२०८२ वैशाख २२ गते सोमवार / May 05 , 2025 , Monday
२०८२ वैशाख २२ गते सोमवार
Ads

सगरमाथा संवादमा उठ्नुपर्ने एजेन्डा

२०८२ वैशाख २२ गते ०६:०५
सगरमाथा संवादमा उठ्नुपर्ने एजेन्डा

–शिवकुमार श्रेष्ठ (शिवांसु)

जलवायु परिवर्तनले पारेको प्रभाव, हिमाली क्षेत्रका बासिन्दाका वास्तविक भोगाइ, जलवायु संकटलार्ई सामना गर्न गरिएका प्रयास तथा अभ्यासलाई यकिन गर्न सगरमाथा संवाद यही २ देखि ४ जेठसम्म गर्न लागिँदै छ ।

संवादको मुख्य उद्देश्य हिमाली क्षेत्रमा देखिएको वातावरणीय असन्तुलन, हिउँ पग्लने दरमा वृद्धि, जैविक विविधतामा संकट तथा स्थानीय र विभिन्न भागमा रहेका बासिन्दाको जीवनशैलीमा परेको प्रतिकूल असरमाथि बहस उठाउनुमा देखिन्छ ।

नेपाल २ ठूला शक्ति राष्ट्र भारत र चीनबीचमा अवस्थित छ । दुवै मुलुकले वैश्विक रूपमा ठूलो मात्रामा कार्बन उत्सर्जन गर्ने हुँदा तिनको प्रभाव हाम्रो हिमालय, पहाड, बस्ती र जनजीवनदेखि पर्यावरणमा परेको छ । दि स्टेट अफ क्लाइमेट इन एसिया रिपोर्ट, २०२३ मा मौसम जलवायु र पानीसँग सम्भावित खतराबाट विश्वमा सबैभन्दा विपद् प्रभावित क्षेत्र एसिया भएको जनाइएको छ । 

सन् २०२३ मा एसियामा समुद्र सतह र महासागरको तापक्रमले नयाँ कीर्तिमान कायम गरेको थियो, जसले गर्दा यस क्षेत्रले विश्व औसतको लगभग दोब्बर समुद्री सतहको वृद्धि दर अनुभव गरिरहेको छ । दक्षिणपूर्वी एसियामा विशेषगरी बंगलादेश, म्यानमार र थाइल्यान्डमा अत्यधिक गर्मीले कृषि उत्पादनमा गिरावट ल्याएको छ । साथै, नयाँनयाँ स्वास्थ्य समस्या बढाएको छ ।

नेपालमा तापक्रम वृद्धिले हिमनदी पग्लने र पानीको अभाव जस्ता समस्या तीव्र बनाएको छ, जसले लाखौं मानिसको जीवनमा प्रत्यक्ष असर पारेको छ । पश्चिम नेपालका माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि जस्ता दर्जनौँ हिमाल कालापत्थरमा परिणत हुँदै गइरहेका सर्वविदितै छ ।

पहिले लटरम्म स्याउ फल्ने तल्लो मुस्ताङमा स्याउ फल्न छाडेको छ । चरिचरनमा मिचाहा नयाँनयाँ झार देखिन थालेका छन् । जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्र र त्यहाँका जनतामा पारेको प्रभाव तथा चुनौतीको समाधानका लागि विश्वव्यापी पहल गर्नु, वर्तमान अवस्थाको समाधान भोलिको पुस्ताको भविष्य एवं सम्पूर्ण पृथ्वीकै सुरक्षालाई सुनिश्चित गर्न नेपालले सगरमाथा संवादलाई केन्द्रित गर्न आवश्यक देखिन्छ ।

एसिया तथा प्रशान्त क्षेत्र जलवायुजन्य विपद्को अग्रपंक्तिमा रहेकाले जलवायु सहनशीलता तथा पूर्वसूचना प्रणाली सक्रिय बनाउनुपर्ने अहिलेको आवश्यकता हो । 
नेपालका हिमाल पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने नेपालीले अपेक्षा गरेका छन् । यति मात्र नभई पर्यटकबाट अर्थतन्त्रलाई पनि चलायमान बनाउन सकिने सम्भावना बोकेको छ । पर्यटन पूर्वाधार, होमस्टे व्यवस्थापन, पदमार्ग गरी हिमाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चित गन्तव्य बन्न सक्ने अपेक्षा गरिएको छ । यसबाट देशले मनग्य आम्दानी गर्नुका साथै नागरिकले रोजगारीको अवसर पाउने छन् ।

यस वर्ष विश्वको सर्वोकृष्ट गन्तव्य मुलुकमा नेपाल परेको फोब्र्स पत्रिकाले जनाएको छ । पश्चिमका अपि हिमाल ७ हजार १३२ मिटर र नाम्प हिमालको ६ हजार ७५५ मिटरको उचाइ छ । यी हिमालहरूलाई पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा परिचित गराई नाम र दाम दुवै कमाउन सकिन्छ ।

पश्चिम नेपालका हिमाली क्षेत्रका मानिसको मुख्य आय स्रोतका रूपमा यार्चागुम्बा र बहुमूल्य जडीबुटीहरू हुन् । यिनकै आम्दानीबाट वर्ष दिनको खर्च जुटाउँछन् । 

तर, जलवायु परिवर्तनका कारण वैश्विक तापक्रम वृद्धि भई हिउँ पग्ली विगत वर्षमा २ वटा हिमताल फुटेर वितण्डा मच्चाएको थियो । थामेमा धेरै घर, स्कुल पुरेको थियो ।

जलवायु परिवर्तनका कारण हिमाल र पर्वतीय क्षेत्र सबैभन्दा बढी प्रभावित छन् । नेपालका २६ वटा हिमतालहरू विस्फोटनको उत्तिकै जोखिममा छन् । हिमपहिरो र बाढीको जोखिम निरन्तर बढेको छ । 

२९ मे १९५३ मा २ साहसी पर्वतारोही तेन्जिङ् नोर्गे र सर एडमन्ड हिलारीले सगरमाथा पहिलो पटक आरोहण गरे । हालसम्म ८ हजारभन्दा बढी आरोहीले सगरमाथा चुमेका छन् । यो कठिन यात्रामा हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

सगरमाथा आरोहणको ठूलो संख्याका कारण यस क्षेत्रमा भइरहेको फोहोरलाई संकलनका लागि बजेट र जनशक्ति व्यवस्था गर्न सरकार, सम्बन्धित निकाय, संघसंस्था र नागरिकको कर्तव्य हुन आउँछ । 

वैश्विक तापक्रम वृद्धिका कारण लामखुट्टे, झिँगा, भुसुना र स–साना किराजन्य पनि माथि सर्दै गएका छन्, जसका कारण सन् १८८० देखि २०१२ सम्म विश्वको तापक्रम शून्य दशमलव ८५ प्रतिशतले बढेको छ । यसको संकेत जलवायु र तापक्रमसँग संवेदनशील डेंगी हुन्छ ।

१ डिग्री तापक्रम बढ्दा नेपालको ७० प्रतिशत जनसंख्यामा डेंगी फैलन सक्ने चेतावनी अनुसन्धानकर्ताको छ । डेंगी सार्ने लामखुट्टेको बासस्थान ९०० मिटर भए पनि हाल १ हजार ४०० मिटर पुगेको पाइन्छ ।

इकोलोजी एन्ड इमोलुसन जर्नलका अनुसार तापक्रम वृद्धिका कारण हिमचितुवाको बासस्थान खुम्चँदै गएको छ । सन् २०३० भित्र हिमचितुवाको विचरण क्षेत्र १४ दशमलव ५७ प्रतिशत र सन् २०५० सम्म २१ दशमलव ५७ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ ।

तापक्रम बढेसँगै हिमाली क्षेत्रमा पाइने कस्तुरीको बासस्थान सन् २०७० सम्म २९ दशमलव ४७ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ । बासस्थान घट्ने, खाना कम हुने, भेलबाढीका कारण वन्यजन्तुको संख्या पनि त्यही अनुपातमा कम हुने विज्ञहरूले जनाएका छन् । 

तापक्रम वृद्धिसँगै वन्यजन्तुको बासस्थान घट्दै जाने र तापक्रम र वर्षाको अवस्थामा फरक आउँदा मिचाहा प्रजातिको वनस्पतिको बढोत्तरी हुने र त्यसले वन्यजन्तुको आहारमा प्रभावित गर्छ । 

भारी वर्षासँगै आएको बाढीका प्रभावमा वन्यजन्तुहरू परेका घटना देखिन थालेका छन् । यसका लागि वन्यजन्तु संरक्षणसम्बन्धी कार्ययोजनाहरू निर्माण गर्दा जलवायु परिवर्तन, अनुकूलन र प्रक्षेपणलाई ख्याल गरेर गर्नुपर्ने हुन्छ ।

विकसित राष्ट्रको औद्योगिकीकरणका क्रममा गरेको कार्बन उत्सर्जनले नेपाल जस्तो मुलुकमा गम्भीर असर पुगेकाले असर न्यूनीकरण गरी मानव र जीवजन्तुको दिगो विकास र संरक्षणसम्बन्धी नीति कार्यान्वयन आवश्यक छ । जलवायु परिवर्तनको असर न्यूनीकरण र त्यसलाई अनुकरण गर्नका लागि सरकारका सबै तह र तप्काका निकायको भूमिका अहं हुन्छ ।

ADV

सम्बन्धित खबर