२०८२ भदौ ९ गते सोमवार / Aug 25 , 2025 , Monday
२०८२ भदौ ९ गते सोमवार
Ads

घर आउँदैछु भनेकी रुबीको शव सुटकेसमा, घटना अझै रहस्यमय

shivam cement
धर्मेन्द्रकुमार साह
२०८२ भदौ ८ गते २१:१८
घर आउँदैछु भनेकी रुबीको शव सुटकेसमा, घटना अझै रहस्यमय

रौतहट : ‘आमा, बजारबाट के ल्याइदिऊ ?’ शनिबार साँझ ६ बजे रुबी साहले आमासँग गरेको अन्तिम संवाद यही थियो । आमाले ‘सबै सामान छ’ भन्दै जवाफ फर्काइन् । तर त्यो संवाद आमा–छोरीबीचको अन्तिम बनेर रह्यो । 

अन्दाजी ३० वर्षीया रुबी साह कोठाबाट गौर बजार जाने भन्दै हिँडेकी थिइन् । ब्युटी पार्लर जाने भनेर दिउँसो ४ बजे निस्किएकी उनको फोन साँझ ६ बजेपछि सम्पर्कविहीन भयो । रातभर सम्पर्कमा नआएपछि आमा छट्पटाइन् । भोलिपल्ट बिहान सुटकेसमा महिलाको शव भेटिएको खबर सुन्नासाथ उनी झन् सशंकित भइन् । प्रहरी कार्यालय र अस्पताल पुगेपछि शव आफ्नै छोरी रुबीको भएको पहिचान गरिन् । माधव नारायण नगरपालिका–२ की रुबीको ५ वर्षअघि भारतको मुज्जफरपुरका शिवसागर साहसँग विवाह भएको थियो । हाल उनी गौर–२ महादेवपट्टीमा आमा र छोरासँग डेरामा बस्दै आएकी थिइन् । 

शनिबार राति १० बजेदेखि सामाजिक सञ्जालमा बेवारिसे सुटकेस भेटिएको र त्यसमा महिलाको शव हुन सक्ने आशंकासहितका पोस्टहरू आउन थालेका थिए । प्रहरी रातभर घटनास्थलमा खटियो । बम भएको आशंकामा बिहान नेपाली सेनाको टोलीले परीक्षण गर्दा विस्फोटक पदार्थ नभएको पुष्टि गर्‍यो । त्यसपछि प्रहरी नायब उपरीक्षक राजु कार्की नेतृत्वको टोलीले सुटकेस खोलेर रातो रंगको सुट लगाएकी गोरो वर्णकी महिलाको शव फेला पार्‍यो । 

शवको प्रकृति हेर्दा घाँटीमा दाग, टाउकोमा चोटका निशान र नाकबाट रगत बगेको देखियो । प्रहरीले तत्काल हत्या गरी शव फालिएको निष्कर्ष निकाल्यो ।

शवलाई गौर अस्पताल पुर्‍याएर अनुसन्धान अघि बढाइएको छ । बिहान ११ बजेसम्ममा शव रुबीको रहेको पहिचान भइसके पनि घटनाको कारण र हत्यारा पत्ता नलाग्दा घटना अझै रहस्यमयी बनेको छ ।

मृतकले चलाउँदै आएको मोबाइल पनि गायब

रुबीको भिनाजु राजन महतोका अनुसार उनले प्रयोग गर्ने नेपाली नम्बर ९७०५४९९३३५ र भारतीय नम्बर ७२५००५४०४६ दुवै मोबाइल फोन भेटिएको छैन । मोबाइल नभेटिनु अनुसन्धानका लागि चुनौती बनेको प्रहरीको भनाइ छ ।

प्रहरी प्रवक्ता राजु कार्कीले घटनाबारे विशेष ढंगले अनुसन्धान भइरहेको बताए । उनका अनुसार गौर र वरपरका सीसीटीभी फुटेजहरू हेरिँदैछन्, आवश्यक परे काठमाडौंबाट विज्ञ टोली पनि पठाइनेछ । ‘मोबाइल नभेट्दा केही गाह्रो भएको छ, तर मोबाइलको टावर लोकेसन गौर आसपासमै देखिएको छ । हामी अलग–अलग कोणबाट अनुसन्धान गर्दैछौं,’ उनले भने । 

ADV

सम्बन्धित खबर

Advertise