२०८३ कार्तिक १६ गते सोमवार / Nov 02 , 2026 , Monday
२०८३ कार्तिक १६ गते सोमवार

९ करोड ७२ लाख गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा मालपोतका नायब सुब्बाविरुद्ध मुद्दा

Nada
२०८३ कार्तिक १६ गते २१:४२
Shares
९ करोड ७२ लाख गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा मालपोतका नायब सुब्बाविरुद्ध मुद्दा

काठमाडौं : मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्बा यदुनाथ आचार्यले पदको दुरुपयोग गरी ९ करोड ७२ लाख रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगले आचार्यले आफ्नो सार्वजनिक पदको मर्यादाविपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा आचार्यले सरकारी सेवामा प्रवेश गरेको मिति २०५४ माघ २ गतेदेखि २०८० मंसिर २१ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी उनको र एकाघर परिवारका सदस्यहरूको आम्दानी तथा खर्चको विश्लेषण गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार उक्त अवधिमा आचार्यको परिवारले विभिन्न स्रोतबाट ६ करोड २५ लाख ६३ हजार ३४५ रुपैयाँ ४८ पैसा वैधानिक आम्दानी गरेको देखिएको छ । यसमा आचार्यको पारिश्रमिक तथा तलबभत्ता, उनकी श्रीमती ललिता राजभण्डारीको पारिश्रमिक बचत, घरजग्गा बिक्रीबाट प्राप्त आम्दानी, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण, बैना रकम फिर्ता, कृषि आम्दानी र ब्याज आम्दानी समावेश छन् ।

तर, सोही अवधिमा आचार्यले जग्गा तथा घरजग्गा खरिद, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर, विभिन्न व्यक्तिलाई ऋण तथा सापटी दिएको रकम, सवारीसाधन खरिद, अध्ययन खर्च, सेयर खरिद, बैंक तथा वित्तीय संस्थाको ऋण भुक्तानी, बैंक मौज्दात र सेफ दराज खरिदलगायत शीर्षकमा १५ करोड ९८ लाख ३५ हजार ३३५ रुपैयाँ ३१ पैसा खर्च तथा लगानी गरेको अनुसन्धानबाट देखिएको आयोगको आरोप छ ।

वैधानिक आम्दानी र खर्चबीच तुलना गर्दा ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ ८३ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको आयोगले जनाएको छ । उक्त रकम बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरी भ्रष्टाचार गरेको कसुर स्थापित भएको दाबी गर्दै आयोगले भ्रष्टाचार निवारण ऐनअनुसार सजायको माग गरेको छ ।

आयोगले आचार्यले आर्जन गरेको भनिएको गैरकानुनी सम्पत्ति विभिन्न घरजग्गा कारोबार, व्यवसाय तथा वित्तीय कारोबारमार्फत प्रयोग र व्यवस्थापन गरेको आरोप लगाएको छ । अनुसन्धानमा काठमाडौं महानगरपालिका–१० स्थित कित्ता नम्बर २२२ को घरजग्गा खरिदमा गरिएको लगानी, काठमाडौं महानगरपालिका–३५ स्थित कित्ता नम्बर १९४ को घरजग्गा खरिद तथा बिक्री र हलेसी डिपार्टमेन्ट स्टोर प्रालिमा गरिएको लगानीलाई प्रमुख कारोबारका रूपमा उल्लेख गरिएको छ ।

त्यस्तै, काठमाडौंको गोठाटारस्थित साविक गोठाटार गाविस–७ का कित्ता नम्बर ५०२ र ५१८ को जग्गा खरिदका लागि बैना रकम भुक्तानी तथा फिर्ता, जग्गा व्यवसायी भीमबहादुर राई र रत्नकाजी प्रजापतिमार्फत भएका कारोबार, सेयर खरिदबिक्रीका लागि लगानी तथा मोरङका विभिन्न स्थानमा भएका जग्गा कारोबारलाई पनि अनुसन्धानमा समेटिएको छ ।

आयोगका अनुसार आचार्यले काठमाडौं महानगरपालिका–३५ स्थित कित्ता नम्बर १९४ मा रहेको साढे दुई तलाको घरजग्गा खरिदका लागि विभिन्न बैंक खाताबाट रकम भुक्तानी गरेका थिए । उक्त घरजग्गा आचार्य र उनकी श्रीमती ललिता राजभण्डारीको नाममा दर्ता भएको देखिएको छ । पछि उक्त घरजग्गा बिक्री हुँदा प्राप्त भएको रकम श्रीमतीको बैंक खातामा जम्मा भएको कारोबार विवरणमा उल्लेख छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर