
काठमाडौं : भारतीय उपमहाद्वीपमा मेजरिङ टुल्स उत्पादन गर्ने कम्पनी एफएमआईले नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई आफ्नो ब्रान्ड 'फ्रिमांस'को नेपालका लागि ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । नेपाली बजारमा आफ्नो उपस्थिति थप सुदृढ बनाउने उद्देश्यसहित कम्पनीले यो साझेदारी गरेको हो ।
फ्रिमांसले नेपाली उपभोक्ता, खुद्रा बिक्रेता तथा च्यानल पार्टनरहरूसँगको सम्बन्ध बलियो बनाउनुका साथै मेजरिङ टेप, पावर टुल्स र ह्यान्ड टुल्सलगायतका आफ्ना उत्पादनहरूको बजार विस्तार तथा जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।
साझेदारीबारे एफएमआई लिमिटेड (फ्रिमांस) का कार्यकारी निर्देशक साहिल नायरले नेपाल आफ्ना लागि महत्त्वपूर्ण र रणनीतिक बजार भएको बताउँदै ऐरीले महत्त्वाकांक्षी, मेहनती र उत्कृष्ट प्रदर्शनमा विश्वास गर्ने नयाँ पुस्ताको नेपालको प्रतिनिधित्व गर्ने बताए ।
यस्तै क्रिकेटर ऐरीले पनि गुणस्तर, सटीकता र विश्वसनीयताका लागि परिचित अन्तर्राष्ट्रिय ब्रान्डको नेपाल यात्रामा सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । सन् १९५० मा स्थापित एफएमआईका मेजरिङ टेप, स्पिरिट लेभल, मेजरिङ ह्विल, प्रेसिजन तथा डिजिटल मेजरिङ टुल्स र पावर टुल्स एक्सेसरिजलगायतका उत्पादन हाल विश्वका ६० भन्दा बढी देशहरूमा उपलब्ध छन् ।