–रूपा अर्याल
नेपाली समाज, संस्कृति र परम्परासँग गाँसिएको तिज पर्व महिलाहरूको लागि एउटा विशेष उत्सव हो । तिजलाई धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ । हिन्दु परम्पराअनुसार तिज विशेषगरी महिलाहरूले भगवान् शिवलाई प्रसन्न पार्ने उद्देश्यले मनाउने चाड हो । उपवास बस्ने, नाचगान गर्ने, दर खाने र अरू महिलासँग भेटघाट गर्ने अवसरका रूपमा यो पर्वलाई लिइन्छ । तर, समयसँगै तिजको स्वरूप र यसको अर्थ पनि बिस्तारै बदलिँदै गएको छ । यसले केवल धार्मिक आस्था मात्र होइन, महिलाहरूको स्वतन्त्रता, समानता र अधिकारसँग पनि गहिरो सम्बन्ध राख्छ ।
महिलाको अधिकार भन्ने कुरा केवल कानुनी वा राजनीतिक अधिकारमा मात्र सीमित हुँदैन, यो त सामाजिक, आर्थिक, सांस्कृतिक र पारिवारिक सबै क्षेत्रमा बराबरीको व्यवहार प्राप्त गर्ने विषय हो । नेपालमा महिलाले परम्परागत रूपमा सामाजिक, सांस्कृतिक र आर्थिक बाध्यताका बिच जीवन व्यतीत गर्दै आएका छन् ।
विवाहपश्चात् महिलालाई आफ्नो जीवनसाथी र परिवारको लागि समर्पित हुनुपर्ने परम्परा अझै पनि बलियो छ । त्यही परम्पराको एउटा प्रतिबिम्ब तिज पर्वमा पनि देखिन्छ, जहाँ महिलाहरूले आफ्नो श्रीमानको दीर्घायु र सुख–समृद्धिको लागि उपवास बस्छन् । यस दृष्टिले हेर्दा तिज महिलाको आत्म बलिदान र त्यागको प्रतीकजस्तै लाग्छ । तर, यस पर्वलाई अर्को कोणबाट पनि बुझ्न सकिन्छ । तिज महिलाको भेटघाट र स्वतन्त्रतापूर्वक रमाउने अवसरको पर्व हो । वर्षभरिको व्यस्तता, श्रम र थकानपछि महिलाले आफन्त, साथीभाइसँग भेटघाट गर्दै नाचगान गर्ने मौकाप्राप्त गर्छन् । यसरी तिज महिलाको सामाजिक एकताका रूपमा पनि स्थापित भएको छ । दर खाने परम्पराले पनि महिलाबिचको सम्बन्ध मजबुत बनाउँछ र आपसी समझदारी बढाउँछ । यसरी तिज केवल परिवार वा पति–केन्द्रित नभई महिलाबिचको सहकार्य, सम्बन्ध र खुसी बाँड्ने अवसर पनि हो ।
तिजसँग जोडिएको अर्को महत्वपूर्ण पक्ष भनेको महिला अधिकारप्रतिको चेतना हो । पछिल्ला दशकमा नेपालमा महिला अधिकारका क्षेत्रमा ठूलो परिवर्तन आएको छ । संविधानले महिलालाई शिक्षा, स्वास्थ्य, सम्पत्ति, रोजगारी, राजनीति र निर्णय प्रक्रियामा समान अधिकारको सुनिश्चितता दिएको छ । तर यथार्थमा हेर्दा, अझै महिलाले पुरुष बराबरको व्यवहार पाएका छैनन् । तिजका गीत र नृत्यहरूले यो वास्तविकतालाई उजागर गर्ने माध्यमको रूपमा काम गरेको छ । विगतमा तिजका भजन वा गीतहरू केवल शिव–पार्वतीको कथा वा पतिको दीर्घायुको वरिपरि सीमित थिए भने अहिलेका तिज गीतहरूले लैङ्गिक असमानता, महिला हिंसा, विवाहमा हुने दाइजो प्रथा, बालविवाह, पुरुष प्रधान मानसिकता, रोजगारीमा भेदभावजस्ता विषयलाई खुलेर उठाएका छन् । यसले तिजलाई महिला अधिकारका आन्दोलनसँग जोड्ने काम गरेको छ ।
तिजलाई महिला सशक्तीकरणको पर्वका रूपमा पनि लिन सकिन्छ । उपवास बस्दा महिलाले आफ्नो दृढ संकल्प र आत्म शक्ति देखाउँछन् । नाचगान गर्दा उनीहरूले आफ्नो मनभित्रको पीडा, असन्तोष र विद्रोहलाई पनि उजागर गर्छन् । गाउँदेखि सहरसम्म गाइने तिजका गीतहरूले महिलाको आवाजलाई सबल बनाएको छ । तिनै गीतमार्फत महिलाले आफ्नो पीडा, दुःख र चाहनाहरू सार्वजनिक रूपमा प्रस्तुत गर्न पाएका छन् । यो एउटा मौन आन्दोलनजस्तै हो, जसले समाजलाई महिला अधिकारप्रति सचेत गराउने काम गरेको छ ।
यद्यपि तिजलाई लिएर समाजमा फरक फरक दृष्टिकोण छन् । कतिपयको भनाइ छ कि तिज अझै पनि महिलालाई पुरुष निर्भर जीवनप्रति प्रेरित गर्ने पर्व हो । किनकि यसमा महिलाले आफ्नो जीवनसाथीको दीर्घायुको लागि मात्र उपवास बस्छन्, तर पतिले पत्नीका लागि उपवास बस्दैनन् । यसले लैङ्गिक समानताको सन्देश दिन सक्दैन भन्ने आलोचना हुने गरेको छ । अर्कोतर्फ कतिपयको धारणा छ कि तिजलाई पुरातन परम्परामा मात्रै सीमित नगरी यसलाई महिला अधिकारको स्वरसँग जोडेर अगाडि बढाउन सकिन्छ । महिलाले आफ्ना अधिकारका प्रश्न, समानताको माग र आत्मसम्मानलाई गीतमार्फत व्यक्त गर्दा तिज आधुनिक चेतना र परिवर्तनको पर्व बन्न सक्छ ।
समाज परिवर्तनको दृष्टिले पनि तिज महत्वपूर्ण छ । महिला अधिकारका विषयमा धेरै कुरा कानूनले सुनिश्चित गरे पनि व्यवहारमा अझै महिलाले भोग्नुपर्ने चुनौती कम छैन । दाइजोको नाममा हुने हिंसा, घरेलु अत्याचार, शारीरिक र मानसिक यातना, निर्णय प्रक्रियाबाट वञ्चित हुनु, सम्पत्तिमा समान हक नपाउनु, यी सबै समस्या अझै विद्यमान छन् । यस्ता कुरा तिजका गीतमा जब खुल्छन्, तब समाजलाई आत्म विश्लेषण गर्ने अवसर मिल्छ । यसरी तिज महिलाले भोगेका यथार्थलाई समाज अगाडि राख्ने शक्तिशाली माध्यम बनेको छ । तिज पर्वले ग्रामीण क्षेत्रदेखि सहरी क्षेत्रमा रहेका महिलालाई जोड्ने सेतुको काम गरेको छ । तिजले महिला चेतना र अधिकारको सवाललाई जीवन्त राख्ने काम गरेको छ । यसैले तिजलाई केवल भौतिक रूपमा मनाउने पर्व नभई, मानसिक, सांस्कृतिक र सामाजिक विमर्शको पर्वका रूपमा पनि हेर्न सकिन्छ ।
नेपालमा महिला अधिकारबारे बढ्दो चेतना र तिज पर्वबिचको सम्बन्ध अझ गहिरो बन्दै गएको छ । अब तिजलाई केवल शिव–पार्वतीको कथासँग मात्र जोडेर बुझ्नु पर्याप्त हुँदैन । यसलाई महिलाको स्वतन्त्रता, समानता र अधिकारको पर्वका रूपमा विस्तार गर्नुपर्छ । महिलाले आफ्नो खुसी, अधिकार र स्वतन्त्र जीवनका लागि पनि उपवास बस्न सक्छन्, गीत गाउन सक्छन् अनि नाच्न सक्छन् । यसरी तिजलाई आधुनिक दृष्टिले पुनव्र्याख्या गर्दा यो पर्व अझ सशक्त र प्रगतिशील बन्न सक्छ ।
तिज पर्व, महिला अधिकार र चेतनाको प्रतीक बन्न सक्ने अवसर बोकेको पर्व हो । परम्परागत मूल्य र संस्कारलाई जोगाउँदै यसलाई महिलाको स्वतन्त्रता र समानताको सन्देश दिने उत्सवमा बदल्न सकिन्छ । तिजले महिलाबिचको एकता, सामाजिक सम्बन्ध र अधिकारका सवाललाई जोड्ने कार्य निरन्तर गरिरहेमा यो पर्व केवल धार्मिक नभई, सामाजिक परिवर्तन र महिला सशक्तीकरणको पर्वका रूपमा पनि स्थापित हुनेछ ।