२०८२ वैशाख १९ गते शुक्रवार / May 02 , 2025 , Friday
२०८२ वैशाख १९ गते शुक्रवार
Ads

जनमत–नाउपा एकीकरण अनिश्चित

निमिष झा
२०८२ वैशाख १९ गते ०६:३०
जनमत–नाउपा एकीकरण अनिश्चित

काठमाडौं : जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)को एकता घोषणा अनिश्चित बनेको छ । दुवै पार्टीका नेताहरूले पार्टी एकीकरण प्रक्रिया केही दिनका लागि स्थगित भएको बताएका छन् । 

२ पार्टीको एकता घोषणा बुधबार प्रज्ञा भवन काठमाडौंमा तय भएको थियो । तर, नाउपाका संरक्षक रेशम चौधरी सर्वोच्च अदालतको नक्कली पक्राउ पुर्जीका आधारमा पक्राउ परेपछि एकता प्रक्रिया अन्तिममा भाँडिएको थियो । दुवै पार्टीले बुधबार ९ बुँदे सहमतिसहित पार्टी एकता घोषणा गर्ने तयारी गरेका थिए ।

सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह बिष्टले लेखेको पत्रका आधारमा प्रहरीले चौधरीलाई प्रक्राउ गरेको थियो । बिष्टले अनधिकृत पत्र लेखेका भन्दै सर्वोच्चको अर्को पत्रका आधारमा चौधरी सोही दिन नै रिहा भएका थिए । एकता तत्काल स्थगित भए पनि नयाँ मिति तोकिएको छैन ।

अब दुवै पार्टीले चौधरी पक्राउ परेको घटनाको समीक्षा गरेर मात्र अगाडि बढ्ने जनाएको छ । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानका अनुसार चौधरी पक्राउ परेको विषयले पार्टी एकीकरणमा प्रभावित भएको छ ।

‘एकता त हुन्छ तर बुधबारको घटनाले केही दिन एकीकरण घोषणा सरेको मात्र हो’, खानले भने । उनले घटनाका विषयमा दुवै पार्टीले समीक्षा गर्ने र त्यसपछि मात्र सहमतिअनुसार नै एकता प्रक्रियामा अगाडि बढ्ने बताए ।

दुवै पार्टीको छुट्टाछुट्टै औपचारिक बसेर संयुक्त बैठक डाकेर घटनाका बारेमा समीक्षा गर्ने तयारी छ । त्यसपछि मात्र कसरी अगाडि बढ्ने भनी निर्णय हुने नेताहरूले जनाएका छन् ।

‘२ पार्टीबीचको एकतालाई भाँड्ने षड्यन्त्र भएको छ, त्यसलाई दुवै पार्टीले गम्भीर रूपमा लिइएको छ’, उपाध्यक्ष खानले भने, ‘षड्यन्त्र कहाँबाट भइरहेको छ, त्यसका बारेमा बुझ्ने पनि काम भइरहेको छ ।’ 

एकताका लागि दुवै पार्टीले एकीकृत पार्टीको नाम नागरिक जनमत पार्टी रहने, चुनाव चिह्न ढकिया, कार्यकारी अध्यक्ष डा. सीके राउत, संरक्षक रेशमलाल चौधरी र सहअध्यक्ष रञ्जिता श्रेष्ठ रहने सहमति गरिसकेका छन् । यस्तै, ७०० सदस्यीय केन्द्रीय समितिमा दुवै पार्टीबाट आधा–आधा रहने सहमति पनि भइसकेको छ । पदाधिकारी तथा अन्य समितिहरूमा पनि दुवै पार्टीबाट आधा–आधा रहने सहमति भइसकेको थियो । 

एकता घोषणा गरेर १९ वैशाखमा निर्वाचन आयोगमा पार्टी दर्ता गराउने उनीहरूको तयारी थियो ।

थप छलफल गरिने

नाउपाका नेता गंगा चौधरीले रेशम पक्राउ परेपछि संयुक्त बैठक बस्ने भनिए पनि औपचारिक रूपमा नबसेका कारण एकीकरण प्रक्रिया कसरी लैजाने भन्ने टुंगो नलागेको बताए । ‘घटना भएपछि समीक्षा गर्नुपर्ने आवश्यकता छ । सरकार र अदालत सबैको समीक्षा गर्छौं’, खानले भने ।

जनमत र नाउपामा एउटा कर्मचारीको भरमा मात्र बिहीबारको घटना नभएको बुझाइ छ । अधिकृत तहका कर्मचारी बिष्टले राज्य वा अदालतको उपल्लो तहबाट आड नभई प्रहरीलाई पत्र लेख्न आँट कसरी आयो ? भनी चौधरीले आशंका व्यक्त गरे ।

दुवै दलको केन्द्रीय समितिले एकीकरण गर्ने औपचारिक निर्णय गरिसकेको छ । बुधबारको घटनाले थप छलफल गरेर अघि बढ्नुपर्ने निष्कर्ष दुवै दलको छ । नेताहरूका अनुसार अब एकता घोषणा ठूलो संख्यामा कार्यकर्ता बोलाएर हुँदैन । 

तत्काल एकता नहुने भएपछि नाउपाले अहिले नेता, कार्यकर्ताहरूलाई घर फर्किन भनिसकेको छ । १७ गते एकता घोषणासभामा सहभागी हुन काठमाडौं गएकाहरू अहिले एकता नहुने देखिएपछि घर फर्किन थालेका हुन् ।

‘हामीलाई अहिले एकता हुँदैन, तपाईंहरू घर जानुहोस् भन्ने सूचना आएको छ’, एक नेताले भने, ‘अब कहिले एकता हुन्छ भन्नेबारे कुनै टुंगो छैन ।’

पार्टी नाम घोषणामा विवाद र जनमत पार्टीले एकीकृत पार्टीको पदाधिकारीको नाम टुंगो नलगाउँदा एकताअघि नै विवाद सुरु भएको थियो । एकीकरण हुनुअघि जनमतले नाम पेस गर्नुपर्ने नाउपाको अडान थियो ।

जनमत अहिले पनि सोही अवस्थामा रहेका कारण तत्काल एकता हुने सम्भावना क्षीण रहेको दुवै दलका शीर्ष नेताहरूले स्वीकार गरेका छन् । 

‘एकताकै दिन नाउपाका संरक्षक चौधरीलाई पक्राउ गरिएको विषय सामान्य होइन’, जनमत पार्टीका प्रवक्ता शरद्सिंह यादवले भने, ‘हामी सबैले फेरि तयारी गरेर केही समयपछि एकता गर्छौं ।’

एकतापछि ७०० सदस्यीय केन्द्रीय समिति बनाउने र त्यसमा दुवै पार्टीबाट ५०/५० प्रतिशत केन्द्रीय सदस्य समायोजन गर्ने सहमति भएको थियो । दुवै पार्टीबाट २५/२५ र संरक्षक रेशम चौधरी गरी ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी कार्यसम्पादन समिति बनाउने सहमति भएको थियो ।

२५ सदस्यीय सचिवालय सदस्य रहने, जसमा जनतमबाट १२ जना, नागरिक उन्मुक्तिबाट १२ जना रहने र संरक्षक चौधरी रहने २ दलबीच छलफलमा सहमति भएको थियो । नागरिक उन्मुक्ति पार्टीले आफ्ना तर्फबाट सबैको नाम टुंगो लगाउँदा जनमत पार्टीले भने नाम टुंगो लगाएको छैन ।

नाउपाले सबै विषय टुंग्याएर मात्र एकता गर्ने जनाएको थियो भने जनमत पार्टीले संरक्षक अध्यक्ष र सहअध्यक्ष घोषणा गर्ने सचिवालय, केन्द्रीय कार्यसम्पादन र केन्द्रीय कार्यसमितिको नाम पछि टुंगो लगाउने जनाएको थियो । तर, पक्राउपछि दुवै दलको संयुक्त बैठक पनि बस्न सकेको छैन, जसले गर्दा एकता नै अनिश्चित बनेको छ ।

ADV

सम्बन्धित खबर