
काठमाडौँ : बझाङको केदारस्युँ गाउँपालिका-७, भानचौरमा बुधबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
भानचौरबाट काँडाचौरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ च ४३७६ नम्बरको जिप बिहान करिब ९ बजेर १० मिनेटमा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार ब्रेक फेल भएपछि जिप सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।
दुर्घटनामा केदारस्युँ गाउँपालिका-७, काँडाचौरकी अन्दाजी २७ वर्षीया पविता धामी र सोही स्थानका ४० वर्षीय गोपाल धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा केदारस्युँ गाउँपालिका-७ का ४५ वर्षीय प्रमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी र २२ वर्षीया रेखा धामी रहेका छन् ।
त्यसैगरी, दुर्गाथली गाउँपालिका-६ की ४२ वर्षीया शारदा धामी जाग्री र सोही स्थानका ४२ वर्षीय रामकुमार धामी पनि दुर्घटनामा घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको जिपमा सवार यात्रुहरूको विवरण संकलन भइरहेको छ । दुर्घटनाको कारण तथा अन्य परिस्थितिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।