–भरतप्रसाद देवकोटा
हरितालिका तिज हिन्दू नारीहरूको एक महत्वपूर्ण पर्व हो, जुन प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको विवाह भगवान् विष्णुसँग गराउने वचन दिएका थिए । तर, पार्वतीले बाल्यकालदेखि नै भगवान् शिवलाई वरस्वरूप रोजेकी थिइन् । आफ्ना पिताले मन नपरेको विवाह गराउन लागेपछि पार्वती वनतिर गई भगवान् शिवको तपस्या गर्न थालिन् । कठोर व्रत बस्दै उनले बालुवाबाट शिवलिङ्ग स्थापना गरी पानीसमेत नखाई निराहार तप गरिन् । पार्वतीको कठोर तपस्याले प्रसन्न भई शिवजी प्रकट भए र उनले पार्वतीलाई वरस्वरूप स्वीकारे । यसरी पार्वतीको इच्छाअनुसार शिवसँग विवाह हुन गयो ।
नेपाली समाजमा तिज पर्वको मौलिक स्वरूप विकास भएको छ, त्यसैले तिजलाई विशुद्ध नेपाली नारीहरूको महान् पर्व मानिन्छ । यसले नेपाली महिलाहरूको सामाजिक, धार्मिक र सांस्कृतिक पहिचान बोकेको छ, जुन विभिन्न तरिकाले प्रकट हुन्छ ।
शास्त्रीय मान्यताअनुसार विवाहित महिलाहरूले आफ्नो पतिको दीर्घायुको कामनाका साथ व्रत बस्ने र अविवाहित महिलाहरूले सुयोग्य वर पाउने आशामा उपवास गर्ने चलन छ । तिजमा लगाइने गहना र पहिरनको पनि गहिरो धार्मिक र सांस्कृतिक महत्व छ । रातो साडी समृद्धि र साहसको प्रतीक मानिन्छ, रातो टिका सौभाग्यको, र पोते शान्ति तथा आनन्दको प्रतीक हो । महिलाहरूले शुद्ध मनले व्रत गरेमा मनोकांक्षा पूरा हुने विश्वास रहँदै आएको छ ।
यद्यपि, तिज व्रतलाई कतिपयले महिलालाई पुरुषको अन्धभक्त बनाउने परम्पराको रूपमा पनि हेर्ने गरेका छन् । पुरुषको दीर्घायुको लागि महिलाले मात्र व्रत बस्नुपर्ने मान्यता अब समीक्षाको विषय बन्न थालेको छ ।
पछिल्ला वर्षहरूमा तिज पर्वलाई हिन्दू समुदायबाहेक अन्य जातजातिका महिलाहरूले पनि मनाउन थालेका छन् । विशेषतः युवतीहरू तिजलाई रमाइलोको पर्वका रूपमा मनाउने गरेका छन् । टोलटोलमा समूह बनाएर नाचगान र खानपान कार्यक्रम आयोजना गरिन्छ । कतिपय संघसंस्थाले तिज गीत प्रतियोगिता समेत आयोजना गर्छन् । यस्ता गतिविधिले तिजको मौलिकता भन्दा पनि आधुनिकता र प्रदर्शनलाई बढावा दिएको देखिन्छ, जसले मौलिक संस्कृति ओझेलमा पर्ने खतरा निम्त्याएको छ ।
पछिल्लो समय तिज गीतहरूमा विभेद, पीडा, पारिवारिक असमानता र सामाजिक प्रश्नहरूलाई उठान गरिँदै आएको पाइन्छ । शिक्षित महिलाहरूले अन्धविश्वास तोड्दै तिजलाई उल्लासमय र संस्कारयुक्त बनाउने प्रयास गरिरहेका छन् । तर आधुनिकताको नाममा भड्किलोपन, असभ्यता र देखासिकी प्रवृत्तिले तिजको वास्तविक सन्देशलाई कमजोर बनाइरहेको देखिन्छ ।
तिज बालीनाली रोपिसकेपछि मनाइने, केही फुर्सदको समयमा मन पर्ने पर्व हो । यसले चेलीबेटीलाई माइती फर्कने, बुबा–दाजुभाइसँग भेटघाट गर्ने, सुखदुःख साटासाट गर्ने अवसर दिन्छ । विवाह भएर टाढा पुगेका दिदीबहिनीबीच भेटघाट र भावनात्मक सम्बन्ध बलियो बनाउने पर्वका रूपमा तिजको महत्व अझ गहिरो छ ।
समय परिवर्तनशील छ, र त्यससँगै संस्कार, परम्परा र पर्वहरूको स्वरूप पनि परिवर्तन भइरहेका छन् । हिजो मादल, डम्फु, थप्टी जस्ता परम्परागत बाजामा गाइने तिज गीतहरू आज आधुनिक संगीतको धुनमा गाइन्छन् । यसलाई सांगीतिक र सांस्कृतिक उपलब्धिको रूपमा पनि लिन सकिन्छ ।
यद्यपि, केही महिलाहरू तिजको नाममा होटेलमा भेला भई मदिरा सेवन गर्दै लठिने जस्ता क्रियाकलापमा संलग्न हुन थालेका छन्, जुन संस्कृतिको दृष्टिले सबैभन्दा नकारात्मक पक्ष हो । त्यस्तै, देखासिकीका लागि महँगा पहिरन र गरगहना प्रयोग गर्ने प्रवृत्तिले आर्थिक भार थपेको छ । यस्तो व्यवहारले मौलिक संस्कृतिलाई ओझेलमा पार्दै गएको छ ।
तिज पर्वले महिलाको आत्मबल, संस्कार र समर्पणको सन्देश दिनुपर्छ । यसले नारी समाजको सशक्तीकरण, आत्माभिव्यक्ति र सांस्कृतिक जागरणमा योगदान गर्नुपर्छ । तसर्थ, तिजलाई मौलिकता, संस्कृति र संयमको पर्वको रूपमा मनाउने अभ्यास गर्न जरुरी छ । विकृति हटाउँदै यसको मूल भावको संरक्षण गर्नु आजको आवश्यकता हो ।