
त्रिशूली, नुवाकोट : गत भदौ १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोट, रसुवा र धादिङका तटीय क्षेत्रको जनजीवन अझै सामान्य बन्न सकेको छैन । बाढीले बेत्रावती, ढुंगे, त्रिशूली र देवीघाटलगायतका बस्ती तथा व्यावसायिक बजारमा व्यापक क्षति पुर्याएपछि हाल प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनाको काम तीव्र पारिएको छ ।
प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनाको काममा स्थानीय र बाहिरका हजारौं युवाहरु सक्रिय छन् । यस्तै स्थानीय सक्रिय युवामध्यो एक हुन् - विदुर नगरपालिका–१ त्रिशूलीका महेन्द्र श्रेष्ठ । बाढीका कारण आफ्नै घर, व्यवसाय र आफन्तजन प्रभावित भएको कठिन परिस्थितिमा पनि श्रेष्ठ स्थानीयस्तरमा राहत व्यवस्थापन, क्षति विवरण सङ्कलन र सूचना प्रवाहमा अग्रपंक्तिमा खटिइरहेका छन् ।
बाढीलगत्तै प्रभावित परिवारलाई खाद्यान्न तथा अत्यावश्यक सामग्री वितरणमा समन्वय गर्नुका साथै श्रेष्ठले सामाजिक सञ्जालमार्फत बजारको वास्तविक अवस्था सार्वजनिक गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छन् । साथै, बाढीले थुपारेको भग्नावशेष हटाउन आवश्यक पर्ने जेसिभी, डोजरजस्ता भारी उपकरण र इन्धनको व्यवस्थापनमा पनि उनले पहलकदमी लिएका छन् ।
विपद्का बेला नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबाट भएको उद्धार कार्य प्रशंसनीय रहेको उल्लेख गर्दै श्रेष्ठले पुनःस्थापनामा सहयोग पुर्याउने सरकारी निकाय, संघ–संस्था तथा देश-विदेशमा रहेका सहयोगीहरूप्रति आभार व्यक्त गरे ।
हाल स्थानीय तहको समन्वयमा बजार क्षेत्रको सरसफाइ तथा भग्नावशेष हटाउने काम अघि बढिरहेको छ । स्थानीयवासीका अनुसार त्रिशूली बजारलाई पूर्ववत् अवस्थामा फर्काउन कुनै एक व्यक्तिको प्रयास मात्र पर्याप्त नहुने भएकाले सरकारी निकाय, सुरक्षाकर्मी, सामाजिक संस्था र आम नागरिकको सामूहिक सहकार्य आवश्यक रहेको छ ।