काठमाडौं : देशको सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चौतर्फी दबाबको घेराबन्दीमा परे पनि चुपचाप बसेका छन् । पार्टीको आन्तरिक राजनीतिक किचलो, सरकारप्रति बढ्दै गएको वितृष्णाको शृंखलादेखि प्रतिपक्षी दलबाट निरन्तर भइरहेका उछाल्ने प्रयासबाट समेत बिचलित नभई देउवा मौन बसेका हुन् ।
प्रधानमन्त्रीको कुर्सीमा ७ पटक पुगेर सबैभन्दा बढी प्रधानमन्त्री बन्ने सूचीमा नाम लेखाउने आशासहित राजनीतिलाई पाको ढंगले हाँक्दै आएका देउवा प्रायः औपचारिक भाषणमा बाहेक बोल्दैनन् । यसको मतलब धेरैलाई देउवाले मिलाएर बोल्न जान्दैनन् भन्ने भ्रम पनि छ । उनी ५ पटक प्रधानमन्त्री भईसकेका छन् ।
तर, उनले समकालीन नेताहरूका तुलनामा परिपक्व राजनीति गर्दै सम्भव हुने कुरालाई मात्र सार्वजनिक गर्ने नेताको पहिचान बनाएका छन् । योसँगै देउवाले आन्तरिक र अन्तरपार्टी राजनीतिमा कतिपय कुराहरू ‘रिजर्भ’ राख्ने गरेका छन् ।
सार्वजनिक भाषणमा समेत अत्यन्त छोटो समयमा आफ्ना कुरा सक्ने देउवाले राजनीतिक सहयोगमा दिएको बचनवद्धतामा धोका दिनु हुन्न भन्ने मानक बनाएका छन् ।
यद्यपि, उनले आफू केन्द्रित राजनीतिलाई भने उमेरको उत्तरार्द्धमा समेत निरन्तरता दिएका छन् । सोहीअनुसार सत्ताको प्रमुख साझेदार बनेका देउवा सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीप्रति नतमस्तक देखिएका छन् ।
प्रधानमन्त्री ओलीसँग भएको १७ असार २०८१ को सहमति कार्यान्वयन भए र वर्तमान सत्ता गठबन्धन कायमै रहे अबको १४ महिनाभित्र देउवाले प्रधानमन्त्रीको कुर्सी पाउने छन् । त्यसैका लागि देउवा प्रधानमन्त्री ओली र सरकारका मन्त्रीहरूका गतिविधिप्रति मौन छन् ।
देशको सबैभन्दा पुरानो लोकतान्त्रिक दलका सभापति देउवाले आफ्नो पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाएको आरोपसमेत खेप्दै आएका छन् । पार्टीमा फरक मत राख्ने नेता, कार्यकर्तालाई पाखा लगाउने तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको शैलीप्रति असन्तुष्टि पोख्दै पार्टी फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक)का सभापति बनेका उनी पार्टी समायोजनपछि नेपाली कांग्रेसका वरिष्ठ नेता हुँदै पार्टीको मूलधारमा छन् ।
२ पटक पार्टी सभापति बनेका देउवाको अन्तिम कार्यकाल २०८२ मंसिरमा सकिँदै छ । तर, विधान र संविधानले दिएको सहुलियतलाई उपयोग गर्दै उनले आफ्नो कार्यकाल लम्ब्याउने योजनाका साथ आफू निकट नेताहरूलाई बोलाएर १५औं महाधिवेशन सार्ने विषयमा बोल्न लगाइसकेका छन् ।
यही अवस्थामा पार्टीको १५औं महाधिवेशन समयमा हुने सम्भावना टरिसकेको छ । महाधिवेशनको मुख्य जग क्रियाशील सदस्यता विवाद समाधानमा पार्टीका नेताहरूले काम गर्न सकेका छैनन् । भ्रातृ संगठनहरूको आवधिक महाधिवेशन गर्न नसकेको दशौं वर्ष भइसकेको छ ।
कांग्रेसकै मुख्य सहयोगमा बनेको केपी ओली नेतृत्वको सरकारले नागरिकलाई आशा जगाउन सकेको छैन । सरकार र पार्टीको आन्तरिक राजनीतिप्रति कांग्रेसकै संस्थापनइतर पक्षका नेताहरूले दैनिकजसो कडा टिप्पणी गर्दै आए पनि सभापति देउवा मौन छन् । उनले ओली सरकारका हरेक गतिविधिलाई पूर्ण सहयोग गर्दै आए पनि पार्टीका अन्य नेताहरू सरकारप्रति सन्तुष्ट छैनन् ।
नेताहरूको असन्तुष्टिका बीच सभापति देउवाले पार्टी संसदीय दलको बैठक बोलाएर सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई समर्थन गर्न निर्देशन दिएका छन् । विधेयक पारित गर्न ढिला भएको कुरालाई आत्मसात् गर्दै समिति र संसद्मा पार्टीले प्रभावकारी भूमिका खेल्नुपर्ने निष्कर्ष संसदीय दलको बैठकले निकालेको छ ।
सरकारको कामकारबाहीप्रति महामन्त्रीसहित अधिकांश नेताहरूको असन्तुष्टिका बाबजुद सभापति देउवा, मन्त्रीहरू र देउवा निकटका केही नेताहरूले भने सरकारका कमजोरीलाई ढाकछोप गरेरै भए पनि सन्तुष्टि व्यक्त गर्न बाध्य भएका कांग्रेसकै सांसदहरूको टिप्पणी छ ।
सभापति देउवा आफ्नौ पार्टीका नेताहरूको निरन्तरको दबाब, नागरिकको सरकारप्रतिको असन्तुष्टि र विपक्षी दल नेकपा (माओवादी केन्द्र)का नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को आश्वासनलाई बेवास्ता गर्दै आफ्नै लयमा शान्त बसेका छन् ।
गगनको टिप्पणी
वर्तमान सरकार निर्माणमा सबैभन्दा सहयोगी भूमिकामा देखिएका महामन्त्री गगन थापाले यो सरकारलाई केही समयअघि ट्याक्टरको संज्ञा दिँदै सही बाटो हिँड्न नसकेको टिप्पणी गरेका थिए ।
पछिल्लो पटक आइतबार थापाले प्रधानमन्त्री ओलीको कार्यशैलीलाई ‘उत्सवको मुडमा घुमीघुमी हिँडेको’ आरोप लगाए । बिँड तात्ने, ताप्के नतात्ने गरेको टिप्पणी गर्दै थापाले भने, ‘हामी चाहन्थ्यौं प्रधानमन्त्रीले युद्धस्तरमा काम गर्नोस् । युद्धस्तरको अर्थ नै फरक हुन्छ, मनोविज्ञान नै फरक हुन्छ, उसलाई यति धेरै परिणामको भोक हुन्छ, चिन्ता र डर हुन्छ । उसले अरू कुनै पनि सुविधाको प्रयोग गर्दैन । त्यसैले, सोच्छ, फोकस हुन्छ । यसरी काम गर्नुपर्छ भनेर हामीमा छटपटी भइरहेका बेलामा हामी बिँड तात्ने, ताप्के (प्रधानमन्त्री) पूरै उत्सवको मुडमा छन्, आनन्दसाथ घुमीघुमी हिँडेका छन्, प्राथमिकता पनि छैन ।’
अघिल्ला प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार जस्तै अहिलेको सरकारले पनि ढिलासुस्ती गरिरहेको उनको आरोप छ ।
शेखरको सधैं कचकच
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी नेतृत्व र सरकारको गतिविधिप्रति निरन्तर असहमतिको आवाज उठाइरहेका छन् । नेता कोइरालाले सरकारमा गएका मन्त्रीहरूबाहेक अरू कसैले एमालेसँग सहकार्य गर्न आवश्यक नरहेको भन्दै सरकारको तीव्र आलोचना गरिरहँदा सभापति देउवाले केही भन्न सकेका छैनन् ।
नेता कोइरालाले देउवाप्रति पनि बेलाबखत आक्रोश पोख्दै आएका छन् । पार्टीको १५ औं महाधिवेशन समयमै गराउने एजेन्डालाई मूल राजनीतिक एजेन्डा बनाएर देशव्यापी लागेका कोइरालाले सभापति र पदाधिकारीले महाधिवेशन गराउन आवश्यक संरचनागत काम नगरेको आरोप लगाउदै आएका छन् ।
त्यस्तै, एमालेसँगको सहकार्यले कांग्रेसलाई आगामी निर्वाचनमा राजनीतिक घाटा हुने उनको तर्क छ । शनिबार नेपाल थारू संघ नवलपुरको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले भोलिको प्रतिस्पर्धी एमाले नै हुन्छ भन्ने कुरा ख्याल गर्नुपर्ने बताए ।
नेता कोइरालाले भने, ‘प्रतिस्पर्धीसँग सहकार्य गरेर संगठन बन्दैन । हामीले गलतलाई गलत भन्नुपर्छ अनि मात्र हामी अघि बढ्छौं । कांग्रेस र एमालेले सरकार बाहिरको राजनीतिक संयन्त्र बनाएको छ । कुनै पनि लोकतान्त्रिक मुलुकमा त्यस्ता संयन्त्रहरूले सरकारलाई चलाउन सक्दैनन्, पाउँदैनन् ।’
नेता कोइरालाले सरकारले संविधान संशोधनबारे एक सिन्को नभाँचेको बताए । भ्रष्टाचार पनि बढिरहेको भए पनि मन्त्री र प्रधानमन्त्रीहरू नीतिगत निर्णय भनेर पन्छिएका उनको आरोप छ । नेता कोइरालाले जिल्ला र प्रदेशस्तरमा कांग्रेस–एमालेबीच बनाइएका राजनीतिक संयन्त्र तोड्न कार्यकर्तालाई निर्देशन नै दिएका छन् ।
‘प्रदेश, जिल्ला, पालिकामा पनि एमालेसँग संयन्त्र बनाउन हुँदैन । बाहिरबाट सरकार कम्युनिस्टहरूले मात्र चलाउने हुन् । लोकतान्त्रिक पार्टीले त्यो स्वीकार गर्दैनौं । सरकारभित्रबाट मन्त्रीहरूले संयन्त्र बनाए हामीलाई आपत्ति हुँदैन । तर, सरकारबाहिरको संयन्त्र तोड्नुपर्छ’, उनले भने । यसका साथै पार्टीको १५औं महाधिवेशन जति ढिला ग¥यो, पार्टीलाई त्यत्ति नै अप्ठ्यारो पर्ने जिकिर गर्दै आएका छन् ।
प्रचण्डको छटपटी
प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ताबाहिर पुगेपछि चरम छटपटीमा छन् । सोही छटपटीलाई मेटाउन प्रचण्डले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीका लागि १४ महिना नकुर्न सुझाव दिँदै आएका छन् ।
वर्तमान केपी ओली नेतृत्वको सरकार ढालेर देउवालाई प्रधानमन्त्रीमा सहयोग गर्न आफू तयार रहेको आश्वासन दिए पनि सभापति देउवाले वास्ता गरेका छैनन् । देउवाले २०७९ सालको आमनिर्वाचनपूर्व गरिएको प्रचण्डसँगको सहकार्यलाई निरन्तरता दिने प्रत्यत्नमा रहे पनि प्रधानमन्त्री बन्नकै लागि प्रचण्डले एमालेसँग मिलेर आफूलाई धोका दिएको बिर्सेका छैनन् ।
ओलीसँगको सत्ता सहकार्य टुटेपछि फेरि प्रचण्डलाई दिएको समर्थनमा समेत गडबड गरेपछि देउवा र ओली मिल्न बाध्य भएका थिए । अहिले पनि ओलीलाई दिएको २ वर्ष प्रधानमन्त्रीमा समर्थन गर्ने बचनबाट आफू पछि नहट्ने देउवाले सार्वजनिक रूपमै भनिसके पनि प्रचण्ड निरन्तर देउवाको मन पगाल्न लागेका छन् । तर, देउवा भने ओलीलाई दिएको समर्थन फिर्ता गरिहाल्ने पक्षमा छैनन् ।