काठमाडौंः अध्यागमन विभागले आगामी असोज १ गतेदेखि विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली लागू गर्ने भएको छ ।
विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरुको सुरक्षा, सुचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले यस प्रणालीको विकास गरेको हो । यस प्रणालीलाई दुई चरणमा गरेर लागू गर्ने विभागको तयारी छ । पहिलो चरणमा २०८२ असोज १ गतेदेखि काठमाडौ उपत्यकाभित्रका तारे होटलहरुमा अनिवार्य रुपमा लागू गरिने विभागले जनाएको छ । दोस्रो चरणमा मंसिर १ गतेदेखि सबै तारे होटल, विमान कम्पनी, टुर एण्ड ट्राभल्स कम्पनी, मनी एक्सचेन्जहरुमा र क्रमशः सबै प्रकारका होटल, गेष्ट हाउस र अन्य सार्वजानिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागू गरिनेछ ।
अध्यागन विभागका महानिर्देशक रामचन्द्र तिवारीले नेपालभित्र प्रवेश गर्ने विदेशी नागरिकको सूचना राज्यले राख्नको लागि यस प्रणाली लागू गर्न लागिएको बताए । उनले नेपाल प्रवेश गरेका जो कोहीको गतिविधि राज्यको सूचनामा हुनुपर्ने भएकाले यो प्रविधि जडान गरिएको बताए । उनले भने, ‘हाम्रो सीमाभित्र जतिपनि विदेशी नागरिक आउनुहुन्छ । जुनसुकै प्रयोजनका लागि । त्यो अध्यागमनको सिष्टमा आइसकेपछि हामी उहाँहरुलाई हामी अराईभल दिन्छौँ। त्यसपछि उहाँहरुको मुभमेन्ट कहाँ कहाँ हुन्छ । त्यो चाँही राज्यको नोटिसमा हुनुपर्छ ।’
दुई वटा कारणले उनीहरु राज्यको निगरानीमा हुनुपर्ने विभागका महानिर्देशक रामचन्द्र तिवारीको भनाइ छ । पहिलो कारण विदेशी नागरिक, पर्यटकहरुको सुरक्षा, उनीहरुलाई आवश्यक परेको बेलामा राज्यले दिनुपर्ने सुविधा, उद्धार, खोज रहेको उनले बताए । शाहसिक पर्यटनको लागि नेपाल आउने पर्यटकहरुलाई समस्या परेको बेला तुरुन्तै उद्धार गर्न गाह्रो परिरहेको उनको भनाइ छ । दोस्रो, नेपाल भित्र प्रवेश गरेर विदेशीहरुले देशको भिषा विपरित, प्रचलित कानून, सामाजिक मूल्य, राजनितिक, सामाजिक, आर्थिक चाखहरुको विरुद्धमा कुनै काम गरेको भए पत्ता लगाउन आवश्यक रहेको महानिर्देशक तिवारीको भनाइ छ । उनले अपराध अनुसन्धानको हिसावले पनि यो प्रणाली निकै महत्वपूर्ण भएको बताए ।
यस प्रणाली लागू गर्ने विभागको तत्कालिन उद्देश्य भने पर्यटकहरुको गतिविधिको निगरानी गर्ने भएको महानिर्देशक तिवारीले बताए । पर्यटकहरु कुनै होटलमा गएपछि होटलले चेक ईन र चेक आउटको सूचना मात्रै विभागको सिष्टममा फाल्ने उनले जानकारी दिए । त्यो भन्दा बढी उनीहरुले के खाए, कतिबेला सुते लगायतका विषय राज्यले खोजेर नबस्ने उनको भनाइ छ । उनले यस प्रणालीमा पर्यटकलाई समावेश गर्ने नभई उनीहरुले सेवा प्रवाह गर्ने संस्थाहरुलाई समावेश गर्न लागिएको बताए ।
विभागका महानिर्देशक तिवारीले नेपाल प्रवेश गरेको पर्यटक अध्यागमनबाट नफर्केसम्म राज्यले आवश्यक परेको बेला, उनीहरुकै परिवारलाई, विदेशी नियोगहरुलाई आवश्यक परेको बेलामा कहाँ छ भन्ने जानकारी उक्त प्रणालीले दिने बताए । यो प्रणाली नहुँदा पर्यटकहरु कहाँ के गरिरहेको छ भन्ने थाहा पाउन मुस्किल भएको उनको भनाइ छ ।
उनले भने, ‘यो राज्यले लिन लागेको डाटा हो । त्यसो हुँदाखेरी अध्यागमनले ट्रयाकिङ गर्दै गरेकाको सबै विवरण ट्रयाकिङ गर्नेभन्दा धेरै विवरण हामीसँग पहिल्यै छ । किनभने उहाँले भिषा लिँदा, उहाँको राहधानी, भिषा सबै हामीले स्क्यानिङ गरेर राखेका छौँ । अहिले त उहाँहरु कता हिड्नुभयो भन्ने मात्रै रेकर्ड हुन्छ । त्यसोहुँदा व्यक्तिगत विवरण दुरुपयोग गर्ने, उहाँको डेटा दुरुपयोग गर्ने भन्ने त सम्भावना नै भएन ।’
विभागले विदेशी नागरिकहरुलाई सेवा प्रवाह गर्ने सबै सार्वजानिक संस्था एवं निजी कम्पनीहरुलाई यस प्रणालीमा अनिवार्य आवद्ध हुन आग्रह गरेको छ । विभागकाअनुसार अन्तर्राष्ट्रिय प्रतिष्ठा र राष्ट्रिय आत्मसम्मानको अभिवृद्धि, पर्यटन प्रवर्द्धनका लागि मुलुकभित्र हुने सबै आवागमन र गतिविधिहरु राज्यको जानकारीमा राख्नको लागि यस प्रणालीको विकास गरिएको हो । विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणालीको कार्यन्वयन गर्न विभागले ७७ वटै जिल्लाका जिल्ला अनुगमन समितिहरुलाई पत्राचार गरिसकेको जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यलयमार्फत नियमित रुपमा अनुगमन हुने विभागले जनाएको छ ।