नेपालीमा उपभोक्तामा पछिल्लो समय स्वदेशी उत्पादन प्रति विश्वास बढ्दै गएको छ । स्वदेशी उद्योगले आफ्नो ब्राण्ड बनाउनका लागि गुणस्तरीय वस्तु उत्पादन गरिरहेका छन् । उद्योगीले वस्तुको गुणस्तरमा ध्यान दिँदा स्वदेशी उत्पादनले आयातित वस्तुसँग समेत प्रतिस्पर्धा गर्न सक्षम भएका छन् ।
तर, निजी क्षेत्रका उद्योगी व्यवसायीले विषम परिस्थितिमा लगानी गरेपछि राज्यबाट अपेक्षित साथ र सहयोगको नभएको गुनासो गर्ने गरेका छन् । नेपालमा लगानीको वातावरण र व्यवसाय प्रवर्धनका निम्ति व्यावसायिक नीति कस्तो हुनुपर्छ ? भन्ने विषयमा नेपाल चेम्बर अफ कमर्स अन्तर्गत उद्योग वाणिज्य समितिको सभापति तथा रोयल फुटवेयर इन्डष्ट्रिजका अध्यक्ष भिम पौड्यालसँग मध्यान्हका छबि सापकोटाले कुराकानी गरेका छन् ।
नेपालका उद्योग व्यवसायीको अहिलेको अवस्था कस्तो छ ?
नेपालमा उद्योग व्यवसाय फस्टाइरहेको अवस्था छ । विगत एक दशक यता नेपालमा उद्योग क्षेत्रमा लगानी बढीरहेको छ । नेपालमा अहिले आयातित वस्तु भन्दा नेपाल भित्रै उत्पादित वस्तुहरू नेपाली उपभोक्ताको रोजाईमा पर्न थालेको छ । नेपालमा उत्पादन भएका वस्तु विदेश पनि निर्यात भइरहेका छन् । नेपालबाट निर्यात गर्न विभिन्न कठिनाईका बाबजुद निजी क्षेत्रको सक्रियतामै नेपाली उत्पादन निर्यात भइरहेको छ ।
विगतमा आयात गर्ने व्यवसायीले अहिले आफैँ उत्पादन गर्ने गरेका छन् । नेपालमै उत्पादन गर्दा तुलनात्मक रुपमा सस्तो पर्ने भएकाले उद्यमतर्फ नेपाली लगानीकर्ताको आकर्षण बढ्दो नै छ । बाहिरबाट आउने भन्दा नेपालमै उत्पादन हुने स्वदेशी उत्पादनलाई माया गर्नेहरू समेत धेरै छन् ।
त्यसोभए, नेपालमा रोजगारीको अवस्था नभएर विदेश जानेको संख्या किन बढिरहेको छ ?
यहाँ अहिले सिप भएको दक्ष जनशक्तिको अभाव छ । पछिल्लो समय कम तलब नहुने स्थानमा श्रमिकहरू गइरहेको अवस्था छ । किनभने अहिले देखासिकी धेरै छ । गाँउका मान्छेमा विदेश जाने लहरले गर्दा स्वदेशमा भन्दा विदेशमा राम्रो हुन्छ भन्ने मनोविज्ञानको कारण विदेश जानेको संख्या बढीरहेको हो । तर, नेपालमा रोजगारीको अवसर सिप हुनेको लागि राम्रो हुँदै गएको छ । यस्तै नेपालमै केही गर्छु भन्ने हो भने सानो लगानीमा पनि राम्रो आम्दानी गर्ने क्षेत्रहरू छन ।
तर, पछिल्लो समय छिटो धनी हुने मनोविज्ञानको कारण युवा जनशक्ति नेपाल भन्दा बाहिर गइरहेको अवस्था छ । तर, अब यो बिस्तारै कम हुन्छ । विदेशमा केही वर्ष अघि गएकाले केहीले राम्रो गरे होलान् तर अहिले त्यहाँ पनि सिप बिनाको श्रमिकको आय निकै कम छ ।
तपाईं फुटवेयर इन्डष्ट्रिजमा एक दशक भन्दा बढी समयदेखि हुनुहुन्छ । अहिले फुटवेयर व्यवसाय कस्तो चलिरहेको छ ?
अहिले फुटवेयर इन्डष्ट्रिजबाट उत्पादन हुने उत्पादन गुणस्तरीय बन्दै गएका छन् । बाहिरबाट ल्याएको ब्राण्डेड भन्ने जुत्ता चप्पल भन्दा नेपालमै उत्पादन भएका जुत्ता चप्पलm धेरै नै बलिया छन् । आयातित भन्दा तुलनात्मक रूपले सस्तो पनि छ । त्यो हिसाबले हेर्दा नेपालमा पहिलेको तुलनामा जुत्ता चप्पल उत्पादन वृद्धि भएको छ । तर, हाम्रो मार्केट र जनसंख्या सानो हुदाँ प्रतिस्पर्धा बढ्दो छ ।
जुत्ता चप्पल उपयोग गर्ने युवा वर्ग हो, त्यो वर्ग बाहिर गइरहँदा अहिले खपतमा केही कम छ । उपभोक्ताको संख्या कम भएको हुनाले मार्केट खुम्चिएको छ । उत्पादन बढ्दै गएका कारणले बजारमा अलिकति समस्या चाहिँ छ ।
तर, पछिल्लो समय विदेश गएकाहरूमा समेत नेपाली उत्पादनप्रति विश्वास बढेकाले विदेशी बजारमा पनि नेपाली उत्पादन पुगेको छ । त्यसैले विदेश गएकालाई टार्गेट गरेर बजारीकरण गर्ने हो भने नेपाली उत्पादनको माग विदेशमा थप वृद्धि हुने देखिन्छ ।
नेपालमा उद्योग खोल्नेको संख्या पनि बढीरहको देखिन्छ । त्यसले भएका उद्योगलाई असर गर्छ की गर्दैन ?
प्रतिस्पर्धाको लागि नयाँ कम्पनी त आउँछन्, त्यो स्वभाविक कुरा नै हो । नयाँ उद्योगमा लगानी हुँदा अर्थतन्त्र समेत चलायनमान हुन्छ । यसरी उद्योग खोल्नेको संख्या बढ्दा आयात हुने वस्तुमा कमि आउँछ । आयात गर्दा भन्सार बढी लाग्ने भएपछि आठ÷दश वर्ष यता वस्तु आयात गर्दै आएका व्यक्तिहरू नै उद्योग सञ्चालनतर्फ लागेका छन् । यो राम्रो सकारात्मक पक्ष हो ।
तर, एउटा समस्या के छ भने बेरोजगार भइयो भनेर श्रम गर्ने जनशक्ति विदेश पलायन भइरहेको अवस्था छ । अर्कोतिर हाम्रा उद्योगमा फेरि मजदुरको अभाव छ । दक्ष जनशक्तिको अभावको कारण बजारको माग बढ्दा उत्पादन समयमै गर्न नसक्ने अवस्था छ ।
नेपालमा उत्पादन हुने वस्तुले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न कति सक्षम छन् ?
नेपालमा आउने विदेशी उत्पादन भनेको चीन र भारतबाट आउने वस्तु नै हुन् ।
विदेशबाट आउने वस्तु भन्दा नेपालमै उत्पादन हुने वस्तु उत्कृष्ट छन् । आयातित कम गुणस्तरको सामानले नेपाली बजार बिगारदिने काम भइरहेको छ । त्यसैले, नेपालमा आत्मनिर्भर भएको वस्तुको आयातमा सरकारले बढी भन्सार लगाएर कडाई गर्ने नीति बनाउन आवश्यक छ ।
नेपाली फुटवेयरकै कुरा गर्ने हो भने चीनबाट कमसल खालका जुत्ता आउने र भारतबाट खुल्ला सिमानाको कारण बिना भन्सार वस्तु आउँदा समस्या सृजना भइरहेको छ । पूर्व मेचीदेखि पश्चिम महाकानीसम्म तराई क्षेत्रबाट बिना भन्सारका सामान आउँदा सरकारले राजस्व गुमाइरहेको छ भने स्वदेशी उद्योगलाई समेत ठूलो असर परिरहेको छ । स्वदेशी वस्तुलाई नै प्रतिस्थापन गर्नेेगरी भन्सारबाट सामान आउँदा समेत सरकारी नियामक निकायले चासो राखेको पाइँदैन ।
अन्त्यमा, सरकारी संयन्त्रको भूमिका कस्तो हुनुपर्छ ?
भोगिरहेको समस्या हामी व्यवसायीले बारम्बार सरकारमा बस्नेदेखि कर्मचारी निकायसँग भन्दै आइरहेका छौँ । उहाँहरूलाई सबै जानकारी समेत छ तर, रोक्ने काम भइरहेको छैन । सरकारले माथिल्लो निकायबाट हेर्न निर्देशन दिन्छ तर, तलसम्म आउँदा कार्यान्वयन हुँदैन । मार्केटमा बिना भन्सारका सामान आउँदा समेत रोक्न नसक्दा त्यसको असर राम्रो काम गर्ने व्यवसायीमा परेको छ ।
अहिले एमआरपी अनिवार्यताले भन्सार चोरीलाई रोक्छ भन्ने लागेको छ तर, यसलाई कार्यान्यवनमा लैजान आवश्यक छ । एमआरपी समस्या स्वदेशमा उत्पादित वस्तुमा छैन, तर, विदेशबाट आयात गर्नेलाई समस्या छ । त्यसलाई व्यवस्थित गरेर सिस्टममा लैजानु पर्छ ।