एएफपी : अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी)ले सशस्त्र द्वन्द्व र हिंसाका कारण अफ्रिकामा अहिले ८२ हजारभन्दा बढी मानिस बेपत्ता भएको छ।
केन्याको राजधानी नैरोबीबाट जारी विज्ञप्तिमा आईसीआरसीका अफ्रिका क्षेत्रीय निर्देशक प्याट्रिक युसुफले भने, “यो आँकडा बेपत्ता भएकाहरूको एउटा सानो अंशमात्र हो ।”
आईसीआरसी र यसको अन्तर्राष्ट्रिय रेडक्रस र रेड क्रिसेन्ट आन्दोलनका साझेदारहरूले सन् २०२४ मा उक्त महादेशमा ७५५ पारिवारिक पुनर्मिलनको सुविधा प्रदान गरेका र पाँच हजार ८३ परिवारहरूलाई प्रियजनहरू कहाँ छन् भन्ने निश्चित समाचार प्रदान गरेका विज्ञप्तिमा उल्लेख छ ।
तर यी सकारात्मक नतिजाका बावजुद आईसीआरसीले अफ्रिकामा हराएका व्यक्तिहरूको सङ्ख्या बढ्दै गएको बताएको छ। परोपकारी संस्थाका अनुसार सुडानमा भएको द्वन्द्व यो वृद्धिको प्रमुख कारण हो र द्वन्द्वका क्रममा हराएका व्यक्ति पत्ता लगाउन सात हजार ७०० भन्दा बढी अनुरोध गरिएको छ ।
आइसिआरसीले भनेको छ, “छिमेकी चाड र दक्षिण सुडानबाट आउने अनुरोधहरूको बढ्दो सङ्ख्याका कारण यो आँकडा सन् २०२३ को तुलनामा ५२ प्रतिशतले वृद्धि भएको छ । अफ्रिकी देशहरूमा सुडानबाट भागेर आएका मानिसहरूको सङ्ख्या बढ्दै गएको छ।”
आईसीआरसीले अफ्रिकामा बेपत्ता हुने घटनाको दृश्यता र यस क्षेत्रमा हराएका व्यक्तिहरूको मुद्दालाई रोक्न र प्रतिक्रिया दिन थप अन्तर्राष्ट्रिय प्रयासहरूको लागि आह्वान गरेको छ।
चाडमा दर्ता भएका हराएका व्यक्तिको सङ्ख्या दुई हजार ५७७ पुगेको छ । सन् २०२३ को तुलनामा यो २७५ प्रतिशतको वृद्धि हो । दक्षिण सुडानमा पनि यो अवस्था दोहोरिएको छ ।
दक्षिण सुडानमा बेपत्ता व्यक्तिहरूको सङ्ख्या ७० प्रतिशतले वृद्धि भएको र छ हजार ५९७ जना पुगेको विज्ञप्तिमा उल्लेख छ।चाड र दक्षिण सुडानमा द्वन्द्व सुरु भएदेखि नै सुडानी शरणार्थीको ओइरो लागेको आइसिआरसीले जनाएको छ ।