–अच्युतप्रसाद पौडेल ‘चिन्तन’
नेपाली महिलाहरूको मौलिक पर्व तीज जान लाग्यो । आज सप्तर्षि पूजा गरेर र कथा श्रवण गरेर ब्रत गर्ने यो दिनलाई ऋषि पञ्चमी भनिन्छ । केही वर्षयता तीजको विषयमा धेरै प्रश्नहरू उठ्न थालेका छन् । तीज लामो भयो र यसको मौलिकता पनि हराउँदै गयो । पार्टी प्यालेस कहिलेसम्म माइती बन्छ नेपाली दिदीबहिनीहरूका लागि ? ‘कम्मर मर्काई मर्काई बाबु–दाजुभाइकै घर आँगनमा नाच्नु पर्ने हो’ तर आज त्यो देखिँदैन ।
हाम्रा महिला–पुरुष धेरैजसो मलेसिया, खाडी, युरोप, अमेरिका आदिमा छन् । गाउँघर खाली छन् । शहरवासीहरू मन्दिर जाँदैछन् । काम छैन, आय–आर्जन छैन, रोजगारी छैन । बाबुको मुख हेर्ने पर्व ‘कुशे औंसी’ सकिनासाथ हिन्दू नारीहरूको एकलौटी पर्व तीज विशेष सुरु हुनु पर्ने हो । तर, आजभोलि धेरै अघिदेखि दर खाइन्छ ।
पर्वतराज हिमालय र मेनकाकी छोरी पार्वतीले शिवसँग विवाह गर्ने इच्छाले निष्ठापूर्वक हरितालिका व्रत बसी, अघिल्लो दिन ३ अञ्जुली पानी पिएर दर खाएकी थिइन् । यसै कारण तीज आरम्भ भएको हो । तर, अहिले त्यो मौलिकता गुम्ने गरी विकृति फैलिएको देखिन्छ ।
एकान्तस्थलमा गई शिवको प्रार्थना गरेकी थिइन् पार्वतीले, जसले गर्दा ‘सखिभिर्हरिता यस्मात् तेनेयं हरितालिका’ भन्ने भनाइअनुसार यस दिनलाई हरितालिका तीज भनिएको हो । भविष्यपुराणमा यसको वर्णन गरिएको छ । भाद्र शुक्ल तृतीया नै तीज अर्थात् हरितालिका हो । अन्य दिन भोजभतेर मात्र हुन्छ । तीजको आहार पनि सात्विक हुनुपर्छ, तर आजभोलि त्यो पनि विकृत हुन थालेको छ, जुन हाम्रो संस्कृतिविरुद्ध हो ।
प्रायः विवाहित महिलाहरू माइतीघरमा बसेर पूर्ण स्वतन्त्रतापूर्वक तीज मनाउनु पर्ने हो । छोरी–वेटीलाई तीज विशेषमा दाजुभाइहरूले माइतीमा विशेष निम्ता गर्ने चलन छ । बाबुको मुख हेरेपछि तीजको निम्तो लिइन्छ । वर्षभरिका दुःख, कष्ट बिर्सेर हाँसी–ठट्यौली गर्दै, श्रीशिवको अनुष्ठानसहित तीज मनाउने चलन छ । तीजमा रसिला, मीठा, व्यंग्यात्मक गीत गाउने, नाच्ने चलन हो । तीजको दिन निराहार व्रत बसेर महादेवको पूजा–आराधना गरिन्छ । साँझमा साथीहरूसँग बालुवाको शिवलिङ्ग बनाई महादेव–पार्वतीको पूजा गर्ने परम्परा छ ।
दीप, कलश, गणेश र बालुवा प्रतिमासहितको शिवलिङ्गमा उमामहेश्वरको पूजा गरिन्छ – सके षोडशोपचार विधिले, नसके यथाशक्ति, यथाभक्तिले । पशुपतिनाथ मन्दिर परिसर र अन्य धेरै शिवालयहरूमा यसपालि पनि भक्तजनको अपार उपस्थिति देखियो । कतिपय स्थानहरूबाट प्रत्यक्ष प्रसारण पनि गरिएको थियो । तीजका दिन रंगीन, सौभाग्यका वस्त्र धारण गरी देवस्थलहरूमा जानु परम्परा हो । पशुपतिनाथ, कुम्भेश्वर, गोकर्णेश्वर लगायतका स्थानहरू त्यसैका लागि प्रसिद्ध छन् । काठमाडौं उपत्यका बाहिर पनि यत्रतत्र मठ–मन्दिरहरूमा पूजाअर्चना भएको थियो ।
तीजको व्रतले पतिको दीर्घायु, परिवारको कल्याण र आफैंको सुख–समृद्धिको आशीर्वाद प्राप्त हुने विश्वास छ । यसको परम्परा आजको होइन, पौराणिक कालदेखिको हो । त्यसैले बीज तत्वलाई मर्न दिनु हुँदैन । तीजको पूर्णता भाद्र शुक्ल चतुर्थीका दिन अगस्त्य र लोपामुद्रालाई अर्घ दिई, गणेश जयन्तीको विशेष उपासना गरी र पञ्चमीका दिन विशेष स्नान गरी सप्तर्षिको पूजा र कथा श्रवणबाट हुन्छ । भाद्र शुक्ल चतुर्थी श्रीगणेश पृथ्वीमा अवतरित भएको दिन हो । त्यही दिन कृष्णलाई चोरदोष लागेको थियो, जुन गणेशको प्रार्थनाबाट मात्र टरेको थियो ।
सती अरुन्धतीसहित सप्तर्षिहरू – कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, जमदग्नि, गौतम र वशिष्ठ ऋषिहरूको विशेष व्रत, उपासना, दर्शन र पूजन हुने भएकाले तीजको समापन दिनलाई ऋषिपञ्चमी भनिएको हो । यही दिन आमादिदीबहिनीहरूले ऋषिपञ्चमी पूजा गर्दछन् ।
प्रायः काठमाडौंको टेकुस्थित सप्तर्षिथानमा आज पाइलै राख्ने ठाउँ हुँदैन । व्रतालुहरू ओइरिएर त्यहाँ पुगेका हुन्छन् । नाचगान त भव्य नै हुन्छ । प्रकृतिको विधान हो – नारीधर्म, अर्थात् मासिकधर्म । सिर्जनाको निरन्तरता कायम राख्न शास्त्रले केही विधानहरू बनाएका छन्, जुन अधिकार महिलामात्रमा हुन्छ । पुराणमा उल्लेख छ – ब्रह्महत्या दोष इन्द्रबाट हटाई चार स्थानमा राखिएको थियो । नदीको पहिलो छाल, जमिनको अग्लो शिखर, आगोको पहिलो ज्वाला र स्त्रीको रजस्वलामा । त्यसैले मासिकधर्मका बेला स्पर्शदोष लाग्ने, पानीको पहिलो छालमा नुहाउन नहुने, अग्लो शिखरमा अक्सिजन नहुने, आगोको पहिलो ज्वालामा खाना पकाउन नहुने भनिएको हो ।
चार दिनपछि स्नान गरेपछि दोष निवारण हुने शास्त्रीय मान्यता छ । रजस्वलाले रक्त शुद्धि गर्छ । रजोधर्म दोष निवारणका लागि ऋषिपञ्चमीको व्रत, सप्तर्षिको पूजा र कथा श्रवण गर्नु आवश्यक हुन्छ । पूजा गर्नुअघि नदीमा गई विशेष स्नान गर्ने, वर्षभरिका अशुद्धि हटाउन ३६५ वटा दतिवन प्रयोग गर्ने, पञ्चगव्यले स्नान गर्ने विधान छ ।
मन्दिर जान नसक्नेहरूले घरमै सामूहिक पूजा र कथा श्रवण गर्ने गर्छन् । रजोधर्मका बेला अन्जानमा भएका त्रुटिको प्रायश्चित्त गर्न ऋषिहरूको दर्शन–पूजा आवश्यक हुन्छ । मानिसले ऋषिऋण चुक्ता गर्न सकेका हुँदैनन् । पुरुषहरू जनैपूर्णिमामा सप्तर्षि पूजा गर्छन् भने महिलाहरू तीजमा । महिलाहरूको गलामा ब्रह्मसूत्र हुँदैन त्यसको विकल्प भनेकै तीजको सप्तर्षि पूजा हो ।
माता अरुन्धतीले ब्रह्मसूत्र खोज्नुभएन र उहाँकै नाममा सौभाग्य अर्पण गरिन्छ ऋषिपञ्चमीको पूजा गर्दा । ऋषिपञ्चमी व्रतीहरूले यस दिन एकछाक मात्र खाने, नरोपिएको अन्न (सामा, कागुनो), कन्दमूल (कर्कलो आदि) प्रयोग गरेर हविष्य अन्न ग्रहण गर्नुपर्छ । मासिकधर्मका बेला अन्जानमा भएका त्रुटिहरूको प्रायश्चित्त गर्ने सरल उपाय हो यो । यसले तेज वृद्धि, दीर्घायु, निरोगिता र पूर्ण सौभाग्य दिन्छ ।
तीज आफैं भड्किलो भएको होइन, बनाइएको हो । हाम्रा दिदीबहिनीहरू हुँदाखाने मात्र होइन, हुँदा खाने पनि छन् । सुनको भाउ के छ ? कपडाको भाउ के छ ? यी सबै विचार गर्नु आवश्यक छ । भड्किलो हुँदा समाजलाई असहज हुन्छ ।