
क्वालालम्पुर : मलेसियाको राजधानी क्वालालम्पुरस्थित जालान अम्पाङ क्षेत्रमा रहेको एक होटलको पेन्टहाउसमा सञ्चालन भइरहेको भनिएको ‘मिनी क्यासिनो’ मा प्रहरीले छापा मार्दा एक नेपालीसहित १६ जना विदेशी नागरिक पक्राउ परेका छन् ।
मलेसियाली सञ्चारमाध्यम मलय मेलका अनुसार शनिबार बिहान १ बजेर ५० मिनेटमा प्रहरीले उक्त होटलको पेन्टहाउसमा छापा मारेको थियो ।
क्वालालम्पुर प्रहरी प्रमुख फादिल मार्सुसले प्रारम्भिक अनुसन्धानका क्रममा उक्त पेन्टहाउस नजिकका परिचित व्यक्तिहरूका लागि मात्र खुला रहने गरी मिनी क्यासिनोका रूपमा प्रयोग भइरहेको पाइएको बताएका छन् । उनका अनुसार त्यहाँ चिनियाँ नागरिकहरू मात्र सहभागी हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले पक्राउ गरेका १६ जनामध्ये १५ जना चिनियाँ नागरिक रहेका छन्, जसमा एक महिला पनि छन् । पक्राउ पर्नेमा एक नेपाली नागरिकसमेत रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैको उमेर २६ देखि ५० वर्षसम्म रहेको छ ।
छापा मार्ने क्रममा प्रहरीले कुल ५ हजार १८० रिंगेट मूल्यका २१४ वटा पोकर चिप्स र १ हजार रिंगेट नगद बरामद गरेको छ ।
प्रहरीका अनुसार घटनाबारे अध्यागमन ऐन, साझा जुवा घर ऐन तथा सार्वजनिक सेवकको काममा अवरोध पुर्याएको कसुरमा फौजदारी संहिताको धारा १८६ अन्तर्गत अनुसन्धान भइरहेको छ ।
पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति माग्दै शनिबार नै मजिस्ट्रेट अदालतमा उपस्थित गराउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
मलेसियामा अवैध जुवा तथा अनुमति बिना सञ्चालन हुने गतिविधिमाथि प्रहरीले निगरानी र कारबाही जारी राखेको छ ।