
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को सातदोबाटोस्थित केन्द्रीय कार्यालयको ताला वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा खोलिएको छ ।
अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईको अनुपस्थितिमा खड्कासहित कार्यसमितिका नौ जना पदाधिकारी तथा सदस्यले कार्यालयको ताला खोलेका हुन् ।
कार्यालयको ताला खोलेपछि वरिष्ठ उपाध्यक्ष खड्काको नेतृत्वमा बसेको छलफलले आगामी शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको छ । नेपाली फुटबलमा देखिएको संकट समाधान गर्दै एन्फालाई निकास दिन बैठक आह्वान गरिएको खड्काले बताएका छन् ।
छलफलमा खड्कासहित उपाध्यक्षत्रय विराटजंग शाही, दीपक खतिवडा र कुमार केसी तथा सदस्यहरू रुपेश अधिकारी, टीका लामा, भरत बुढाथोकी, महेन्द्र क्षेत्री र मनिष जोशी सहभागी थिए ।
खड्काका अनुसार आगामी बैठकमा एन्फाको तहगत निर्वाचन र अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले लगाएको निलम्बन मुख्य एजेन्डाका रूपमा रहनेछन् । आफूहरूले अग्रिम निर्वाचनको माग गर्दै आए पनि अध्यक्ष र महासचिवले केन्द्रीय निर्वाचनमा मात्रै ध्यान दिँदा एन्फा अहिलेको अवस्थामा पुगेको उनको आरोप छ ।
छलफलमा सहभागी पदाधिकारी तथा सदस्यहरूले अध्यक्ष नेम्बाङ र महासचिव राईको एकलौटी कार्यशैलीका कारण संघमा समस्या उत्पन्न भएको आरोपसमेत लगाएका छन् । उनीहरूले अध्यक्ष र महासचिव उपस्थित नभए पनि एन्फाको विधानअनुसार बैठक बसेर आवश्यक निर्णय लिने विषयमा छलफल गरेका छन् ।
एन्फाको विधानको धारा ३१(२) अनुसार कार्यसमितिका एक तिहाइ वा सोभन्दा बढी सदस्यले लिखित रूपमा माग गरेमा कार्यसमिति बैठक बोलाउनुपर्ने व्यवस्था छ। सोही व्यवस्थालाई आधार बनाउँदै बहुमत सदस्यले करिब २२ दिनअघि बैठक आह्वान गर्न माग गरेका थिए । तर, अध्यक्ष नेम्बाङले निर्धारित अवधिमा बैठक नबोलाएपछि वरिष्ठ उपाध्यक्ष खड्का पक्षले आफैँ बैठक बोलाउने निर्णय गरेको हो ।
बुधबारको छलफलले आगामी बैठकबाट हुने निर्णयबारे राष्ट्रिय खेलकुद परिषद् (राखेप) र शिक्षा तथा खेलकुद मन्त्रालयलाई जानकारी गराउने निर्णयसमेत गरेको छ । बैठकपछि आवश्यकताअनुसार एसियाली फुटबल महासंघ (एएफसी) र फिफालाई पनि पत्राचार गर्ने तयारी गरिएको खड्का पक्षले जनाएको छ । उनीहरूले शुक्रबारको बैठकमा सहभागी हुन कार्यसमितिका सबै सदस्यलाई आग्रह गरेका छन् ।
यसैबीच, एन्फा नेतृत्वमाथि कानुनी संकटसमेत बढेको छ। खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धानका आधारमा ललितपुर जिल्ला सरकारी वकिल कार्यालयले अध्यक्ष नेम्बाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेविरुद्ध मुद्दा दायर गरेको छ ।
उक्त मुद्दामा कोषाध्यक्ष जोशी र लेखापाल पाण्डे धरौटीमा रिहा भइसकेका छन् भने अध्यक्ष नेम्बाङ र महासचिव राई अदालतमा उपस्थित भएका छन् । उनीहरूको बयान सकिएको र थुनछेक बहस हुने जिल्ला अदालत ललितपुरले जनाएको छ ।
तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत जुन २४ देखि एन्फालाई निलम्बन गरेको छ । निलम्बनका कारण नेपाली फुटबलको अन्तर्राष्ट्रिय सहभागितासमेत प्रभावित भएको अवस्थामा एन्फाभित्रको नेतृत्व विवाद र निर्वाचनको विषय थप पेचिलो बनेको छ ।
शुक्रबारका लागि बोलाइएको कार्यसमिति बैठकले एन्फाको आन्तरिक विवाद समाधान, निर्वाचन प्रक्रिया र फिफाको निलम्बन फुकुवाका लागि आवश्यक पहल गर्ने विषयमा कस्तो निर्णय लिन्छ भन्ने चासो बढेको छ ।