२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

३ सन्देश दिएर फर्के चौथाइवाले

निमिष झा
२०८२ वैशाख २१ गते ०६:४७
३ सन्देश दिएर फर्के चौथाइवाले

काठमाडौं : भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा.विजय चौगाइवाले म्याराथुन भेटघाट र बैठक सकेर स्वदेश फर्किएका छन् । नेपालको ३ दिने भ्रमण पूरा गरी उनी शुक्रबार स्वदेश प्रस्थान गरेका हुन् । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि शीर्ष नेताहरूसँग भेटवार्ता गरेका थिए ।

कुनै सरकारी संयन्त्र या राजनीतिक दलको औपचारिक निम्तो बिना आएका चौथाइवालेले सबैभन्दा धेरै राजनीतिक भेटघाट भने यसैपटक गरेका हुन् । यति धेरै नेपाली नेतालाई कुनै विदेशी नेताले एकैपटक भेटेको सम्भवत यो पहिलो हो ।
भारतीय विदेशमन्त्री एस. जयशंकरको अनौपचारिक दूत बनेर नेपाल आएका चौथाइवालेको भेटघाटको सबै व्यवस्थापन नेपालस्थित भारतीय दूतावासले नै मिलाएको थियो ।

अधिकांश दलका शीर्ष नेता र दोस्रो पुस्ताका गरी २० बढी नेताहरू भेटेका चौथाइवालेले भारतको सुरक्षा र आतंकवादी गतिविधिका विरुद्धमा नेपालमा समर्थनबारे चासो राखेका थिए । खुला सीमाना भएकाले एकअर्काको सुरक्षाको लागि दुवै देश गम्भीर हुनुपर्ने चौथाइवालेको आशय रहेको भेटघाटमा सहभागी नेताहरूले बताएका छन् । साथै नेपाल–भारतबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्ने विषयमा पनि उनले चासो राखेका थिए । सबै नेताहरूसँगको भेटमा उनले नेपालको सत्ता–समीकरणबारे त्यति चासो नराखेको नेताहरूको भनाइ छ ।

चौथाइवालेले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधव कुमार नेपाल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासहित माओवादी केन्द्र, नेपाली कांग्रेस, लोसपासहितका नेताहरूसँग भेटवार्ता गरेका थिए । 
यस्तै, उपप्रधानमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा, कांग्रेस नेताहरू गगन थापा, डा. शेखर कोइराला, प्रकाशशरण महत, एनपी साउद, उदयशमशेर राणा, माओवादीका उपमहासचिवहरू वर्षमान पुन र जनार्दन शर्मासँग छुट्टाछुट्टै भेटघाट गरे । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, लोसपाका अध्यक्ष महन्थ ठाकुर र रास्वपाका कार्यवाहक सभापति डिपी अर्यालसँगको भेटमा पनि चौथाइवालेको मुख्य चिन्ता र चासो पहलगाम घटनाकै विषयमा थियो ।

चौथाईवालेको यस पटकको भ्रमणको उद्देश्य जम्मुकश्मीरको पहलगाममा भएको घातक आतंकवादी आक्रमणपछि राजनीतिक सम्बन्ध सुदृढ पार्न र समर्थन जुटाउनु रहको बताइन् ।

उक्त आक्रमणमा १ नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएको थियो ।९ वैशाखमा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच बढेको क्षेत्रीय तनावको बीचमा चौथाइवालेको नेपाल भ्रमण भएको हो । उनको एजेन्डा सीमापार आतंकवाद विरुद्ध नेपालको राजनीतिक ऐक्यबद्धता सुरक्षित गर्ने र नेपालको घरेलु मामिलामा हस्तक्षेप नगर्ने भारतको प्रतिबद्धतालाई सुदृढ पार्ने विषयमा केन्द्रित रहेको भेटमा सहभागी कांग्रेस नेता उदयशमशेर राणाले बताए ।

कांग्रेस र एमालेको गठबन्धनमा समस्या आएको र प्रमुख प्रतिपक्ष माओवादी केन्द्रले नेपाली कांग्रेससँग सरकार बनाउने भनिरहँदा चौथाइवालेको यो भ्रमणलाई नेपालको आन्तरिक राजनीतिसँग पनि जोडेर हेरिएको छ । चौथाइवालेको नेपाल आगमनको अर्कोे उद्देश्य भारतले नेपालमा राजतन्त्र या हिन्दु राज्य नचाहेको स्पष्ट सन्देश दिनु पनि थियो ।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँग भएको भेटवार्तामा चौथाइवालेले नेपालमा राजतन्त्र ल्याउने कुरामा आफूहरूको सर्मथन नरहेको भनेका थिए । ‘राजा ल्याउने कुरामा हाम्रो सर्मथन छैन, हाम्रो संरक्षण पनि छैन,’ उनले पुनलाई भनेका थिए ।
हिन्दु राज्य बनाउन र पूर्वराजाको समर्थनमा भएको प्रदर्शनमा भारतको हात रहेको नेपालमा केही नेताहरू आरोप लगाइरहँदा चौथाइवालले त्यो आशंका चिरेका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा भएको स्वागत ¥यालीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटोसहितको प्लाकार्ड भेटिएपछि राजावादीको आन्दोलनमा भारतको साथ रहेको आशंका गरिएको थियो ।

त्यसैले नेपाल आएर उनले एकैसाथ धेरै नेताहरूलाई भेटेर भारतको स्पष्ट धाराणा जनाएका हुन् । त्यसैले प्रत्येक भेटहरूमा उनले नेपालमा राजावादी र हिन्दुवादीहरूको आन्दोलनमा भारतको कुनै पनि समर्थन नभएको प्रष्ट पारेका थिए ।

‘राजतन्त्र र हिन्दु राज्यको पक्षमा भारत छैन र त्यसका लागि भएका आन्दोलनमा सहयोग, समर्थन, सदभाव पनि छैन’, चौथाइवालेको भनाइ उद्धृत गर्दै पुनले भने ।

पूर्वपरराष्ट्रमन्त्री तथा कांग्रेस नेता एनपी साउदले पनि नेपालको आन्तरिक राजनीतिमा भारतले हस्तक्षेप नगर्ने प्रतिक्रिया चौथाइवालेले दिएको बताए ।

खुला सीमाका कारण एक आपसको सुरक्षाका लागि दुवै देश गम्भीर हुनुपर्ने उनको आशय रहेको साउदले भने । गृहमन्त्री लेखकले भारतको जम्मु–कश्मीरमा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्दै  आतंकवादी हमलाविरुद्ध नेपालले भारतलाई साथ दिने बताएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । 

नेपालका नेताहरूसँगको भेटमा चौथाइवालेले भारत सदैव नेपालको लोकतन्त्रको पक्षमा रहेको प्रतिबद्धता जनाए भने लोकतन्त्रलाई बलियो र समृद्ध बनाउन भारत हरदम सहयोग गर्न तयार रहेको पनि प्रस्ट पारेका थिए ।
३ सन्देश

विभिन्न तहका नेताहरूसँगको भेटघाटमा चौथाईवालेले मुख्यतः ३ सन्देशहरू दिएका छन् । उनले नेताका दल र नेताहरूबाट आतंकवादविरुद्ध एकीकृत अडान खोजेका छन् । भारतको आतंकवाद विरोधी अडानलाई समर्थन गर्न नेपालको राजनीतिक एकतालाई आह्वान गर्दै उनले पहलगाम आक्रमणलाई सामूहिक क्षेत्रीय प्रतिक्रिया आवश्यक छ भन्ने कुरामा जोड दिएका हुन् ।
नेपालको राजनीतिमा हस्तक्षेप नगर्ने भारतीय नीतिलाई स्पष्ट पार्ने भ्रमणको अर्को उद्देश्य थियो । भारतीय हस्तक्षेपको अनुमानलाई खारेज गर्दै चौथाईवालेले स्पष्ट पारे । भारतले नेपालको आन्तरिक लोकतान्त्रिक प्रक्रियाहरूको सम्मान गर्ने उनको सन्देश थियो । ‘भारत सरकार र भाजपाले नेपालको सत्तामा जुन दल भएपनि ‘ट्रयाक–टु कूटनीति’ अन्तर्गत सबै दलहरूसँग सम्बन्ध कायम राख्छ’, चौथाइवालेले नेताहरूलाई भनेका थिए ।

नेपालमा जारी विवादास्पद आन्दोलनहरूमा भारतको कुनै भूमिका र समर्थन नरहेको भन्ने स्पष्ट पार्नु चौथाइवालेको भ्रमणको उद्देश्य थियो । भारतले नेपालको राजतन्त्र वा हिन्दू राज्यको पुनस्र्थापना खोज्ने अभियानहरूबाट आफूलाई टाढा राखेको छ । नेपालमा भएका त्यस्ता प्रयासहरूलाई पूर्णतया आन्तरिक मामिला भारतले भनेको छ ।

एमालेभन्दा कांग्रेसलाई महत्त्व
चौथाइवालेले सत्तारुढ दल मध्ये एमालेभन्दा कांग्रेसलाई बढी महत्व दिएका छन् । उनले एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष विष्णु पौडेललाई मात्र भेटे । जबकि कांग्रेसमा उनले सभापति, महामन्त्री तथा अन्य दोस्रो, तेस्रो तहका केन्द्रीय नेताहरूलाई समेत भेटेका छन् ।

चौथाइवालेको यो भेटवार्ताको शैली निकै अर्थपूर्ण देखिन्छ । उनले जसरी भेटवार्ताको लागि नेताहरू खोजेका छन्, यसले उनको रुची सत्ता नेतृत्वकर्ता एमालेभन्दा अन्यतर्फ परेको छ ।

चौथाइवालेले वर्तमान सत्ताप्रति असन्तुष्टहरूलाई बढी समेटेका छन् । इतरपक्षीय नेता डा. कोइराला हुन् वा महामन्त्री थापा हुन् वा देउवा निकटस्थ नै भनेर चिनिने एनपी साउद नै किन नहुन्, चौथाइवालेको प्राथमिकतामा वर्तमान ओली सरकारप्रति असन्तुष्ट नेताहरू नै देखिन्छन् ।
 

ADV

सम्बन्धित खबर