२०८२ भदौ १६ गते सोमवार / Sep 01 , 2025 , Monday
२०८२ भदौ १६ गते सोमवार
Ads

छिमेक सम्बन्धमा नेपाल

shivam cement
२०८२ भदौ १५ गते ०६:०५
छिमेक सम्बन्धमा नेपाल

–चन्द्रबहादुर बस्याल

नेपाल एउटा सानो भू–भागमा फैलिएको भए पनि यसको भूराजनीतिक महत्व निकै ठूलो छ । हिमालयको काखमा बसेको नेपाल उत्तरमा चीन र दक्षिण, पूर्व, पश्चिमतिर भारतले घेरेको छ । विश्व नक्सामा हेर्दा, नेपाल एक मध्यम आकारको मुलुक जस्तो देखिए पनि अन्तर्राष्ट्रिय राजनीतिका धेरै दृष्टिकोणमा यसलाई महत्वपूर्ण मानिन्छ । यसको मुख्य कारण भनेकै छिमेकसँगको सम्बन्ध हो । नेपालका दुई छिमेकी मुलुकहरू भारत र चीन मात्र नभई अन्य मुलुकहरूसँग पनि विभिन्न तहमा सम्पर्क, सहयोग र कूटनीतिक सम्बन्ध रहेका छन् । तर, प्रत्यक्षरूपमा प्रभाव पार्ने भनेका यी दुई विशाल छिमेकी नै हुन् ।

नेपाल–भारत सम्बन्धको चर्चा गर्दा सन्दर्भको गहिराइमा पुग्नैपर्छ । नेपालको राजनीतिक, आर्थिक र सांस्कृतिक जीवनमा भारतसँगको सम्बन्ध गहिरो छ । दुई देशबीचको नाका खुला छ, जसले गर्दा मानिसहरू स्वतन्त्र रूपमा एकअर्काको भूमिमा आवागमन गर्छन् । भारत व्यापार, रोजगार, शिक्षा, उपचार, पर्यटन जस्ता क्षेत्रमा नेपालको मुख्य सहारा रहँदै आएको छ । तर, यही नजिकको सम्बन्धले कतिपय विवाद र असमझदारी पनि जन्माएको छ । सीमा विवाद, नाकाबन्दी, राजनीतिक हस्तक्षेपको आरोपजस्ता घटनाले नेपाल–भारत सम्बन्ध कहिले काहीँ असहज पनि बनाएको छ । भारतले नेपाललाई आफ्ना रणनीतिक हितअनुरूप हेर्ने प्रवृत्तिले नेपाली जनमानसमा असन्तोष उत्पन्न हुने गरेको छ । तर, यसको अर्को पक्ष हेर्दा, भारत नेपालका लागि ठूलो अवसर पनि हो । विशाल बजार, लगानीको सम्भावना, पूर्वाधार विकासमा सहयोग, ऊर्जा व्यापार र सांस्कृतिक आदानप्रदान यी सबै कुराले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सक्छ ।

चीनसँगको सम्बन्ध हेर्दा, नेपालले विगत केही दशकयता धेरै प्रगति गरेको देखिन्छ । चीनसँग नेपालको सीमा हिमालले छुट्याएको छ तर व्यापार र राजनीतिक सम्बन्ध झन् विस्तार हुँदै गएका छन् । बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) जस्ता परियोजनाले चीन–नेपाल सम्बन्धलाई नयाँ आयाम दिएको छ । चीनले नेपालमा पूर्वाधार, ऊर्जा र यातायात क्षेत्रमा सहयोग बढाउँदै आएको छ । साथै, चीनले नेपाललाई सार्वभौमिकतामा अडिग रहन सघाउने दृष्टिकोण देखाएको छ । भारतसँगको असहज सम्बन्धका बेला नेपालले चीनलाई सन्तुलनकारी साझेदारको रूपमा प्रयोग गर्ने गरेको अनुभव छ । तर चीनसँगको सम्बन्ध पनि नेपालका लागि चुनौतीविहीन छैन । भौगोलिक कठिनाइ, यातायात अवरोध, व्यापार घाटाजस्ता समस्या अझै विद्यमान छन् । त्यसैले चीनसँगको सम्बन्धलाई अवसरमा परिणत गर्न नेपालले दीर्घकालीन रणनीति बनाउनैपर्छ ।

नेपालको छिमेक सम्बन्धलाई केवल भारत र चीनमा सीमित गरेर हेर्नु अपूरो हुन्छ । नेपालले बंगलादेशसँग पनि ऊर्जा व्यापार र यातायात पहुँचका क्षेत्रमा सम्बन्ध विस्तार गर्न थालेको छ । विशेषगरी जलविद्युत निर्यातमा बंगलादेश नेपालका लागि सम्भावनायुक्त साझेदार हो । पाकिस्तान, श्रीलंका, भूटान जस्ता दक्षिण एसियाली मुलुकहरूसँग पनि नेपालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मार्फत सहकार्य गर्दै आएको छ । यद्यपि, सार्क आफैंले प्रभावकारी रूपमा काम गर्न नसकेको अवस्थामा नेपालले यस्ता छिमेकी मुलुकहरूसँग द्विपक्षीय तथा बहुपक्षीय सम्बन्धलाई मजबुत बनाउनुपर्ने देखिन्छ ।

छिमेकसँग सम्बन्ध राख्दा नेपालको प्रमुख चुनौती भनेको सन्तुलन कायम गर्नु हो । भारत र चीन दुवै मुलुक विश्व शक्तिका रूपमा उदाउँदै छन् । उनीहरूबीचको प्रतिस्पर्धा नेपालमा पनि प्रत्यक्ष अप्रत्यक्ष असर पार्छ । नेपालले कुनै एकतर्फी झुकाव राख्दा अर्को मुलुक असन्तुष्ट हुने सम्भावना रहन्छ । यसैले नेपालले ‘सन्तुलित विदेश नीति’ अपनाउनुपर्ने हुन्छ । इतिहासमै हेर्दा पनि नेपालले तटस्थता, असंलग्नता र सार्वभौमिक समानताको सिद्धान्तलाई आधार बनाएर अघि बढेको छ । तर, व्यवहारमा भने नेपाली राजनीतिले कहिले काँही एक छिमेकीलाई सन्तुष्ट पार्दा अर्को छिमेकीसँग असहज हुने अवस्था बनाएको छ । यसरी दोहोरो दबाबको बीचमा नेपालले आफ्नो राष्ट्रिय हित सुरक्षित राख्न कठिनाइ भोग्दै आएको छ ।

छिमेकसँगको सम्बन्धले नेपालका आन्तरिक नीतिमा पनि प्रभाव पार्छ । राजनीतिक दलहरूको दृष्टिकोण, नीति निर्माण, विकास आयोजना र अन्तर्राष्ट्रिय सम्झौतामा छिमेकीको प्रत्यक्ष वा अप्रत्यक्ष दबाब महसुस हुन्छ । कतिपय अवस्थामा छिमेकीहरूसँगको सम्बन्धलाई आन्तरिक राजनीति गर्ने साधनको रूपमा प्रयोग गरिन्छ । जसले गर्दा राष्ट्रिय स्वार्थभन्दा दलगत स्वार्थ प्रमुख हुने अवस्था देखा पर्छ । यस्तो प्रवृत्ति दीर्घकालीन रूपमा नेपालका लागि घातक हुनसक्छ । त्यसैले छिमेकीसँगको सम्बन्धलाई सुदृढ बनाउन आन्तरिक राजनीतिक सहमति र राष्ट्रिय एकता अपरिहार्य हुन्छ ।

आर्थिक दृष्टिले नेपालले छिमेकीहरूसँगको सम्बन्धलाई अझै व्यवहारिक बनाउनुपर्ने आवश्यकता छ । नेपालसँग जलस्रोत, पर्यटन, कृषि, औषधिजन्य उत्पादन जस्ता क्षेत्रका अवसर छन् । यी अवसरलाई छिमेकीहरूसँगको सहकार्यबाट ठूलो फाइदामा परिणत गर्न सकिन्छ । उदाहरणका लागि, भारत र चीन दुबै मुलुकमा ऊर्जा माग बढ्दो छ । नेपालले आफ्नो जलविद्युतलाई निर्यात गर्न सक्ने हो भने यो सम्बन्धलाई आर्थिक साझेदारीमा परिणत गर्न सकिन्छ । त्यस्तै, हिमाल र संस्कृति हेर्न आउने पर्यटनलाई भारत र चीन दुवै मुलुकबाट बढाउन सकिन्छ । नेपालका उत्पादनलाई छिमेकी बजारमा पु¥याउन सक्ने हो भने रोजगारी र अर्थतन्त्रलाई बल मिल्छ । तर यसका लागि आवश्यक पूर्वाधार, स्थिर नीति र कूटनीतिक कौशल अनिवार्य हुन्छ ।

संस्कृति र जनस्तरको सम्बन्ध पनि छिमेकसँग जोडिएको अर्को महत्वपूर्ण पक्ष हो । भारतसँग नेपालको भाषा, धर्म, संस्कारमा धेरै समानता छ । विवाह, व्यापार, सांस्कृतिक आदानप्रदान सहज रूपमा हुन्छ । चीनसँगको सम्बन्ध भने संस्कृतिगत दृष्टिले फरक भए पनि तिब्बतमार्फत लामो समयदेखि ऐतिहासिक सम्बन्ध रहेको छ । बुद्धको जन्मस्थल नेपालमा भएको कारण चीनसँगको सम्बन्धलाई पनि आध्यात्मिक तहमा जोड्न सकिन्छ । यी सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई कूटनीतिक रूपमा उपयोग गर्न सकिने अवस्था छ ।

छिमेकसँगको सम्बन्ध नेपालको लागि जीवनरेखा जस्तै हो । नेपालको भूराजनीतिक अवस्था यस्तो छ कि यहाँको अस्तित्व र समृद्धि छिमेकसँगको सन्तुलित र सकारात्मक सम्बन्धमा निर्भर छ । भारतसँगको खुला सीमा र आर्थिक अवसर, चीनसँगको पूर्वाधार र व्यापारिक सम्भावना, बंगलादेशसँगको ऊर्जा सहकार्य, तथा दक्षिण एसियाली छिमेकीहरूसँगको क्षेत्रीय सहकार्यलाई सदुपयोग गर्न सके नेपालले आफ्नो विकासको बाटो पहिल्याउन सक्छ । तर यसका लागि आन्तरिक राजनीतिक स्थिरता, राष्ट्रिय हितमा आधारित विदेश नीति र कुशल कूटनीति अपरिहार्य हुन्छ । नेपालले आफ्नो छिमेकीसँग मित्रवत सम्बन्ध राख्दै, असमानता वा हस्तक्षेपविहीन सहकार्यमा जोड दिन सके मात्र आफ्नो सार्वभौमिकता जोगाएर समृद्ध राष्ट्रतर्फ अघि बढ्न सक्छ ।

ADV

सम्बन्धित खबर

Advertise