
काठमाडौं : मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले सोमबार कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।
घिमिरेका भाइ नाता पर्ने भुवन ढुंगेल सवार विद्युतीय कारबाट ३३ लाख रुपैयाँ नगद बरामद भएपछि उनलाई पक्राउ गरिएको हो ।
सोमबार अपराह्न मध्यपुर थिमी नगरपालिकाबाट निस्किएको बागमती प्रदेश ०१–०३५ च २६८७ नम्बरको टाटा इभी कार निकोसेरास्थित अजिमा पेट्रोल पम्पनजिक अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।
कार जाँच गर्ने क्रममा शंकास्पद नगद बरामद भएपछि चालक, कारमा सवार भुवन ढुंगेल र उनकी श्रीमतीलाई अख्तियारले नियन्त्रणमा लिएको थियो । त्यसलगत्तै नगरपालिकाको कार्यालयबाट प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई नियन्त्रणमा लिएर घटनास्थलमा ल्याइएको थियो ।
कारबाट बरामद भएको ३३ लाख रुपैयाँ घिमिरेले घुसबापत लिई व्यवस्थापनका लागि ढुंगेललाई दिएको अख्तियारको दाबी छ ।