२०८३ कार्तिक १८ गते बुधवार / Nov 04 , 2026 , Wednesday
२०८३ कार्तिक १८ गते बुधवार

रोल्पा जलजला सेवा समाज कतारद्वारा बाढी-पहिरोपीडितलाई दुई लाख ८६ हजार सहयोग

Nada
तिलु शर्मा पौडेल
२०८३ कार्तिक १८ गते १३:२५
Shares
रोल्पा जलजला सेवा समाज कतारद्वारा बाढी-पहिरोपीडितलाई दुई लाख ८६ हजार सहयोग

दोहा, कतार : रोल्पा जलजला सेवा समाज कतारले रोल्पा र रसुवाका बाढी पहिरो तथा प्राकृतिक विपद् पीडितलाई राहत स्वरूप दुई लाख ८६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । समाजले रोल्पा जिल्लाको थबाङ गाउँपालिका–५ कोतलबारा, गङ्गादेव गाउँपालिका–७ तिमले तथा लुङ्ग्री गाउँपालिका–५ लगायतका बाढी पहिरो प्रभावित क्षेत्रका नागरिकलाई सहयोग उपलब्ध गराएको हो । त्यस्तै, रसुवा जिल्लाको बेत्रावती क्षेत्रका बाढी पीडित परिवारलाई समेत राहत रकम हस्तान्तरण गरिएको समाजले जनाएको छ ।

कतारमा संकलन गरिएको उक्त रकम सम्बन्धित पीडितसम्म पुर्‍याउन समाजका पूर्व अध्यक्ष तथा सदस्यहरू सहित सम्बन्धित वडाका पदाधिकारीमार्फत र कतिपय स्थानमा कतारमा रहेका पीडित परिवारका आफन्तमार्फत रकम हस्तान्तरण गरिएको हो । समाजका महासचिव गंगा बुढा मगरका अनुसार विपद्का कारण घरबार तथा सम्पत्तिमा क्षति व्यहोरेका परिवारलाई तत्कालीन राहत पुगोस् भन्ने उद्देश्यले मानवीय सहयोग अभियान सञ्चालन गरिएको हो ।

अभियान सफल बनाउन सहयोग तथा समन्वय गर्ने लुम्बिनी प्रदेशका अध्यक्ष, प्रदेशअन्तर्गतका जिल्ला संस्थाहरू, तिनका अध्यक्ष, पदाधिकारी, सदस्य तथा कतारमा रहेका सहयोगीहरूप्रति संस्थागत रूपमा समाजका अध्यक्ष बलराम जैसीले आभार व्यक्त गरेका छन् । विदेशमा रहेर पनि जन्मभूमि र देशका नागरिकप्रतिको सामाजिक दायित्व पूरा गर्ने उद्देश्यले सहयोग अभियान सञ्चालन गरिएको उल्लेख गर्दै समाजले आगामी दिनमा पनि मानवीय तथा परोपकारी गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

सेवा नै धर्म र मानवता नै सबैभन्दा ठुलो सम्पत्ति भन्ने मान्यतासहित समाजले विपद्मा परेका नागरिकलाई सहयोग गर्ने अभियानलाई आफ्नो सामाजिक उत्तरदायित्वका रूपमा अघि बढाएको जनाएको छ ।
 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर