२०८२ भदौ १० गते मङ्गलवार / Aug 26 , 2025 , Tuesday
२०८२ भदौ १० गते मङ्गलवार
Ads

डडेल्धुरा दुध र मासुजन्य उत्पादनमा आत्मनिर्भर

shivam cement
दिपकराज भट्ट
२०८२ भदौ ९ गते २१:११
डडेल्धुरा दुध र मासुजन्य उत्पादनमा आत्मनिर्भर

डडेल्धुरा : सुदूरपश्चिमको डडेल्धुरा जिल्ला दुध र मासुजन्य उत्पादनमा पूर्ण रूपमा आत्मनिर्भर भएको छ । जिल्लामा वार्षिक आवश्यक १२,९२४ मेट्रिक टन दुधको तुलना हाल १३,०१० मेट्रिक टन दुध उत्पादन भइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख देबराज भट्टले बताएका छन् । 

त्यस्तै, जिल्लामा वार्षिक आवश्यक १,९८१ मेट्रिक टन मासु आवश्यकतामा हाल २,१२३ मेट्रिक टन मासु उत्पादन भइरहेको छ । जिल्लाको कुल जनसंख्याको अनुपातमा दुग्धजन्य तथा मासुजन्य उत्पादन निर्यात समेत भइरहेको छ ।

भेटेरिनरी अस्पताल र पशु सेवा विज्ञ केन्द्रको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा डडेल्धुराका किसानहरूले ५२,९०२ गाई, २०,३५६ भैसी, १,४७,१३७ बाख्रा, २५५ भेडा, २,२५४ बंगुर, ५१,९३९ कुखुरा र २१६ हास पालन गरेका थिए । पछिल्ला वर्षको तुलनामा भैँसी, बाख्रा र बंगुरको संख्या वृद्धि भएको छ ।

जिल्लामा पशुपालन व्यवसायीक स्वरूपमा बढ्दै गएको छ । हाल यहाँ ३९ डेरी पसल, ३ चिलिङ भ्याट/दुग्ध संकलन केन्द्र, ८७ मासु पसल, २ मिट मार्ट, ४ ह्याचरी र दाना उद्योग सञ्चालनमा छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले किसानहरूको क्षमता विकास र कृषि अनुदानमार्फत व्यवसायिक उत्पादन प्रवर्धन गर्दै आएको छ ।

तर, अधिकांश किसानहरू अझै निर्वाहमुखी उत्पादनमा क्रियाशील छन् । आवश्यक पूर्वाधारको अभाव, पर्याप्त लगानी र प्राविधिक ज्ञानको कमीका कारण व्यवसायीक उत्पादनमा चुनौती रहेको किसानहरूले बताएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि व्यवसायीक उत्पादनमा केन्द्रित अनुदान उपलब्ध गराउने जनाएको छ । 

प्रत्येक स्थानीय तहमा एक व्यवसायीक उत्पादन प्रवद्र्धन गर्ने लक्ष्यसहित कृषि अनुदान उपलब्ध गराइने बताइएको छ । डडेल्धुराका सात पालिकामा पशुजन्य उत्पादन बढाउन भेटेरिनरी अस्पताल र पशु सेवा विज्ञ केन्द्रले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

ADV

सम्बन्धित खबर

Advertise