
काठमाडौं : राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा विश्वस्तरीय औषधि उद्योग स्थापना गर्न स्विट्जरल्यान्डसँग सहकार्यको प्रस्ताव राखेका छन् ।
स्विट्जरल्यान्डको नेसनल काउन्सिलका अध्यक्ष पिएरे आन्द्रे पाजसँग सोमबार भएको शिष्टाचार भेटका क्रममा अध्यक्ष दाहालले नेपालमा औषधि उद्योग स्थापना गर्न सरकारी तहबाट पहल गर्न आग्रह गरेका हुन् ।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले स्विट्जरल्यान्डमा विश्वस्तरीय औषधि उद्योग तथा कम्पनीहरू रहेकाले नेपालमा पनि त्यस्ता उद्योग स्थापना गर्न सहकार्यको प्रस्ताव राखेको बताए ।
उनले नेपालमा औषधि उद्योग संचालन गर्न सकेमा नेपाली जनताले सहुलियतमा औषधि प्राप्त गर्न सक्ने उनको भनाइ छ । उनकाअनुसार स्विट्जरल्याण्डका अध्यक्ष पाजले नेपाललाई आवश्यक पर्ने औषधि तथा अन्य सहयोगका विषयमा जानकारी गराउन आग्रह गर्दै त्यसका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
अध्यक्ष दाहालले नेपाललाई विकास साझेदारका रूपमा स्विजरल्यान्डले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने अपेक्षा राखेको बताए । उनले विपद्का समयमा स्विजरल्यान्डले गर्दै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे । हालै भोटेकोशी बाढीबाट प्रभावितका लागि स्विट्जरल्यान्डले २ मिलियन अमेरिकी डलर सहयोग गरेको थियो ।