
काठमाडौं : भोटेकोशी तथा कालीगण्डकी करिडोरका विपद् प्रभावित क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत झन्डै ९५ करोड रुपैयाँ बराबरको राहत सामग्री परिचालन भएको छ ।
महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले गैरसरकारी संस्थाहरूबाट कुल ९४ करोड ९४ लाख ९४ हजार ५६७ रुपैयाँ बराबरको राहत सामग्री सहयोग प्राप्त भएको जानकारी दिएका हुन् ।
मंगलबार सिंहदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उनले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट ७२ करोड २१ लाख २७ हजार ९६० रुपैयाँ र राष्ट्रिय गैरसरकारी संस्थाबाट २२ करोड ७३ लाख ६६ हजार रुपैयाँ बराबरको राहत सामग्री प्राप्त भएको बताए ।
त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले प्रधानमन्त्री राहत कोषमा १० करोड ७१ लाख ५३ हजार ६४९ रुपैयाँ नगद जम्मा गरेका छन् । यसमध्ये अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट पाँच करोड १४ लाख ३२ हजार ४६७ रुपैयाँ र राष्ट्रिय गैरसरकारी संस्थाबाट पाँच करोड ५७ लाख २१ हजार १८२ रुपैयाँ जम्मा भएको सचिव राउतले जानकारी दिए ।
विपद् प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाको सहयोग प्रभावकारी बनाउन मन्त्रालयले समाज कल्याण परिषद्मार्फत परियोजना स्वीकृतिको प्रक्रिया छोट्याएको उनले बताए । विपद् संकटग्रस्त घोषणा गरिएका १५ स्थानीय तहमा सञ्चालन हुने परियोजना बढीमा ४८ घण्टाभित्र स्वीकृत गर्ने व्यवस्था गरिएको थियो । सोही व्यवस्थाअन्तर्गत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका १३ वटा चालु परियोजना संशोधन गरी ३९ करोड ५६ लाख १३ हजार ९२४ रुपैयाँ बराबरका कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिइएको छ । चारवटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका नयाँ परियोजनाको कुल लागत एक अर्ब २६ करोड ९१ लाख ४१ हजार १२३ रुपैयाँ रहेको छ ।
त्यस्तै, राष्ट्रिय गैरसरकारी संस्थाका ३१६ वटा नयाँ परियोजना ३० दिनभित्र स्वीकृत भएका छन् । ती परियोजनाको कुल लागत दुई अर्ब चार करोड ६९ लाख ८० हजार ११४ रुपैयाँ रहेको छ । राष्ट्रिय गैरसरकारी संस्थाका थप पाँचवटा परियोजना संशोधनका लागि पनि स्वीकृति दिइएको सचिव राउतले बताए । राहत तथा पुनर्स्थापनाका कामलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्न मन्त्रालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिसँग छलफल गरी समन्वय र सहकार्यका लागि आग्रह गरेको उनको भनाइ छ ।
सचिव राउतले विपद् प्रभावित महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको संरक्षण र सहयोगमा पनि मन्त्रालयले समन्वय गरिरहेको बताए । प्रभावित क्षेत्रमा १५ हजार ७०१ जनालाई मनोसामाजिक प्राथमिक सहायता प्रदान गरिएको छ भने ९१ जना बालबालिकालाई थप विशिष्टीकृत सेवाका लागि एकद्वार संकट व्यवस्थापन केन्द्रमा पठाइएको छ । अपाङ्गता भएका व्यक्तिको विवरण संकलन गर्दा १५ स्थानीय तहका १४४ जना प्रभावित भएको पाइएको छ । तीमध्ये सात जनाको मृत्यु भएको, ७६ जना विस्थापित भएको र १६ जना सम्पर्कविहीन वा बेपत्ता रहेको विवरण प्राप्त भएको उनले जानकारी दिए ।