
क्वालालम्पुर : मलेसियाको अध्यागमन विभागले देशभर अवैध आप्रवासीविरुद्धको कारबाहीलाई थप तीव्र बनाएको छ । विभागले अक्टोबर १९ देखि ३० सम्म सञ्चालन गरेका विभिन्न ५५३ वटा अपरेसनका क्रममा ५ हजार ७०५ जनाको जाँच गरेको छ ।
जाँचका क्रममा अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा ३ हजार ४१० जना अवैध आप्रवासी र १०२ जना रोजगारदातालाई पक्राउ गरिएको मलेसिया अध्यागमन विभागले जनाएको छ ।
विभागका अनुसार सन् २०२६ जनवरी १ देखि अक्टोबर ३० सम्मको अवधिमा देशभर कुल ११ हजार ७५५ वटा अध्यागमनसम्बन्धी अपरेसन सञ्चालन गरिएको छ ।
उक्त अवधिमा १ लाख ५४ हजार ९४० जनाको जाँच गरिएकोमा ६९ हजार ७६० जना अवैध आप्रवासी पक्राउ परेका छन् । त्यस्तै, अवैध आप्रवासीलाई रोजगारी दिएको आरोपमा २ हजार ७७ जना रोजगारदातासमेत पक्राउ परेका छन् ।
यसै अवधिमा ४७ हजार ५५३ जना विदेशी नागरिकलाई आवश्यक प्रक्रिया पूरा गरी उनीहरूको मुलुकमा फिर्ता पठाइएको अध्यागमन विभागले जनाएको छ ।
अध्यागमन विभागले मलेसियाको प्रचलित अध्यागमन कानुन पालना गराउन निरन्तर, लक्षित र कडा रूपमा निगरानी तथा कारबाहीलाई अगाडि बढाइरहेको जनाएको छ ।
विभागले देशभर गैरकानुनी रूपमा बसोबास गर्ने, काम गर्ने तथा अध्यागमनसम्बन्धी नियम उल्लंघन गर्ने गतिविधि नियन्त्रण गर्न कारबाही जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
यसैबीच मलेसियामा अवैध आप्रवासीलाई गैरकानुनी गतिविधि सञ्चालन गर्न सहयोग गर्ने स्थानीय नागरिक, घरधनी तथा व्यवसाय सञ्चालकहरूमाथि समेत कडा कारबाही गरिने भएको छ ।
मलेसियाका उपप्रधानमन्त्री दातुक सेरी डा. अहमद जाहिद हमिदीले स्थानीय निकायबाट अनुमति वा व्यवसाय सञ्चालनको इजाजतपत्र नलिई विदेशी नागरिकलाई व्यवसाय सञ्चालन गर्न ठाउँ उपलब्ध गराउने व्यक्ति तथा जग्गा र भवनका मालिकमाथि पनि कानुनी कारबाही गरिने बताएका छन् ।
संसद्मा लिखित रूपमा दिइएको जवाफमा उनले स्थानीय निकायको अनुमति नलिई व्यवसाय सञ्चालन गर्ने सञ्चालक र त्यस्ता गतिविधिका लागि आफ्नो जग्गा वा भवन उपलब्ध गराउने घरधनी तथा जग्गाधनीसमेत कारबाहीको दायरामा आउने स्पष्ट पारेका हुन् ।
उपप्रधानमन्त्री जाहिदले सांसद दातुक मोहम्मद सुहैमी अब्दुल्लाहले लाङ्कावीमा सन् २०२१ देखि हुँदै आएका रोहिंग्या समुदायका अवैध प्रवेश, अवैध आप्रवासन तथा मानव तस्करी नियन्त्रणका उपायबारे सोधेको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।
उनका अनुसार राष्ट्रिय सुरक्षा परिषद्को आवागमन निर्देशन नम्बर १/२०२२ अन्तर्गत मलेसियाको समुद्री क्षेत्र तथा स्थलसीमा हुँदै अवैध रूपमा प्रवेश गर्न खोज्ने आप्रवासीमाथि निगरानी, अनुगमन र स्वदेश फिर्ता पठाउने प्रक्रिया समन्वयात्मक रूपमा सञ्चालन गरिँदै आएको छ ।
त्यसैगरी, सीमा सुरक्षा थप प्रभावकारी बनाउन कृत्रिम बुद्धिमत्ता (एआई), ड्रोन तथा आधुनिक निगरानी प्रणाली प्रयोग गर्ने काम भइरहेको छ । यससँगै परम्परागत भौतिक सुरक्षा संरचनालाई समेत सुदृढ बनाइएको उनले जानकारी दिए ।