
मलेसिया : मलेसियाको पेनाङ राज्यस्थित बयान लेपास क्षेत्रमा प्रेम सम्बन्ध र नक्कली सुन लगानी योजनामार्फत अनलाइन ठगी सञ्चालन गरेको आशंकामा प्रहरीले ३५ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीले गत सोमबार बयान लेपास क्षेत्रका दुईवटा आवासीय घरमा छापा मार्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
बारात दया जिल्ला प्रहरी प्रमुख एसीपी अनुवाल अब वाहाबका अनुसार पक्राउ पर्नेमा ३३ जना चिनियाँ पुरुष, एक चिनियाँ महिला र एक ताइवानी पुरुष रहेका छन् । जिल्ला प्रहरीको वाणिज्य अपराध अनुसन्धान शाखा र पेनाङ प्रहरी मुख्यालयको वाणिज्य अपराध अनुसन्धान विभागको संयुक्त टोलीले उक्त कारबाही गरेको थियो ।
प्रारम्भिक अनुसन्धानअनुसार उक्त ठगी समूहले गत सेप्टेम्बरदेखि आफ्नो गतिविधि सञ्चालन गर्दै आएको थियो । समूहले टेलिग्राम एपमार्फत १८ देखि ४६ वर्ष उमेर समूहका चिनियाँ महिलालाई लक्षित गरी प्रेम सम्बन्धको बहानामा नजिकिने र नक्कली सुन लगानी योजनामा पैसा लगाउन प्रलोभन दिने गरेको प्रहरीको भनाइ छ ।
प्रहरीले घटनास्थलबाट ठगी गतिविधिमा प्रयोग भएको आशंकामा ११९ थान मोबाइल फोन, तीनवटा ल्यापटप र चार्जर बरामद गरेको छ । बरामद सामग्रीको अनुमानित मूल्य ६० हजार रिंगिट रहेको बताइएको छ ।
पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ। उनीहरूमाथि मलेसियाको दण्ड संहिताको धारा ४२० (ठगी) र धारा १२०बी (आपराधिक षड्यन्त्र) अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।