
दोहा, कतार : गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने भएको छ । ‘सहयात्रा’ अवधारणासहित ‘सुरक्षित श्रम आप्रवासन, समृद्ध भविष्य, एनआरएनएको अभियान’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको सम्मेलनमा मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका अधिकार, सुरक्षा, सामाजिक संरक्षण र आर्थिक अवसरका विषयलाई प्राथमिकताका साथ उठाइने भएको छ ।
सम्मेलनको तयारी, उद्देश्य र प्राथमिकताबारे जानकारी गराउन शनिवार दोहामा आयोजित प्रारम्भिक पत्रकार सम्मेलनमा मध्यपूर्व संयोजक तथा मूल आयोजक समितिका संयोजक रमेश श्रेष्ठले सम्मेलनलाई मध्यपूर्वमा रहेका नेपाली श्रमिकको साझा आवाज मुखरित गर्ने मञ्चका रूपमा विकास गरिने बताए l भौतिक तथा भर्चुअल माध्यमबाट आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा सहज रूपमा आबद्ध गराउने, न्यूनतम पारिश्रमिक सुनिश्चित गर्ने, वैधानिक माध्यमबाट रेमिट्यान्स प्रवाह बढाउने तथा प्रवासमा आर्जित सीप, प्रविधि र पुँजीलाई नेपालको उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने विषय सम्मेलनका प्रमुख एजेन्डा हुने जानकारी दिए ।
सम्मेलनमा प्रवासमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्ने, विदेशमा अलपत्र परेका, कानुनी समस्यामा परेका तथा ब्लड मनी तिर्नुपर्ने अवस्थामा रहेका नेपालीको उद्धार र सहयोगका लागि प्रभावकारी संयन्त्र निर्माण गर्ने विषयसमेत उठाइने आयोजकले जनाएको छ । मध्यपूर्वका नेपाली दूतावासमा कानुनी सहायता उपलब्ध गराउन नेपाल सरकारका तर्फबाट वकिलको व्यवस्था गर्नुपर्ने विषयलाई पनि प्राथमिकताका साथ छलफलमा ल्याइने बताइएको छ ।

सम्मेलनको ब्यानरमा समेटिएको ‘सहयात्रा’ अवधारणाबारे स्पष्ट पार्दै संयोजक श्रेष्ठले एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी), राष्ट्रिय समन्वय परिषद् (एनसिसी), मध्यपूर्वमा क्रियाशील सामाजिक संघ-संस्था, श्रमिक, उद्यमी तथा अन्य सरोकारवालाबिच आपसी समझदारी र सहकार्य स्थापित गर्नु यसको मुख्य उद्देश्य रहेको बताए l उनका अनुसार सम्मेलन कुनै एउटा संस्था वा नेतृत्वको अभियानमा सीमित नभई मध्यपूर्वमा रहेका नेपाली समुदायका साझा सवाल सम्बोधन गर्ने सामूहिक प्रयास हो ।
आयोजकका अनुसार सम्मेलन रेडिसन ब्लु होटेलमा आयोजना हुनेछ । सम्मेलनका लागि करिब दुई लाख ५० हजार कतारी रियाल बजेट अनुमान गरिएको छ । होटेल व्यवस्थापन, अतिथि सत्कार, खाना, यातायात तथा सञ्चार व्यवस्थापनलगायत शीर्षकमा उक्त रकम खर्च हुने जनाइएको छ । नेपाल सरकारका मन्त्री तथा उच्च अधिकारी, एनआरएनएका केन्द्रीय तथा क्षेत्रीय पदाधिकारी, मध्यपूर्वका विभिन्न देशका प्रतिनिधि र सञ्चारकर्मीसहित करिब चार सय जनाको सहभागिता रहने अपेक्षा गरिएको छ ।
एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीले सम्मेलन सफल बनाउन कतारमा क्रियाशील सम्पूर्ण नेपाली संघ-संस्थासँग सहकार्य र समन्वय गरिने बताए l उनले सम्मेलनलाई संस्थागत कार्यक्रमका रूपमा मात्र नभई समग्र नेपाली समुदायको साझा अभियानका रूपमा अघि बढाउन सबै पक्षको सहभागिता आवश्यक रहेको धारणा राखे l पत्रकार सम्मेलनमा एनआरएनए आइसिसीका अध्यक्ष डा. हेमराज शर्मा, उपाध्यक्ष बुद्धि सुवेदी, पूर्व अध्यक्ष आरके शर्मालगायत पदाधिकारीले सम्बोधन गर्दै मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका समस्या समाधान र उनीहरूको योगदानको सम्मानका लागि संस्थागत पहल आवश्यक रहेको धारणा राखे l उनीहरूले सम्मेलनबाट प्राप्त हुने सुझाव तथा निष्कर्षलाई कार्यान्वयनमा लैजान केन्द्रको सहयोग र ऐक्यबद्धता रहने प्रतिबद्धता व्यक्त गरेका थिए l
कार्यक्रममा मध्यपूर्व सदस्य सचिव वासुदेव सापकोटाले भर्चुअल माध्यमबाट सहजीकरण गरेका थिए भने प्रत्यक्ष कार्यक्रम सञ्चालन एनसिसी कतारका सचिव शंकर राईले गरेका थिए l कार्यक्रममा मध्यपूर्व उपसंयोजक तथा मिडिया व्यवस्थापन समितिका संयोजक करिम बक्स मियाँले सञ्चारमाध्यमको सहभागिता, समन्वय र प्रचारप्रसारसम्बन्धी जिज्ञासाको जवाफ दिएका थिए l
पत्रकारहरूले विगतका मध्यपूर्व क्षेत्रीय सम्मेलनका उपलब्धि, निर्णय कार्यान्वयनको अवस्था, प्रस्तावित कार्यक्रमको पारदर्शिता र श्रमिकका मुद्दा सम्बोधन गर्ने व्यावहारिक योजनाबारे प्रश्न उठाएका थिए । विगतका सम्मेलनबाट भएका उपलब्धिको समीक्षा गर्दै यस पटकको सम्मेलनलाई परिणाममुखी बनाउनुपर्ने सुझावसमेत उनीहरूले दिएका थिए । आयोजकले सम्मेलनलाई व्यवस्थित, पारदर्शी र श्रमिक केन्द्रित बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो ।
कतारमा क्रियाशील विभिन्न वैचारिक, जातीय, क्षेत्रीय, सांस्कृतिक तथा सामाजिक संघ-संस्थाका प्रतिनिधि, आइसिसीका पदाधिकारी, सल्लाहकार, विभिन्न समिति तथा उपसमितिका प्रतिनिधि, सामाजिक अभियन्ता र सञ्चारकर्मीको प्रत्यक्ष तथा भर्चुअल सहभागिता रहेको पत्रकार सम्मेलनमा सहभागी संस्थाका प्रतिनिधिहरूले सम्मेलन सफल बनाउन सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।
सम्मेलनको समापनमा मध्यपूर्वमा रहेका नेपाली श्रमिकका साझा समस्या, अधिकार र सरोकारका विषय समेटेर घोषणापत्र जारी गरिने आयोजकले जनाएको छ । घोषणापत्र नेपाल सरकार तथा सम्बन्धित निकायमा बुझाइनेछ । साथै, सम्मेलनअघि विभिन्न देश, संघ-संस्था, श्रमिक र सरोकारवालाबाट सुझाव संकलन गरी एजेन्डालाई थप परिष्कृत गरिने जनाइएको छ ।