२०८३ कार्तिक १८ गते बुधवार / Nov 04 , 2026 , Wednesday
२०८३ कार्तिक १८ गते बुधवार

नवौं एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी तीव्र, साझेदार र प्रायोजक थपिँदै

Nada
तिलु शर्मा पौडेल
२०८३ कार्तिक १८ गते १३:२७
Shares
नवौं एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी तीव्र, साझेदार र प्रायोजक थपिँदै

दोहा, कतार : गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा आगामी डिसेम्बर ११ र १२ मा कतारको राजधानी दोहामा हुने नवौं एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी तीव्र पारिएको छ । सम्मेलनका लागि विभिन्न तहका पदाधिकारी, व्यवसायी तथा संस्थाहरू साझेदार र प्रायोजकका रूपमा जोडिने क्रम बढेको आयोजकले जनाएको छ ।

‘सुरक्षित श्रम आप्रवासन, समृद्ध भविष्य, एनआरएनएको अभियान’ भन्ने मूल नारासहित आयोजना हुन लागेको सम्मेलनमा मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका अधिकार, सुरक्षित वैदेशिक रोजगारी, सामाजिक सुरक्षा तथा प्रवासी नेपालीका साझा सरोकारका विषयमा छलफल हुनेछन् ।

सम्मेलनको आयोजनामा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष रोविन शेरचन इभेन्ट पार्टनर, उपाध्यक्ष बुद्धि सागर सुवेदी को–इभेन्ट पार्टनर तथा अर्का उपाध्यक्ष खगेन्द्र न्यौपाने प्लाटिनम पार्टनरका रूपमा जोडिएका छन् । त्यसैगरी, अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपमहासचिव मोहम्मद मुक्तदा मुसलमान र मध्यपूर्व क्षेत्रीय संयोजक तथा जीसीडी ग्रुप अफ कम्पनीजका अध्यक्ष रमेश श्रेष्ठ प्लाटिनम प्रायोजकका रूपमा सहभागी भएका छन् ।

सम्मेलनलाई सहयोग गर्ने क्रममा स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रमा स्थापित काठमाडौं मेडिकल कलेज (केएमसी) र त्यसका प्रमुख एवं समाजसेवी डा. सुनिलकुमार शर्मा डायमन्ड पार्टनरका रूपमा जोडिएका छन् । यसै गरी, एनआरएनए मध्यपूर्वका उपक्षेत्रीय संयोजक पूर्ण पोखरिया र विकास शाही तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सह सदस्य तुलसीराम पाण्डे पनि डायमन्ड पार्टनरका रूपमा सहकार्यमा सहभागी भएका छन् ।

अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा उपक्षेत्रीय तहका पदाधिकारी, व्यवसायी र संस्थाहरूको सहभागिताले सम्मेलनको तयारीमा संस्थागत तथा आर्थिक सहकार्य थपिएको आयोजकको भनाइ छ । सम्मेलनलाई औपचारिक जमघटमा मात्र सीमित नराखी मध्यपूर्वमा रहेका नेपाली श्रमिकका समस्या र साझा सरोकार सम्बोधन गर्ने क्षेत्रीय मञ्चका रूपमा विकास गर्ने आयोजकको लक्ष्य छ । विशेष गरी श्रमिकका अधिकार, सुरक्षित आप्रवासन, सामाजिक सुरक्षा, श्रमिकको सम्मान र वैदेशिक रोजगारीका चुनौतीबारे छलफल गरी साझा धारणा र आगामी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ ।

सम्मेलनलाई व्यवस्थित, मर्यादित र उपलब्धिमूलक बनाउन विभिन्न देशका नेपाली समुदाय, संघसंस्था तथा सरोकारवालासँग समन्वय र सहकार्य भइरहेको आयोजकले जनाएको छ । प्रायोजक तथा साझेदार थपिने क्रम जारी रहेकाले सम्मेलनको तयारीमा थप उत्साह मिलेको आयोजकको भनाइ छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर