काठमाडौं : काठमाडौंको थापाथलीमा रहेको साउदी भिसा सेवा केन्द्र ‘तसिर’बाट वैदेशिक रोजगारीमा जाने कामदारको भिसा प्रक्रियामा अनावश्यक झन्झट खडा गरेर अनुचित रूपमा शुल्क उठाउने गरेको गुनासो बढेको छ ।
वैदेशिक रोजगारमा साउदी अरेबिया जाने कामदारको बायोमेट्रिक शुल्क सात सय भएपनि बायोमेट्रिकका लागि तोकिएको समयमा नआएको भन्दै चार दोब्बरसम्म शुल्क लिएर विपन्न अवस्थामा रहेका कामदारको शोषण गरिएको कतिपय वैदेशिक रोजगार व्यवसायीले गुनासो गरेका छन् ।
साउदी अरब जाने सबै प्रकारका भिसाका लागि आवश्यक प्रक्रिया २४ घण्टाभित्रै पूरा हुने नेपालस्थित साउदी दूतावासले बताएको छ । तर कतिपय व्यवसायीले भिसा सेन्टरले सीमित संख्यामा मात्रा कामदारको बायोमेट्रिक गर्ने भएकाले ढिलाइका साथै अनावश्यक रूपमा खर्चिलो हुने टिप्पणी गरेका छन् । 'उक्त केन्द्रबाट सिस्टम बिग्रिएको भन्ने बहाना बनाउँदै काम रेक्ने र सेटिङमा चार गुणासम्म बढी रकम लिएर लुट्ने गरिएको छ,' एक व्यवसासीले आफ्नो नाम गोप्य राख्ने शर्तमा मध्यान्हलाई भने । साउदी भिसा सेन्टरले नेपाली कामदारको बायोमेट्रिक फिंगरप्रिन्ट कार्य साढे चार अमेरिकी डलरमा गरिने बताएको छ । तर वैदेशिक रोजगार व्यवसायीहरूले समयको अनिश्चितताका कारण बायोमेट्रिकका नाममा कामदारको २५ हजार रुपैयाँसम्म खर्च हुने दाबी गरेका छन् ।
साउदीमा हाल मासिक १० हजारभन्दा बढी नेपाली कामदार वैदशिक रोजगारीमा जाने गरेका छन् । साउदीबाट घरबिदामा आएका कामदारले साउदी फर्किँदासमेत केन्द्रमार्फत बायोमेट्रिकलगायतका अन्य परीक्षण गर्नुपर्ने व्यवस्था छ ।
साउदी अरबले रोजगारीका लागि आफ्नो मुलुक आउने नेपाली कामदारलाई बायोमेट्रिक प्रणाली लागू गरेपछि साउदी भिसा सेवा केन्द्रले डेढ वर्षअघिदेखि वैदेशिक रोजगारमा जाने कामदारको बायोमेट्रिक लिन सुरु गरेको हो । सेवा केन्द्रको उद्घाटन गर्दा नेपालका लागि साउदी अरेबियाका राजदूत साद बिन नासेर अबु हैमदले सूचना प्रविधिमा आएको आधुनिक परिवर्तनअनुसार भिसा सेवाहरू प्रदान गर्ने र नेपालबाट दक्ष जनशक्ति भर्ना प्रक्रियालाई सहजीकरण गर्न साउदी भिसा सेवा केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका थिए ।
तर साउदी कामदार पठाउने व्यवसायीले भने कामदारको बायोमेट्रिक लिने नाममा तोकिएको समय ‘एप्वाइन्टमेन्ट टाइम’मा नआएको भनेर मनपरी शुल्क उठाउने गरिएको बताएका छन् ।
कामदारको भिसा प्रक्रियाका लागि बायोमेट्रिक लागू गर्न साउदी भिसा सेन्टरका नाममा निजी कम्पनीलाई जिम्मेवारी दिएको सार्वजनिक भएदेखि व्यवसायीले निष्पक्ष सेवा नपाइने गुनासो गर्दै आएका थिए । व्यवसायीको चर्को गुनासोपछि तत्कालीन अवस्थामा साउदी अरबका दूतावास प्रतिनिधि, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार महाशाखाका सहसचिव, साउदी भिसा सेवा केन्द्र ‘तासिर’का प्रतिनिधि र नेपाल वैदेशिक रोजगार व्यवसायी संघ नेतृत्व गरी पाँच पक्षीय छलफल भएको थियो ।
सानातिना समस्यामा दूतावासले परिचयपत्र (साउदी आइडी) रोक्ने, तर कामदारको बायोमेट्रिक गर्न म्यानपावर कम्पनीको साउदी आइडी अनिवार्य गर्दा थप समस्या परेको कतिपय व्यवसायीको भनाइ छ ।