अर्घाखाँची : अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ केरुङ्गा पातले पोखरामा श्रीमानले श्रीमतीको हत्या गरी घरमै गाडेको घटना सार्वजनिक भएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार प्यूठान नौबहिनी गाउँपालिका घर भई करिब ८ वर्षदेखि सो स्थानमा बस्दै आएका ३६ वर्षीय किरण गुरुङले आफ्नी श्रीमती ३४ वर्षीया सुमित्रा कुमाल गुरुङको हत्या गरेका हुन् ।
चार–पाँच दिनदेखि सुमित्रा बेपत्ता भएपछि छरछिमेकी र माइती पक्षले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि गरिएको खोजतलासमा भदौ १६ गते राति उनको शव घरको भान्साकोठामा खाडल खनेर गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, भदौ १२ गते राति करिब १२ बजे सामान्य विवाद हुँदा किरणले बाँसको लाठी, हँसियाको पछाडिको भाग र कोदालो प्रयोग गरी सुमित्रामाथि आक्रमण गरेका थिए । आक्रमणबाट गम्भीर घाइते भएकी सुमित्राको घटनास्थलमै मृत्यु भएपछि शवलाई कम्बलमा बेरेर भान्साकोठामा गाडिएको अनुसन्धानबाट खुलेको हो ।
घटनापछि पक्राउ परेका किरण गुरुङलाई अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी चक्रबहादुर मल्लले जानकारी दिए । उनका अनुसार घटनाको बेला किरण अत्यधिक मादक पदार्थ सेवन गरेका थिए ।
सुमित्रा र किरण दुवैको दोस्रो विवाह थियो । उनीहरूको ९ वर्षकी एक छोरी छिन् । यस्तै, किरणको पहिलो विवाहबाट दुई छोरी र सुमित्राको पहिलो विवाहबाट तीन छोरी रहेको पनि प्रहरीले जनाएको छ ।