयभन्दा निकै ढिलो सुरु भएको थियो। शनिबार साँझ पाँच बजेका लागि तय भएको खेल मैदान सुकाउन समय लागेपछि साँझ ७ः४१ बजे सुरु गर्ने तालिका बनाइएको थियो ।
तर टसकै समयमा दुवै टोलीबीच सहमति जुट्न नसक्दा खेल थप लम्बिएको थियो । विराटनगरका कप्तान सन्दीप लामिछाने टसका लागि मैदान पुगे पनि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी उपस्थित भएका थिएनन् । त्यसपछि क्यानका सचिव तथा एनपीएल गभर्निङ काउन्सिलका संयोजक पारस खड्का, म्याच रेफ्री र सम्बन्धित पक्षबीच छलफल भएको थियो ।
लामो अन्योलपछि राति करिब ८ः५४ बजे सुदूरपश्चिमका खेलाडी खेल्न तयार भएका थिए । त्यसपछि राति नौ बजे टस गर्ने र ९ः१५ बजे खेल सुरु गर्ने तालिका बनाइएको थियो ।