काठमाडौं : नेपाली कांग्रेसको आगामी १५औं महाधिवेशनमा सभापतिका लागि शेखर कोइराला र पूर्वमहामन्त्री शशांक कोइराबीच प्रतिस्पर्धा हुने देखिएको छ । करिब दुई वर्षअघि नै उम्मेद्वारी घोषणासहित देशदौडाहामा शेखर जुटिरहेका बेला पूर्वमहामन्त्री शशांक कोइरालाले पनि आफू सभापति बन्नुपर्ने दाबी गरेका छन् । यससँगै कांग्रेसका दुई कोइरालाबीच नेतृत्वको भिडन्त हुने पक्क जस्तै देखिएको हो ।
दुवै नेताले आफ्नो अडानबाट पछि नहट्ने संकेत गरिसकेका छन् । शेखर सभापतिको मैदानमा छिरेर देशव्यापी सांगठनिक गतिविधिमा हिँडेको करिब दुई वर्ष भइसकेको छ । कृष्णप्रसाद कोइराला, बिपी कोइराला, नोना कोइरालालगायतको नेतृत्वबाट निर्माण भएको नेपाली कांग्रेसको विरासत १३औं महाधिवेशनबाट टुटेको थियो । टुटेको विरासत फर्काउने कोइरालाहरूले अनौपचारिक कसरत गरे पनि सार्वजनिक रूपमा त्यस्तो देखिएको छैन । १५औं सभापतिका लागि शेखरको तयारी भइरहँदा (नाताले भाइ) बिपी कोइरालाका सुपुत्रसमेत रहेका पूर्वमहामन्त्री शशांक कोइरालाले पनि आफ्नो उम्मेद्वारी रहने घोषणा गरिसकेका छन् । संस्थापन (देउवा) समूहबाट पाँच जना पूर्वपदाधिकारीहरूले नेतृत्वको दाबी गरेका छन् ।
जसमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र शशांक कोइराला छन् । तीबाहेक पनि वर्तमान कार्यसमितिका उपसभापति पूर्णबहादुर खड्का समेत सोही समूहबाट सभापतिको सशक्त दाबेदार हुन् । तर सभापति देउवाले अहिले नै कुनै नेतालाई आश्वासन दिएका छैनन् । यद्यपि, १३औं महाधिवेशनमा पपुलर मतका साथ महामन्त्री बनेका शशांक कोइरालालाई अघि सार्दा बिपी कोइरालाले जन्माएको कांग्रेसलाई उनकै लिगेसीमा फर्काएको सन्देश जाने देउवाले संकेत गरेसँगै शशांकले सभापतिको घोषणा गरेको उनीनिकटका नेताहरूले बताएका छन् । तर कतिपयले कांग्रेसको नेतृत्व सम्हाल्न सिटौला नै उपयुक्त हुने बहससमेत कांग्रेसको आन्तरिक बहस हुने गरेको छ । केही नेताले भने उपसभापति पूर्णबहादुर खड्कालाई टिमको नेता बनाउन सभापति देउवालाई दबाब बढाएका छन् ।
गत १४औं महाधिवेशनमा कोइराला परिवारबीचको बेमेल र गुटबन्दीकै कारण दोस्रो कार्यकाल पनि शेरबहादुर देउवा सभापति बनेपछि कांग्रेसको विरासत कोइरालामै फर्काउने विषय चुनौती बनेको थियो । १५औं महाधिवेशनको पूर्वसन्ध्यामा रहेको कांग्रेसमा आगामी नेतृत्वबारे व्यापक बहस भइरहेको छ । १५औं महाधिवेशनबाट आउने नेतृत्वबाट नेपाली कांग्रेसको भविष्य कस्तो हुने भन्ने निक्र्यौल हुने कांग्रेसका आमकार्यकर्ता र शुभेच्छुकहरूले मिहीन ढंगबाट हेरेका छन् ।
डा. शेखर कोइराला एउटा समूहको निर्विकल्प सभापतिका उम्मेद्वार बन्ने पक्का भएको उनी निकटका नेता डा. गोविन्दराज पोखरेलले बताए । ‘डा. शेखर कोइराला एउटा टिमबाट निर्विकल्प सभापतिको उम्मेदवार हुने पक्का छ,’ उनले भने, ‘अघिल्लोपटकको प्रमुख प्रतिस्पर्धी नेता भएकाले उहाँ आगामी सभापति नै हो । उहाँलाई अरू कोइराला परिवारका सबै सदस्यज्यूहरूको साथ रहन्छ भन्ने आमकार्यकर्ताले पनि विश्वास गरेका छन् र नेताहरूले त्यसमा विवेक पु¥याएर नेपाली कांग्रेसलाई बलियो पार्टी बनाउनुपर्नेछ ।’
पार्टी सभापतिका लागि अहिले आधा दर्जन बढी नेता प्रतिस्पर्धा गर्ने सोचमा छन् । तर, वर्तमान सभापति शेरबहादुर देउवाले आफ्नो समूहबाट कसलाई अघि सार्छन् भन्ने सबैभन्दा महत्वपूर्ण विषय बनेको छ । नेता शेखरले १५औं महाधिवेशनमा आफू सभापति पदमा उठ्ने कुरामा कन्फ्युजनमा नपर्न नेता एवं कार्यकर्तालाई आग्रह गरेका छन् । ‘अब जित्नकै लागि सभापतिमा उठ्ने हो र पार्टीमा गुमेको साख फर्काउने हो । त्यसका लागि तपाईंहरू आआफ्नो कार्यक्षेत्रमा खटिनोस् । म कुनै गुट बनाउन जाने होइन, सबैलाई समेटेर पार्टीलाई बलियो बनाउने मेरो ध्येय हुनेछ ।’ कोइरालाले जतिसुकै कोशिस गरे पनि पार्टी संगठन सुदृढीकरण र कार्यकर्ताहरूलाई न्याय गर्ने कुरामा आफूले भनेजति काम गर्न नसकेको बताउँदै आएका छन् ।
गत महाधिवेशनमा तीन कोइराला (शेखर, शशांक र सुजता) एकै ठाउँ रहेर नेतृत्व लिन सहमत हुने कार्यकर्ताको विश्वासलाई अविश्वासमा परिणत गरेका थिए । शेखर सभापतिको उम्मेदवार हुँदा शशांक देउवालाई सभापति बनाउने लबीमा लागेका थिए भने सुजता कोइराला प्रकाशमानसिंहको नेतृत्वमा उपसभापति उठेकी थिएन् । सभापतिको दोस्रो चरणमा भएको मतदानमा सुजतासमेत देउवाकै पक्षमा लागेर नेता शेखरलाई हराएका थिए । तर अहिले सुजता एक वर्षयता शेखरलाई सभापति बनाउने र त्यसका लागि शशांकलाई समेत मनाउन लागेको बताइकी छन् । तर पछिल्लोपटक शशांकले कांग्रेसलाई बिपीको पालाको जस्तै बनाउन आफैं सभापति हुनुपर्ने दाबी गरेका छन् । यससँगै दुई कोइरालाबीच सभापतिको प्रतिस्पर्धा हुने करिब पक्का भएको हो ।
‘मैले बिपी कोइरालाका पालाको जस्तो कांग्रेस बनाउन खोजेको छु,’ शशांकले भने, ‘त्यही कारणले म कांग्रेसको सभापति बन्नपर्छ ।’ आफू लाखौं कमाउने मान्छे रहेको उल्लेख गर्दै त्यो छोडेर राजनीतिमा आएको पनि बताए ।
‘मलाई कुनै लोभ छैन । म त नेपाली कांग्रेस बलियो बनाएर नेपाल र नेपालीको सेवाका लागि आएको हो । कृष्णप्रसाद कोइरालाको हजारौं बिघा जमिन थियो । आफूलाई कुनै अपुग नभएको मान्छे नेपाल र नेपालीका लागि जेलमै मृत्युवरण गर्न तयार हुनुभयो ।’ बिपी कोइराला १४ वर्ष जेल बसेको उल्लेख गर्दै पिताजी कृष्णप्रसाद कोइरालाले जेलमा नै मृत्युवरण गरेको उनले स्मरण गरेका छन् । समयमै १५औं महाधिवेशन हुनुपर्ने एजेन्डा लिएर हिँडेका शेखरको समेत कार्यान्वयन गर्न सकेका छैनन् । पार्टीको महाधिवेशन एक वर्ष सार्ने विषयमा सबै नेताबीच सहमति भइसकेको छ ।