नवलपरासी : पश्चिम नवलपरासीको महेशपुर भुताहा हाईवेमा जोडिने पाल्हिनन्दन–सरावल सीमाक्षेत्रको सडक खाल्डाखुल्डीले जोखिमपूर्ण बनेको छ ।
दैनिक हजारौं नागरिकले प्रयोग गर्ने यो सडक अहिले खाल्टाखुल्डीले भरिएर सवारी साधन गुड्नै गाह्रो भएको छ । पानी परेपछि सडकमा हिलो जम्ने र साना सवारीसाधन चलाउन कठिनाइ हुने स्थानीयले बताएका छन् ।
यातायात व्यवसायीहरूले सडकको अवस्था बिग्रदा मोटरसाइकल र साना गाडीहरू चिप्लिने, पल्टिने र ठक्कर खाने जोखिम बढेको बताउँदै सवारी साधन बिग्रने र यात्रु घाइते हुने घटना बढेको बताएका छन् ।
स्थानीय लक्ष्मी हरिजनले भनिन्,‘सरावल र पाल्हिनन्दन दुवै स्थानीय सरकारले अहिलेसम्म ध्यान दिएका छैनन् । सडकको अवस्थाकै कारण ठूलो दुर्घटना हुनसक्छ भन्ने डर छ ।’
सडक बिग्रदा व्यापार, शिक्षा र स्वास्थ्य सेवामा समेत असर परेको छ । विद्यार्थी, बजार धाउने व्यवसायी र अस्पताल जानुपर्ने बिरामीहरू समेत कठिनाइ भोगिरहेका छन् । स्थानीयवासीहरूले सम्बन्धित निकायलाई तत्काल मर्मत गरी सडक सुचारु पार्न आग्रह गरेका छन् ।