२०८२ भदौ १० गते मङ्गलवार / Aug 26 , 2025 , Tuesday
२०८२ भदौ १० गते मङ्गलवार
Ads

गौर रुबी साह मृत्यु प्रकरण : हत्या भएको खुलासा, शव बोक्ने रिक्सा चालक पक्राउ

shivam cement
धर्मेन्द्रकुमार साह
२०८२ भदौ ९ गते २०:५१
गौर रुबी साह मृत्यु प्रकरण : हत्या भएको खुलासा, शव बोक्ने रिक्सा चालक पक्राउ

रौतहट : रौतहट गौरमा सुटकेसबाट महिलाको शव फेला परेको घटनामा प्रहरीले ठुलो सफलता हात पारेको छ । अनुसन्धानक्रममा शव व्यवस्थापन गर्न प्रयोग भएको ई–रिक्सासहित चालकलाई पक्राउ गरेपछि हत्यारा भएको खुलासा भएको प्रहरीले जनाएको छ । प्रहरीले हाल हत्या आरोपितको नाम सार्वजनिक गरेको छैन । गौरकै एक घरबाट मृतक रुबी साहको चप्पलसहित अन्य सामान फेला परेको प्रहरीले जनाएको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा रुबी साहको हत्या गौर नगरपालिका–५ स्थित एक घरमा भएको खुलेको छ । सो घरमा डेरा गरी बस्दै आएका माधवनारायण नगरपालिका–६ माधोपुर निवासी लक्ष्मण पासवानले रुबीको हत्या गरी शव व्यवस्थापन गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

प्रहरी स्रोतका अनुसार हत्या भएपछि लक्ष्मण पासवानले गौरकै कबिर चौकबाट एउटा ई–रिक्सा भाडामा लिएर सुटकेसमा शव हालेर लगेका थिए । 

प्रहरी हिरासतमा रहेका चालकले सुटकेसमा शव रहेको कुरा आफूलाई थाहा नभएको बयानका क्रममा दिएका छन् । चालकले गङ्गा पिपरा पुर्‍याउने सर्तमा ५०० रुपैयाँमा सुटकेस लैजाने कुरा भएको तर बाटोमै रिक्साको चक्का बिग्रिएपछि फर्किएको बताएका छन् । आरोपित लक्ष्मण पासवान सुटकेससहित पैदलै अघि बढेको बताएका छन् । प्रहरीले पासवान बस्ने घरको तलासी गर्दा मृतक रुबीको चप्पलसहित अन्य सामान फेला पारेको छ । प्रहरीका अनुसार घटना भएको दिनदेखि नै पासवान फरार छन् ।

घटनाको पछाडि प्रेम प्रसंग

हत्या आरोपित पासवान केही दिनअघि मात्रै वैदेशिक रोजगारबाट फर्किएका थिए । उनको सामाजिक सञ्जाल टिकटकमा समेत मृतक रुबीको शव व्यवस्थापनमा प्रयोग गरिएको सुटकेस जस्तै देखिने सुटकेससहितको भिडियो सार्वजनिक भएको थियो ।

स्रोतका अनुसार मृतक रुबी साह र लक्ष्मण पासवानबीच विद्यालय जीवनदेखि नै प्रेम सम्बन्ध थियो । कक्षा १० मा अध्ययनरत रहँदै उनीहरूले भागेर विवाह गरेका थिए । पछि परिवारको दबाबमा उनीहरू छुटिएका थिए । सोही घटनासँग सम्बन्धित आरोपमा पासवान केही समय हिरासतमा समेत बसेको बुझिएको छ । त्यसपछि उनी वैदेशिक रोजगारमा गएका थिए ।

हत्या किन र कसरी भयो भन्ने स्पष्ट कारण भने अहिलेसम्म खुलेको छैन । तर, घटना भएको दिन मृतक रुबी गौर नगरपालिका–५ स्थित एक ब्युटी पार्लरमा गएकी थिइन् । त्यसपछि उनी पासवान बस्ने डेरामा पुगेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । यस घटनापछि प्रहरी अब फरार रहेका पासवानलाई खोजी गरिरहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय गौरले अनुसन्धान गहन रुपमा अगाडि बढिरहेको र अनुसन्धान सके लगतै सार्वजनिक गर्ने प्रतिक्रिया दिएको छ । 

ADV

सम्बन्धित खबर

Advertise