२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

मलेसियाद्वारा नेपालको प्रस्ताव अस्वीकार

Nada
२०८३ कार्तिक ११ गते १२:५२
Shares
मलेसियाद्वारा नेपालको प्रस्ताव अस्वीकार

काठमाडौं : मलेसियाले नेपालका सबै १ हजार ११४ सक्रिय म्यानपावर कम्पनीलाई आफ्नो कामदार भर्ना प्रणालीमा आबद्ध गराउने नेपालको प्रस्ताव अस्वीकार गरेको छ । मलेसियाले फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस)मा सूचीबद्ध २५ मुख्य म्यानपावर कम्पनी र तिनका १०–१० सहयोगी कम्पनीमार्फत मात्रै नेपाली कामदार भर्ना गर्ने नीति कायम राख्ने जनाएको छ ।

नेपालले गत सेप्टेम्बर ११ मा कूटनीतिक नोट पठाउँदै र सेप्टेम्बर २४ मा दुई देशका मन्त्रीबीच भएको टेलिफोन वार्तामा सबै इजाजतप्राप्त म्यानपावर कम्पनीलाई मलेसियाको एफडब्लुसिएमएस आबद्ध गर्न आग्रह गरेको थियो ।

तर, मलेसियाको मानव संशाधन मन्त्रालयले पत्र पठाउँदै पुरानै व्यवस्था कायम रहने स्पष्ट पारेको हो ।

सीमित र कडा जाँचपास गरिएका एजेन्सीमार्फत कामदार भर्ना गर्दा अनैतिक भर्ती, सम्झौताविपरीत काममा लगाउने, अत्यधिक शुल्क असुल्ने र श्रमिक शोषणजस्ता जोखिम घट्ने मलेसियाको दाबी छ । कूटनीतिक पत्रमा उसले नेपालसँगको ऐतिहासिक तथा द्विपक्षीय सम्बन्धलाई उच्च महत्त्व दिएको पनि उल्लेख गरेको छ ।

काठमाडौंस्थित मलेसियाली दूतावासमार्फत परराष्ट्र मन्त्रालय हुँदै श्रम मन्त्रालयलाई पठाइएको पत्र भने औपचारिक माध्यमबाट प्राप्त नभएको श्रम मन्त्रालयका सूचना अधिकारी जगदीश पराजुलीले बताएका छन् ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले भने परराष्ट्र मन्त्रालयमार्फत मलेसियाली पक्षलाई औपचारिक पत्राचार गर्दै द्विपक्षीय छलफलका लागि काठमाडौंमा संयुक्त कार्यदल  ‘जोइन्ट वर्किङ ग्रुप’ (जेडब्लुजी)को बैठक आयोजना गर्ने प्रस्ताव पठाएको छ । 

ताजा खबर

सम्बन्धित खबर