काठमाडौं : मिडिया अलाइन्स नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकारिताको गोप्य स्रोत खुलाउन गरेको पत्राचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले आर्थिक दैनिकमा प्रकाशित दुई समाचारसँग सम्बन्धित अडियोको स्रोत, अडियो उपलब्ध गराउने व्यक्तिको नाम, सम्पर्क नम्बर र प्राप्त भएको मिति उपल्ब्ध गराउन माग गर्दै पत्राचार गरेको थियो ।
आर्थिक दैनिकले २०८२ असार ११ गते ‘सामान्य प्रशासनमन्त्री गुप्ताद्वारा लाखौंको घुस लेनदेन गरेको भन्दै अख्तियारमा उजुरी’ र २०८२ साउन १८ गते ‘७० लाख घुसकाण्डमा मुछिएका मालपोत प्रमुख पौडेललाई मन्त्री अधिकारी र सचिवको संरक्षण’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।
मिडिया अलाइन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकारले जारी गरेको विज्ञप्तिमा आयोगको पत्राचार संविधान, प्रचलित कानुन र पत्रकार आचारसंहिताविपरीत रहेको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘...सूचना दिने स्रोतको गोपनियताको रक्षा गर्नु पत्रकार र सञ्चारमाध्यमको परम कर्तव्य हो भन्ने तथ्य नभुलोस् ।’
अलाइन्सले आयोगलाई सो पत्राचार फिर्ता लिन आग्रह गर्दै आइन्दा सञ्चारमाध्यमलाई गोप्य स्रोत खोल्न दबाब नदिन आग्रह गरेको छ । ‘पटक–पटक सञ्चारमाध्यममाथि संवैधानिक अंगबाटै दबाब दिने काम दोहोरिए कानुनीलगायत आवश्यक उपचार खोज्न बाध्य हुनेछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
साथै, अलाइन्सले सञ्चारमाध्यमलाई पनि सूचना पाउने जनताको अधिकारमा कुनै शक्ति वा निकायसँग नझुकी आचारसंहिताको परिधिभित्र रहेर निडर ढंगले समाचार सम्प्रेषण गर्न आह्वान गरेको छ ।