
काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा साबिक विजेता लुम्बिनी लायन्सले अपराजित यात्रालाई कायमै राखेको छ । बिहीबार पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गर्दै लुम्बिनीले अपराजित यात्रा कायमै राखेको हो ।
लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो ।
जनकपुरका लागि कप्तान हर्मित सिंहले २० बल खेल्दै ३ छक्काको सहयोगमा सर्वाधिक ३३ रन बनाए । आदित्य महताले २३ बलमा ४ चौकाको सहयोगमा अविजित ३० रन बनाए । सेफ हसनले २५ बलमा ४ चौकाको सहयोगमा २८ रन तथा ओपनर तृतराज दासले १८ बलमा १ चौकाको सहयोगमा १८ रन बनाए ।
परभेज हवसेन इमोन १, विशाल सुशिलङ ४, अनिल शाह १, जिमी निशम ९ रन बनाएर आउट भए ।
लुम्बिनीका लागि बलिङमा डार्सी सर्टले ३ विकेट लिए । तिलक भण्डारीले २ विकेट लिँदा रुबेन ट्रम्पलम्यान र शेर मल्लले १-१ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रनको योगफल बनाएको हो ।
लुम्बिनीको लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रनको योगदान दिए । उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै निरोशन डिक्वेलाले २७, दिलीप नाथले २५, आसिफ शेखले २१ तथा रुबेन ट्रम्पलम्यानले १५ रनको योगदान दिए ।
बलिङतर्फ जनकपुरका लागि विशाल सुस्लिङ र राहुल यादवले समान २-२ विकेट लिए । त्यस्तै ललित राजवंशी, हरमित सिंह र अभिषेक तिवारीले समान १-१ विकेट हात पारे ।