२०८२ भदौ १७ गते मङ्गलवार / Sep 02 , 2025 , Tuesday
२०८२ भदौ १७ गते मङ्गलवार
Ads

विकल्प वैदेशिक रोजगार !

shivam cement
मध्यान्ह
२०८२ भदौ १७ गते ०७:३९
विकल्प वैदेशिक रोजगार !

– ईश्वर बुढाथोकी
नेपालजस्ता विकासोन्मुख मुलुकमा बेरोजगारी एउटा दीर्घकालीन समस्या बनेको छ । शिक्षा हासिल गरेका हजारौं युवा रोजगारीको अभावमा घरमै निष्क्रिय बस्न बाध्य छन् भने अलि बढी संघर्षशील र जोखिम लिन चाहनेहरू बिदेसिन बाध्य हुन्छन् । कतिपयका लागि वैदेशिक रोजगारी जीवनको नयाँ ढोका हो भने कतिपयका लागि बाध्यता । तर के बेरोजगारी समस्याको समाधान वैदेशिक रोजगारी मात्र हो त भन्ने प्रश्न गम्भीर र समयसापेक्ष छ ।

नेपालमा बेरोजगारी समस्या बढ्नुका कारण धेरै छन् । पहिलो कारण भनेको उत्पादनमुखी शिक्षा प्रणालीको अभाव हो । विद्यालयदेखि विश्वविद्यालयसम्म अध्ययन गर्ने धेरैजसो विद्यार्थीहरूले शैक्षिक प्रमाणपत्र त पाउँछन् तर त्यसको प्रत्यक्ष प्रयोग हुने सिप उनीहरूसँग हुँदैन । यसरी शिक्षालाई जीवनयापनसँग गाँस्ने क्षमता कमजोर हुँदा लाखौं युवा बेरोजगार बन्न पुगेका छन् । दोस्रो ठुलो कारण भनेको राज्यको रोजगार सिर्जना गर्ने क्षमतामा कमी हुनु हो । कृषि, उद्योग र सेवा क्षेत्रमा पर्याप्त लगानी र नीतिगत स्पष्टता नहुँदा आन्तरिक रोजगारीका अवसर सीमित रहन्छन् ।

यस्तो अवस्थामा वैदेशिक रोजगारी युवाहरूका लागि विकल्पका रूपमा आएको छ । वैदेशिक रोजगारीले व्यक्तिगत स्तरमा मात्र होइन, राष्ट्रिय अर्थतन्त्रमा पनि ठुलो योगदान दिएको छ । परदेशबाट आउने रेमिट्यान्स आज नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी)को महत्वपूर्ण हिस्सा हो । ग्रामीण भेगका घरधुरीहरू वैदेशिक रोजगारीकै कारण छतले छाएको पक्की घर बनाउन, छोराछोरीलाई निजी विद्यालयमा पढाउन र स्वास्थ्य उपचारमा खर्च गर्न सक्षम भएका छन् । यसरी वैदेशिक रोजगारीले आमनागरिकको जीवनस्तरमा ठुला परिवर्तन ल्याएको देखिन्छ ।

तर, वैदेशिक रोजगारीले बेरोजगारी समस्या पूरै समाधान गर्छ भन्ने दाबी ठिक हुँदैन । यसका सीमाहरू पनि उत्तिकै छन् । पहिलो, बिदेसिनेमध्ये धेरैजसो असुरक्षित काममा संलग्न हुन्छन् । खाडी मुलुक, मलेसिया जस्ता स्थानमा गएका नेपालीहरूले घाम, धुलो र श्रममा जीवन बिताउँछन् तर उनीहरूको मेहनतको मूल्य न्यून हुन्छ । मजदुरी प्राप्त गर्दा समेत शोषण हुने, कानुनी अधिकार नपाउने र कहिलेकाहीँ त जीवन नै गुमाउनुपर्ने अवस्थासम्म आउँछ ।

वैदेशिक रोजगारीले देशभित्रको उत्पादनशील क्षेत्रलाई अझै कमजोर बनाएको छ । युवा पुस्ता बिदेसिन थालेपछि गाउँमा खेतीपाती गर्ने हात घट्यो । जोत्ने मान्छे नभएपछि उर्वर जमिन बाँझै बस्ने अवस्था छ । यसरी कृषि उत्पादनमा कमी आउँदा देश आयातमा अझ बढी निर्भर हुँदै गएको छ । यसलाई दीर्घकालीन रूपमा हेर्दा बेरोजगारी समाधान नभई उल्टै आत्मनिर्भर अर्थतन्त्रमा आघात पुगेको देखिन्छ ।

वैदेशिक रोजगारी अस्थायी समाधान मात्र हो । विदेशमा काम गर्न सक्ने उमेर पुग्दा मात्र यो विकल्प उपयुक्त हुन्छ । १०–१५ वर्षपछि जब ती कामदारहरू फर्किन्छन्, तब उनीहरूलाई नेपालमा पुनः रोजगारी दिन सक्ने व्यवस्था अभाव हुन्छ । त्यस्तो अवस्थामा ‘वैदेशिक रोजगारीले बेरोजगारीको समस्या समाधान ग¥यो’ भन्ने कुरा टाढाको हावाजस्तै लाग्छ ।

नेपालले बेरोजगारी समस्या समाधान गर्न वैदेशिक रोजगारीबाहेकका विकल्पमा ध्यान दिन जरुरी छ । पहिलो, कृषि क्षेत्रमा आधुनिकता र प्रविधिको प्रयोग बढाउनु आवश्यक छ । कृषि क्षेत्रमा लगानी भए हजारौं युवालाई गाउँमै उत्पादनमुखी रोजगारी दिन सकिन्छ । खेतीलाई व्यवसायीकृत गर्दै उत्पादनलाई बजारसँग जोड्न सकियो भने युवाहरू विदेशतिर होइन, आफ्नै माटोमा पसिना बगाउन रुचाउनेछन् ।

साना तथा मध्यम उद्योगलाई प्रोत्साहन दिनुपर्छ । नेपालमा हरेक वर्ष हजारौं युवा सिपसहित स्नातक वा प्राविधिक शिक्षा लिएर निस्कन्छन् । तर तिनले आफ्नै उद्योग वा व्यवसाय सुरु गर्ने वातावरण पाउँदैनन् । यदि सरकारले कर छुट, लगानीमा सजिलो ऋण र बजार सुनिश्चित गर्ने नीति ल्यायो भने तिनले रोजगारी सिर्जना गर्न सक्नेछन् । यसले केवल उनीहरूलाई मात्र होइन, अरूलाई पनि रोजगारी दिने सम्भावना बढ्छ ।

पर्यटन क्षेत्रलाई अझ सशक्त बनाउन सकिन्छ । प्राकृतिक सौन्दर्य, संस्कृति र धार्मिक सम्पदाले धनी नेपालमा लाखौं पर्यटक भित्र्याउने सम्भावना छ । यदि पर्यटन प्रवर्धनका कार्यक्रमलाई गम्भीरतापूर्वक अगाडि बढाइयो भने, होटल व्यवसायदेखि यातायात, हस्तकला, गाइडिङ, कला–संस्कृतिलगायतका क्षेत्रमा व्यापक रोजगारी सिर्जना गर्न सकिन्छ ।

सूचना प्रविधि (आईटी) क्षेत्रलाई व्यवस्थित र बलियो बनाउन सकिन्छ । अहिले विश्वव्यापी रूपमा अनलाइन काम, सफ्टवेयर विकास, ग्राफिक डिजाइन, डिजिटल मार्केटिङ, फ्रिलान्सिङजस्ता कामहरू विस्तार हुँदै छन् । नेपालका युवामा पनि यस क्षेत्रमा क्षमता छ । तर सरकारले आधारभूत पूर्वाधार, इन्टरनेट पहुँच र प्रोत्साहनको व्यवस्था गर्न सके भने हजारौं युवा आफ्नो घरमै बसेर विश्व बजारसँग जोडिन सक्नेछन् । यसले वैदेशिक रोजगारीमा जाने आवश्यकतामा कमी ल्याउँछ ।

राजनीतिक स्थायित्व र सुशासन आवश्यक छ । लगानीकर्ताहरू विश्वासिलो वातावरण खोज्छन् । राजनीतिक अस्थिरता, भ्रष्टाचार र नीतिगत अस्पष्टताले लगानी भाग्छ । जबसम्म यस्ता समस्या समाधान हुँदैनन्, तबसम्म देशभित्र पर्याप्त रोजगारी सिर्जना हुन सक्दैन । त्यसैले बेरोजगारीको समस्या समाधान गर्न सबभन्दा पहिले स्थायी राजनीतिक वातावरण आवश्यक छ ।

वैदेशिक रोजगारीलाई पूर्ण रूपमा नकार्न सकिँदैन । यसले तत्कालीन अवस्थामा धेरै नेपालीलाई रोजगारी दिएको छ र देशलाई पनि आर्थिक रूपमा अडाइरहेको छ । तर दीर्घकालीन समाधानका लागि केवल वैदेशिक रोजगारीमा भर पर्नु उपयुक्त होइन । वैदेशिक रोजगारीलाई अन्तिम विकल्प होइन, अस्थायी सहारा मात्र ठान्नुपर्छ ।

नेपालले आफ्नो आन्तरिक स्रोत र सम्भावनालाई चिन्नु जरुरी छ । कृषि, पर्यटन, उद्योग, सूचना प्रविधि र जलस्रोत जस्ता क्षेत्रलाई व्यवस्थित विकास गरेर मात्र बेरोजगारीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सकिन्छ । युवाहरूलाई वैदेशिक रोजगारीको बाध्यता होइन, आफ्नै देशमा सिप र मेहनत प्रयोग गरेर सम्मानपूर्वक बाँच्ने वातावरण दिन सकियो भने मात्र साँचो अर्थमा बेरोजगारी समस्या कम हुनेछ । त्यसैले ‘बेरोजगारीको समस्याको समाधान वैदेशिक रोजगारी मात्र हो’ भन्ने भनाइ पूर्ण सत्य होइन, बरु अस्थायी र अधुरो दृष्टिकोण मात्र हो ।
(बुढाथोकी, वैदेशिक रोजगारको क्षेत्रमा आबद्ध छन् ।)
 

ADV

सम्बन्धित खबर

Advertise