काठमाडौं : भारतको नयाँ दिल्ली बसेर अवैध रूपमा मिर्गौला तस्करी गर्ने नेपाली गिरोह नै सक्रिय रहेको छ । सो गिरोहले सय जनाभन्दा बढीको मिर्गौला बेचविखन गरेको तथ्य खुलेको हो ।
मिर्गौला तस्करीमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–७ का श्यामकृष्ण भण्डारी र सिन्धुपाल्चोककै इन्द्रावती गाउँपालिका–२ का सुजन भारतीसहितको टोली संलग्न रहेको पाइएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले मिर्गौला बिक्री गर्ने कार्यमा संलग्न भण्डारी र भारतीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । भण्डारीलाई कञ्चनपुर र भारतीलाई पर्साको वीरगन्जबाट नियन्त्रणमा लिएको ब्युरोले जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौं, नुवाकोट, काभ्रेपलाञ्चोक, धादिङ, सिन्धुली, सिन्धुपाल्चोकलगायत जिल्लाका सर्वसाधारणलाई दिल्लीमा रोजगारीको प्रलोभन देखाएर मिर्गौला झिक्ने गरेका थिए । उनीहरूले मिर्गौला बेच्न तयार हुने व्यक्तिलाई ६ लाख नेपाली रुपैयाँ दिने लोभ देखाए पनि पीडितलाई रकम नपाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यस्तो व्यक्ति खोज्नेलाई प्रतिव्यक्ति ५० हजार दिने सर्तमा विभिन्न जिल्लाबाट मिर्गौला दिने व्यक्तिहरू खोज्दै भारत लैजाने गरेको प्रहरीले जनाएको छ ।
मिर्गौला तस्करीका मुख्य आरोपी भण्डारीले भारतको दिल्लीस्थित लाजपतनगरमा बसेर मिर्गौलाको अवैध व्यापार गर्दै आएको अनुसन्धानबाट खुलेको नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) कृष्णप्रसाद पंगेनीले बताए । ‘एउटा किड्नी दिँदैमा मान्छे मर्दैन र स्वास्थ्यमा कुनै असर गर्दैन’ भन्दै ६ लाख रुपैयाँ दिने आश्वासनमा सर्वसाधारणको मिर्गौला झिक्ने भण्डारीले बयान दिएका छन् ।
प्रहरीको विशेष अनुसन्धानबाट अवैध रूपमा हुँदै आएको मिर्गौला तस्करीलाई सीमापार अपराधका रूपमा लिएर संगठित अपराधअन्तर्गत अदालतबाट म्याद थप गरिएको एसएसपी पंगेनीले बताएका छन् । ‘हामीले यस अपराधलाई संगठित र सीमापार अपराधका रूपमा लिएका छौं,’ उनले भने, ‘संगठित रूपमै अपराध गरेको पाइएपछि सोहीअनुसार अदालतबाट म्याद लिएका हौं । मिर्गौला तस्करी गर्ने गिरोहमध्येको एउटा ठुलो नेक्सस तोड्न हामी सफल भएका छौं, यसैबाट विस्तारै धेरै कुरा खुल्दै जानेछ ।’
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले यसअघि साउन २० गते काठमाडौं, नुवाकोट र काभ्रेपलाञ्चोकबाट मिर्गौला झिक्ने कार्यमा संलग्न सोही गिरोहका तीन जना सदस्य राकेश नेपाली, समीर नेपाली र कुमार भन्ने राजकुमार नेपालीलाई पक्राउ गरी अनुसन्धानमै राखेको छ । उनीहरूको बयान र पीडितले दिएको जाहेरीका आधारमा भण्डारी र भारती समातिएको प्रहरीले जनाएको छ । भण्डारीसहित तस्करको समूहले किड्नी दिन तयार भएका नेपालीलाई काठमाडौंदेखि दिल्लीसम्म गाडीमा रिजर्भ गरी लैजाने र होटलबास खर्चसमेत दिने गरेको पाइएको छ ।
त्यसपछि रगत परीक्षण गरी क्लिनिकमा अपरेसन गरी मिर्गौला झिकेपछि सम्बन्धित नेपालीलाई दिल्लीबाट काठमाडौं आउने भाडा दिएर पठाउने गरेको खुलेको छ । भण्डारीको समूहले दिल्लीको लाजपतनगरस्थित एक होटलमा नेपालीलाई राख्दै आएको थियो । ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण पंगेनीका अनुसार भण्डारीले मिर्गौला तस्करी गर्न संगठित गिरोह नै सञ्चालन गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।
‘प्रहरीको प्रारम्भिक अनुसन्धामा भण्डारीले भारतको ग्रेटर नोयडास्थित यथार्थ हस्पिटल र विभिन्न क्लिनिकका कर्मचारी तथा एजेन्टसँग समन्वय गरी २५ जना व्यक्तिको मिर्गाैला बेचेको स्वीकार गरेका छन्,’ एसएसपी पंगेनीले भने, ‘तर भण्डारी सयभन्दा बढी व्यक्तिहरूको मिर्गौला बेचबिखनमा संलग्न भएको पाइएको छ ।’ मिर्गौला निकाल्नुअघि आँखामा पट्टी बाँधेर अज्ञातस्थलमा लगी सुईमार्फत बेहोस गर्ने गरेको पाइएको छ । मिर्गौला झिकेपछि तीन÷चार दिन अस्पताल राखेर नेपाल फर्काउने गरेका थिए । मिर्गौला दिने व्यक्तिहरू रगतको नमुना अस्पतालका कर्मचारी होटेलमै आएर संकलन गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।
अवैध अंग प्रत्यारोपणमा नौ मुद्दा
हालसम्म यो घटनामा पाँच जना पीडितले जाहेरी दिइसकेकोमा चारवटा मुद्दा दर्ता भइसकेको प्रहरीले जनाएको छ । २०७६ यता मानव बेचबिखन ब्युरोले मात्रै अवैध अंग प्रत्यारोपण शीर्षकमा काठमाडौं परिसर, जिल्ला प्रहरी कार्यालय पर्सा, रूपन्देही, सप्तरी र बालाजु वृत्तले नौवटा मुद्दा दर्ता गरेको प्रहरीको अभिलेखमा उल्लेख छ । त्यसमध्ये मिर्गौला बेचबिखनमा मात्रै २०७६ यता ६ वटा मुद्दा दर्ता भएका छन् ।
मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले मानव अंग खरिदबिक्रीमा संलग्न गिरोहलाई पक्राउ गर्न ‘अपरेसन लाइफ सिल्ड’ नै चलाएको थियो । सो अभियान चलाएको केही दिनमै मानव अंग तस्करीहरू पक्राउ परेका ब्युरोका सूचना अधिकारी एसपी नरेन्द्र कुँवरले जनाकारी दिए । पक्राउ परेकाविरुद्ध संगठित अपराध ऐनअन्तर्गत कारबाही हुने प्रहरीको भनाइ छ । सो ऐनअन्तर्गत मानव बेचबिखन र गैरकानुनी रूपमा अंग बेचबिखनमा संलग्नलाई १० वर्ष कैद र २ लाख रुपैयाँदेखि ५ लाखसम्म जरिमाना गर्ने व्यवस्था छ । संगठित अपराध निवारण ऐन २०७० बमोजिम सम्बद्ध कसुरमा तोकिएको सजायमा डेढी बढाई सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।