लिस्बन : युरोप भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई पोर्चुगलमा भव्य स्वागतसहित नागरिक अभिनन्दन गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलको आयोजनामा राजधानी लिस्बनमा पूर्वकार्यकारी निर्देशक घिसिङलाई उज्यालो नेपालका नायकका रुपमा भव्य स्वागतसहित अभिनन्दन गरिएको हो ।
सो अवसरमा सम्बोधन गर्दै घिसिङले राजनीतिक नेतृत्व सही नभएसम्म देशको विकास हुन नसक्ने धारणा व्यक्त गरे । उनले सबै समस्या नेतृत्व तहसँग जोडिने भएकाले देशको समग्र विकासका लागि राजनीतिक नेतृत्व सही हुनुपर्ने जिकिर गरे ।
‘सही व्यक्ति सही ठाउँमा भए सबै कुरा सही नै हुन्छ । नेपालमा ‘राइट म्यान इन राइट प्लेस इन राइट टाइम’ नहुँदा समस्या देखिएको हो’घिसिङले भने । राम्रो गरौं भनेर आएकाहरुलाई प्रोत्साहन गर्नुपर्नेमा निरुत्साहित गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले नेपालमा योग्य र राम्रा मान्छेलाई काम गर्न नदिने प्रवृत्ति बढेको बताए ।
‘नेपालमा केही भएको छैन भन्ने होइन, परिवर्तन भएको छ । सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा केही परिवर्तन भएको छ, तर जुन परिवर्तन हुनुपर्ने हो त्यो परिवर्तन पटक्कै भएको छैन,’घिसिङले भने ।
रोजगारी सिर्जना गर्न नसक्दा युवाहरूको विदेश पलायन बढिरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले देशमा ठूलो जनशक्तिको संकट देखापर्न सक्ने भन्दै यसलाई रोक्न गम्भीर हुनुपर्ने बताए ।
विद्युत् प्राधिकरणमा आफ्नो ३० वर्षे व्यवसायीक जीवनमा सधैं समर्पित भएर काम गरेको स्मरण गर्दै उनले घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याएको र लोडसेडिङ अन्त्य गर्न सफल भएको बताए ।
‘३५ अर्ब घाटामा रहेको प्राधिकरणलाई हामीले नाफामा ल्यायौं । त्यो नाफा विद्युत् महसुल बढाएर होइन, घटाएर ल्यायौं । आठ वर्षमा करिब ९० अर्ब नाफा गर्न सफल भयौं । त्यही अवधिमा लोडसेडिङ अन्त्य पनि गर्यौं । गाउँ–गाउँमा विद्युत् पुर्यायौं, भारत र बंगलादेशमा विद्युत् निर्यात गर्न समेत सफल भयौं’,घिसिङले भने । लोडसेडिङ अन्त्य आफ्नो नेतृत्वको टोली र सबै नेपालीको सद्भाव र सहयोगले सम्भव भएको उनले बताए ।
नेपालमा ५० हजारदेखि एक लाख मेगावाटसम्म जलविद्युत् उत्पादन गर्न सकिने क्षमता रहेको बताउँदै घिसिङले विद्युत् निर्यातबाट बिकास र समृद्धिसँगै शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुराहरु निःशुल्क गर्न सकिने धारणा व्यक्त गरे । सरकारले कार्यकाल सकिन चार महिना बाँकी रहँदै प्राधिकरणबाट हटाए पनि आफूले सरकारलाई धन्यवाद नै दिएको उनले बताए । सबै क्षेत्रमा देखापरेको अँध्यारो हटाएर उज्यालो ल्याउने संकल्पसहित ‘उज्यालो नेपाल अभियान’सुरु गरिएको बताउँदै घिसिङले देशको विकास र समृद्धिका लागि उज्यालो नेपाल अभियानलाई सहयोग गर्न सबैलाई आग्रह समेत गरे ।
नेपालको अर्थतन्त्रमा रेमिट्यान्सले ठुलो टेवा पुर्याएको उल्लेख गर्दै उनले विदेशमा रहेका नेपालीकोे देशको अर्थतन्त्रमा ठूलो योगदान रहेको बताए । अर्थतन्त्रमा टेवा पुर्यााएका प्रवासी नेपालीको योगदानलाई भने राज्यले सम्मान गर्न नसकेको उनको कथन थियोे । विदेशमा बस्ने नेपालीले संविधानले दिएको मताधिकार समेत प्रयोग गर्न नपाएको भन्दै उनले विदेशबाटै भोट हाल्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।
उनले गैरआवासीय नेपालीका नागरिकताको समस्यालाई सम्बोधन गर्नुपर्ने र नेपालमा लगानीको वातावरण बनाउनुपर्ने विचार व्यक्त गरे ।
महासंघका अध्यक्ष चोपकुमार रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका सल्लाहकार सोमफुरी शेर्पा, अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष अर्जुन घिमिरे, महासंघका वरिष्ठ उपाध्यक्ष सोनाम योञ्जन, प्रेमचन्द्र लिम्बु लगायतले बोलेका थिए ।